गृह » ‘किन चाहियो मासुभात’ बजारमा
कला

‘किन चाहियो मासुभात’ बजारमा

भरतपुर । हिन्दू नारीहरूको महान पर्व तीज सकिएसँगै विभिन्न युट्युब च्यानलदेखि एफएम रेडियो तथा टेलिभिजन च्यानलहरूमा दसैँ तिहारसँग सम्बन्धित गीतहरू घन्किन थालेका छन् । विशेष गरी दशैँ तिहारका गीतमा गरिबी तथा परदेशीका कथाव्यथालाई बढी प्राथमिकता दिएको पाइन्छ । साथै गाउँघरको सामाजिक परिवेशलाई पनि रमाइलो ढंगले प्रस्तुत गरेको पाइन्छ ।
यही क्रममा पूजा सिलवाल र सुनिल लामिछानेले अभिनय गरेको दशैँ तिहार विशेष गीत ‘किन चाहियो मासुभात’ बजारमा आएको छ । कुमार केसीको निर्देशन रहेको उक्त गीतमा गोकुल पाण्डे र देवी घर्तीमगरले स्वर दिएका छन् । रविन लामिछानेको शब्द र गोकुल पाण्डेको लय संकलनमा तयार भएको उक्त गीतमा नेपाली समाजमा हुनेखानेको लागि मात्रै नभई हुँदाखानेहरूले पनि दशैँ मनाएको प्रसङ्गलाई गीतमार्फत प्रस्तुत गरिएको छ ।
‘गीतको शब्दले विशुद्ध गरिबीको कथा बोकेको छ । त्यसैले पनि गीतमा अभिनय गरेकी हुँ,’ गीतका मोडल पूजाले भनिन्, ‘त्यसैले पनि नेपाली म्युजिक भिडियोमा पहिलोपटक अभिनय गर्ने प्रयास गरेकी छु ।’ त्यसो त गायक गोकुल र पूजा श्रीमान्–श्रीमती हुन् । श्रीमान्को सहयोगले पनि म्युजिक भिडियोमा काम गर्न सजिलो भएको उनले बताइन् । यो गीत पूजाको लागि परीक्षा बनेको छ ।
दर्शकस्रोताले मन पराएमा आगामी दिनमा मोडलिङलाई निरन्तरता दिँदै जाने पूजाले सोच बनाएकी छिन् । धादिङको धुसामा जन्मिएकी उनको घर गोरखा घ्याम्पेसाल भए पनि केहीसमयदेखि उनी श्रीमान्को साथमा राजधानी बस्दै आएकी छिन् । उनी केही समय पहिले चितवनको एक स्थानीय टेलिभिजनमा कार्यरत थिइन् ।

 

Comments

About the author

चितवन पोष्ट