गृह » दुई महिनामा आठ जनामा डेँगु
समाचार समाज स्वास्थ्य

दुई महिनामा आठ जनामा डेँगु

खैरहनी । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले करिब दुई महिनाको अवधिमा चितवनमा आठ जनामा डेँगुको संक्रमण देखिएको जनाएको छ ।
पूर्वी चितवनको खैरहनीमा शुक्रबार आयोजित डेँगु रोग नियन्त्रणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यालयले साउन महिनायता जिल्लामा आठ जनालाई डेँगु रोग देखिएको जानकारी दिएको हो ।
खैरहनी, राप्ती, गैँडाकोट, प्रेमवस्ती र रत्ननगरका बिरामीमा डेँगु रोग देखापरेको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।
गत वर्ष चितवनमा ६८७ जनामा डेँगुको संक्रमण भेटिएको थियो । रत्ननगरमा मात्र गत वर्ष ४८२ जनामा डेँगु रोग लागेको थियो । पछिल्लो दुई महिनामा डेँगु रोग लाग्नेको संख्या निकै कम भए पनि डेँगुको संक्रमण सुरू भएको छ ।
कार्यक्रममा खैरहनीमा डेँगु रोगको महामारी फैलिन नदिन भदौ २६, २७ र २८ गते लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइने जानकारी दिइयो । खैरहनीको बजारक्षेत्र र सिमलटाँडी क्षेत्रमा अभियान चलाइने भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए ।
कार्यक्रममा भेक्टर कन्ट्रोल निरीक्षक केसीले डेँगुको अवस्था, यसबाट बच्ने उपाय, रोगका लक्षणलगायतका विषयमा सहजीकरण गरेका थिए ।
खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया प्रमुख अतिथि रहेको कार्यक्रममा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नारायण पौडेल, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख वसन्त रिजाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको थियो ।

 

Comments

About the author

चितवन पोष्ट