गृह » गायक प्यासीको ‘ट्राफिक जाम’को भिडियो सार्वजनिक, गीतसंगीतलाई ताजा राख्न मौलिकता बिर्सन हुँदैन
कला समाचार समाज

गायक प्यासीको ‘ट्राफिक जाम’को भिडियो सार्वजनिक, गीतसंगीतलाई ताजा राख्न मौलिकता बिर्सन हुँदैन

–तुलमान गुरूङ
भरतपुर । गायक भुवन प्यासीको नयाँ गीतको म्युजिक भिडियो शुक्रबार भरतपुरमा सार्वजनिक गरिएको छ । करिब तीनदर्जन गीत गाइसकेका गायक प्यासीले आफ्नो नयाँ गीत ‘ट्राफिक जाम’ सार्वजनिक गरेका हुन् । आफ्नै ठाउँलाई चिनाउने उद्देश्यले केही समयअघि निर्माण गरिएको उक्त गीतको म्युजिक भिडियो गृहनगर चितवनमा सार्वजनिक गरिएको गायक प्यासीले बताए ।
अग्रज साहित्यकार एवम् वरिष्ठ गीतकार प्रेमविनोद नन्दन, गायक÷संगीतकारहरू सहनलाल प्रधान, प्रसाद श्रेष्ठ, राजेन्द्र बजगाईं, हरि योञ्जन, नृत्य निर्देशक शिव विकलगायतका कलाकारहरूको उपस्थितिमा शुक्रबार भिडियो सार्वजनिक गरिएको हो ।
भिडियो सार्वजनिक गरेपछि कार्यक्रममा सहभागी संगीतकर्मीहरूले गायक प्यासीको सांगीतिक जीवन र यात्राको बारेमा आँैल्याएका थिए । गायक प्यासीको सुरूदेखि हालसम्मको सांगीतिक जीवनलाई बुझ्नै मौका पाएको भन्दै गायक एवम्् संगीतकार प्रसाद श्रेष्ठले चितवनमै रहेर गीत सिर्जना गर्ने र उत्कृष्ट गीत गाउन सक्ने क्षमता भएका गायकमध्ये भुवन प्यासी एक उदाहरण भएको प्रस्ट्याए ।
‘हुन त अहिले यो क्षेत्रमा लगानी धेरै छ । यतिबेला सबै गीतले लगानी सुरक्षित गर्न सक्ने अवस्था छैन,’ चलचित्र ‘दुई रूपैयाँ’मा समावेश वर्तमान समयमा सर्वाधिक रूचाइएको गीत ‘कुटुमा कुटु’को उदाहरण दिँदै उनले भने, ‘तर, राम्रा गीतसंगीतको उत्पादन गर्न सके युट्युब भ्युअर्सकै माध्यमबाट पनि संगीतकर्मी बाँच्न सक्ने अवस्था छ ।’
गायक÷संगीतकार सहनलाल प्रधानले अहिलेको समय सुन्नभन्दा पनि हेर्ने समय रहेकोले दर्शकको रोजाइअनुसार गीतसंगीत दिन सक्नुपर्ने बताए । तर, अहिलेको दर्शकले खोजेका गीतहरू सीमित समयका लागिमात्रै चर्चामा रहने गरेकोले मौलिकता झल्किने खालको गीत नै जीवन्त बन्ने बताए ।
वरिष्ठ साहित्यकार एवम् गीतकार प्रेमविनोद नन्दनले नेपाली गीतसंगीतले कोल्टो फेरिइसकेकोले गीतसंगीतको धार नै परिवर्तन भएको हो कि भन्ने महसुस भएको बताए । आधा शताब्दी गीतसंगीत र साहित्यको क्षेत्रमा बिताइसकेको अनुभव सुनाउँदै उनले भने, ‘पहिलेका गीतभन्दा अहिलेका गीत धेरै फरक छन् । त्यसैले अहिलेका गीतलाई उहिलेको चश्माले हेरेर हुँदैन रहेछ । अहिलेका गीतलाई अहिलेकै चश्माले हेर्नुपर्छ ।’
अहिले सुन्नेभन्दा पनि हेर्ने प्रवृत्ति बढ्दै आएको भन्दै अहिलेका कलाकारहरूले मञ्चीय गीतसंगीतलाई बढी जोड दिइएको बताए । ‘तर, मञ्चमा तात्तिने खालका गीतसंगीत क्षणिक रमाइलोका लागि मात्रै हुने भएकोले सधैँ ताजा र जीवित राख्नका लागि सर्जकहरूले मौलिकतालाई बिर्सन नहुने उनले बताए ।
कार्यक्रमलाई गायक प्यासीले आफ्ना आधा दर्जनभन्दा बढी चर्चित गीत गाएर संगीतमय बनाएको थियो । अन्तिममा नयाँ गीत ‘ट्राफिक जाम’ गाउँदा उक्त भिडियोका निर्देशक शिव विक मञ्चमा गएर नाचेपछि झनै माहोल तातेको थियो ।

दीनदुःखीको घाउमा मल्हम लगाउँदै गायक प्यासी
भरतपुर । गायक भुवन प्यासी सामाजिक कार्यमा सक्रिय बन्न थालेका छन् । गीतसंगीतको पाटोलाई अँगाल्दै उनले विगत केही वर्षदेखि धेरथोर सामाजिक कार्यमा पनि योगदान पु्¥याउँदै आएका थिए । यही क्रममा गायक प्यासीले शुक्रबार चितवनका गरिब तथा दीनदुःखी बालबालिकाहरूलाई सहयोग गरेका छन् ।
रत्ननगरस्थित मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई खाने तेल र कपडा धुने साबुन सहयोग गरेका छन् भने भरतपुरमा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्र र सहाराको घरमा आश्रित बालबालिकाहरूलाई कापी, कलम तथा झोलासहितको शैक्षिक सामग्री वितरण गरेका हुन् ।

 

Comments

About the author

चितवन पोष्ट