गृह » ‘अतीतका पानाहरु’ ः समाजले लिनैपर्ने शिक्षा
विचार साहित्य

‘अतीतका पानाहरु’ ः समाजले लिनैपर्ने शिक्षा

 

 सङ्गीत आयाम

पोषराज पौडेल मूलतः कवि हुन् । उनले हालसम्म ‘माडी यात्रा (खण्डकाव्य) २०३९, मेक्सिम गोर्की (कवितात्मक जीवनी) २०४३, आमा स्मृतिका छालमा (शोक काव्य) २०४९, पागल प्रलाप (काव्य) २०५५, सहिद गाथा (महाकाव्य) २०५७, आदर्श कोकिल (काव्य) २०६५, अग्निगर्भका आवाजहरु (कवितासङ्ग्रह) २०७० र स्वप्न–बिम्ब (काव्य) २०७४ लगायतका काव्यकृतिहरु प्रकाशित गरेका छन् । मूलतः उनी कम्युनिस्ट विचारधाराबाट अत्यन्तै प्रभावित र प्रगतिवादी सोच तथा चिन्तनबाट प्रेरित कवि हुन् ।
२००१ साल भाद्र ८ गते लेखक कास्की, पोखराको उत्तरतर्फ रहेको घार्मी भन्ने ठाउँमा जन्मिएका हुन् । जन्मसँगै पूवाद्र्ध जीवनमा पोखरालाई कर्मथलो बनाएका उनले पछि चितवनमा बसाइँ सरेर आएपछि चितवनलाई नै कर्मथलो बनाएका देखिन्छन् । चितवन आएपछि कम्युनिस्ट शक्तिसँग नजिकिएर माओवादीको जनयुद्धमा सक्रिय रुपमा भाग लिएका पौडेल हतियारले भन्दा पनि कलमको शक्तिले चिनिएका लेखक हुन् भन्दा अत्युक्ति हुँदैन । साहित्यमा केही ढिलो प्रवेश गरे पनि अहिलेसम्म उनको निरन्तरतामाथि प्रश्नचिन्ह लाग्न सकेको छैन ।
उनका जीवनका मुख्य रुपमा दुई पाटा छन्, एउटा पाटो शैक्षिक अभियन्ताको हो भने अर्को पाटो लेखकीय व्यक्तित्वको हो । प्रगतिशील साहित्यको विकास र संवद्र्धनमा पौडेलको योगदान विशेष रहेको पाइन्छ । उनमा रहेको व्यक्तित्व खास रुपमा दुई भागमा विभाजित रहेको देखिए पनि उनलाई नेपाली साहित्यका पाठकहरुले मुख्यतः कविकै रुपमा बढी चिन्ने गर्दछन् र हुन पनि उनी विशुद्ध कवि नै हुन् । कवि भए पनि पोषराजले आफूलाई प्रारम्भदेखि नै शिक्षण पेसामा आबद्ध राखे र आजसम्म पनि उनको जीवननिर्वाह त्यसैको आधारमा टेकेर अघि बढेको देख्न सकिन्छ ।
केही समयअघि उनको जीवनकथाका रुपमा प्रकाशित भएको ‘अतीतका पानाहरु’ ले उनको साङ्गोपाङ्गो व्यक्तित्व र उनले जीवनमा गरेका गल्ती तथा प्रशंसनीय कामहरुलाई चित्रण गरेको छ । करिब २०० पृष्ठको यो आत्मकथाले मूलतः लेखक पोषराज पौडेलको जीवनका बारेमा गहिरोसँग पटाक्षेप गरेको देखिन्छ । करिब सुरूवातका ३५ वर्षसम्म पूरै अध्यात्मवादी चिन्तनलाई नै अनुसरण गरेर अघि बढेका उनी त्यसपछिका वर्षहरुमा भने विभिन्न घटनाक्रमहरुले उनलाई प्रगतिशील चिन्तनतिर डो¥याएको हामी पाउँछौँ ।
उनी जन्मिँदा उनको परिवार पूरै धार्मिक आस्था र मान्यतामा चल्ने भएकाले उनी पनि सोही साँचोमा ढालिनु अस्वाभाविक थिएन । उनका हजुरबा पण्डित लोकनाथको निधन नभएसम्म सम्पन्न रहेको घर पछि हजुरबाको ३५ वर्षको अल्पायुमै मृत्यु भएपछि घरमा आर्थिक रुपमा विपन्नताको सिलसिला सुरू भएको कथा यस आत्मकथामा बडो मार्मिक रुपले प्रस्तुत गरिएको छ । आर्थिक दरिद्रता, विपन्नता र गरिबीको सशक्त चित्रण गरिएको यस कृतिमा महिलाहरुमाथि गरिने भेदभाव, शोषक र सामन्तीहरुले सोझा र निमुखाहरुमाथि गर्ने थिचोमिचो, समाजमा विद्यमान रहेको परम्परावादी र पुरातनपन्थी सोच, लोभलालच, धोका, षड्यन्त्र आदि इत्यादिलाई जरैदेखि खोतल्ने प्रयत्न गरिएको छ ।
यो आत्मकथा पारिवारिक विखण्डनको पनि एउटा जिउँदो दस्तावेज बनेको छ । घरका परिवारहरुले एकअर्काप्रति गरेका अविश्वास, आमाबुबाको दिनहुँजसो हुने झगडा, पछि बुबा पैसा कमाउनका लागि विशेषगरी बनारस र आसाम गएका कुराहरु यसमा वर्णित छन् । त्यस्तै, पछि लेखकले आफ्ना सन्तानप्रति जति नै मरिमेटे पनि सन्तानहरुले भने जीवनको उत्तराद्र्धमा आफ्ना आमाबाबुप्रति गरेको तिरस्कार, हेँला, अपमानका कहालीलाग्दा पीडाले भरिएका कथाहरुले यो कृतिलाई हाम्रो समाजको प्रतिनिधि चरित्रका रुपमा उभ्याएको छ ।    कास्कीको त्यस दुर्गम ठाउँमा पढ्नका लागि खोजेका विद्यालयहरु नहुनेदेखि पढ्नकै लागि लेखक बनारस गएका कुराहरुलाई यसमा उठाइएका छन्, तर पनि लेखकले राम्रोसँग पढ्न नपाएका कुराहरुले कृति पढ्दै जाँदा पाठकहरुको मन छुन्छ । बालकैदेखि घरको जेठो छोरो भएकोले घाँसपात गर्नुपर्ने, पकाउने–ख्वाउने, भाइबैनीहरुलाई हेर्नुपर्नेलगायतका घरका अरु पनि धेरै कामहरु गर्नुपरेका कुराहरु पढ्दा अभाव र गरिबीमा बाँचेको एउटा बालकको दर्दनाक कथा कतिसम्म हृदयविदारक हुँदोरहेछ भन्ने कुरा यस कृतिमार्फत दर्शाइएको छ । पटकपटक पढ्न भन्दै भागेर साथीसँग बनारस गए पनि पढ्न नसकेको पीडा यसमा छताछुल्ल भएर पोखिएको छ ।
पारिवारिक रुपमा किचलो भैरहने र अंशबन्डाको सवाललाई लिएर मनमा तुष बढिरहेको अवस्थाले पौडेल परिवारलाई सुखभन्दा दुःखकै आँधीले घेरेको देखिन्छ । कुनै ठोस आम्दानीको स्रोत नहुँदा आर्थिक रुपले विपन्न र दयनीय जीवन बाँच्नुपरेको अवस्थाले अज्ञानतामा वृद्धि हुनु अस्वाभाविक पनि थिएन । कयौँ रात घरमा खाने अन्न पनि नहुँदा भोकभोकै सुत्नुपरेको र घरका सदस्यहरुमा मनमुटाव हुँदा लेखककी आमाले आत्महत्या गर्नेसम्म कोसिसलगायतका अरु पनि ठूला ठूला घटना घट्नुले पाठकहरुको मनसमेत विचलित हुनु अस्वाभाविक छैन ।
भारत र नेपालको सम्बन्ध आजको होइन, सदियौँदेखि अघि बढ्दै आएको छ । हरेक क्षेत्रमा छिमेकी पनि रहेको भारतले नेपाललाई असङ्ख्य क्षेत्रमा सहयोग गर्दै आएको पनि छ, यद्यपि नेपालीहरुलाई उसले दासजस्तो पनि ठान्छ । नेपालीहरु भारतमा गएर काम गर्ने कुरा नौलो छैन र लेखकका परिवारका सदस्य पनि भारतमा काम खोज्दै जानु अस्वाभाविक पनि थिएन । काम र पढ्ने सिलसिलमा भारतमा नेपालीहरुलाई ‘बहादुर’, ‘गोर्खा’ भन्दै हेपेका र गालीगलौच गरेका घटना तथा अनुभूतिहरुलाई उनले आफ्नो ‘अतीतका पानाहरु’ कृतिभित्र लिपिबद्ध गर्ने काम पनि गरेका छन्, जुन लेखकको जीवनको एउटा ठूलो हिस्साकै रुपमा आबद्ध छ । जीवनका घटनाचक्रलाई पाँच खण्डमा बाँडेर विभिन्न उपशीर्षकमार्फत अघि बढाइएको उनको जीवनकथा जन्मदेखि ७० नाघ्दासम्मका आरोह–अवरोहमा विभक्त छन् । जीवनका यथार्थपरक कथाहरुलाई कवि पौडेलले सरल र सरसपूर्ण तरिकाले उठाएका छन् कृतिमा । जीवनी प्रायः अनुभूतिपरक हुने गरे पनि उनले ठाउँठाउँमा प्रगतिवादी विचारलाई पनि मह¤वपूर्ण स्थान दिनुले यस कृति केही हदसम्म वैचारिक पनि हुन पुगेको देखिन्छ ।
कास्की, घार्मीबाट प्रारम्भ भएको जीवनयात्रा त्यसपछि मूलतः बनारस, आसाम हुँदै चितवन र पुनः पोखरामा गएर विश्राम लिन पुगेको देखिन्छ । त्यहाँका रहनसहनदेखि बसउठसम्मका अभिव्यक्तिहरुले यस कृतिलाई विश्वसनीय रुपमा अघि बढाएको पाइन्छ । लेखकले आफूले जीवनमा भोगेका परिवृत्त र गरिएका परिवृत्तहरुलाई सक्दो न्याय गरेका छन् । पुस्तक असाध्यै सरल छ र आमपाठकहरुले सजिलैसँग बुझ्दछन्, जुन पुस्तकको मूल विशेषताकै रुपमा लिन सकिन्छ । जीवनको उत्तराद्र्धमा लेखक माओवादीको जनयुद्धमा प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । जनयुद्ध जारी नै रहेको अवस्थामा उनी पक्राउ पनि पर्छन्, जहाँ उनलाई चरम यातनासमेत दिइन्छ । जेठो छोरो सुदर्शन पनि माओवादी जनयुद्धअन्तर्गत निर्माण भएको जनसरकार प्रमुख बनेपछि कहिले उनलाई राज्यले बेपत्ता पार्ने त कहिले जेल–नेलसहित चरम यातना दिने काम गर्छ । आफ्नो जेठो छोरो सुदर्शनलाई बेपत्ता बनाइएको अवस्थामा गरिएको लेखकको खोजी बडो कारूणिक र मार्मिक छ । जुन छोराका लागि उनले आफ्नो जीवनका धेरै समय बलिदान गरे, त्यही छोराले पछि उनलाई घरबाट निकालेर बेघर बनाएको कथाको संवेदनशीलता र गम्भीरताले पछिल्लो समयमा देखिएको समाज विघटनको क्रमलाई समेत प्रतिनिधित्व गरेको मान्नुपर्छ ।
पुस्तकको प्रकाशन अलि हतार हतारमा गरिएको हो कि भन्ने भान पर्दछ पढ्दै जाँदा, किनकि कृतिमा आवश्यक सम्पादनले राम्रोसँग आफ्नो भूमिका खेलेको त्यति देखिँदैन । कृतिमा परिमार्जन सोचेजति हुन नसकेको अवस्थाले ठाउँठाउँमा शुद्धाशुद्धिको त्यति ख्याल नगरिएको पनि प्रस्टै देखिन्छ । समग्रमा आत्मकथाको रुपमा अगाडि आएको ‘अतीतका पानाहरु’ समाजलाई ठूलो शिक्षा र प्रेरणा पनि हो भन्ने कुरामा भने कुनै शङ्का छैन । यो लेखक पोषराज पौडेलको मात्र एकल कथा होइन, हाम्रो समाजमा यस्ता कथा बग्रेल्ती छन्, जसलाई राज्यगत तहबाट अब सम्बोधन गर्न ढिलो गर्न हुँदैन । यो कृतिको प्रभावशाली उपस्थितिलाई नकार्न सकिने ठाउँ त्यति छैन ।

कृति : अतीतका पानाहरु
लेखक : पोषराज पौडेल
प्रकाशक : गण्डकी साहित्य सङ्गम, पोखरा
संस्करण : प्रथम (२०७२)
मूल्य : २५० ।—

 

सुन्दर सपनाको बीजाङ्कुरण
आममान्यता नै छ कुनै पनि लेखकले आफ्नो साहित्यिक लेखनको आरम्भ कविता लेखेरै गर्ने गर्छ, झन् त्यसमा पनि विशुद्ध कविका रुपमा ख्याति कमाएका पोषराज पौडेल (२००१) त कवितामै जीवन समर्पण गरेका केही लेखकहरुभित्र पर्छन् । जन्मस्थानमा पढाइ कहिले रोकिने त कहिले चल्ने गरेको बखतदेखि नै कविताप्रति विशेष आकर्षण देखिए पनि चितवन बसाइँ सरेपछि भने उनको कवितात्मक यात्राले सबल र शक्तिशाली रुप भेटेको हो भन्ने कुरा माथि चर्चा गरिएको आत्मकथामा पढ्न पाइन्छ । यो कवितासङ्ग्रह प्रकाशन हुनुभन्दाअघि नै पौडेलका ७ वटा कविताकृतिहरु प्रकाशित भैसकेका छन् । ‘स्वप्न–बिम्ब’ मूलतः खण्डकाव्यको स्वरुपमा लेखिएको एक किसिमको वैचारिक कृति हो । विभिन्न सातवटा उपशीर्षकहरु राखेर अघि बढाइएको यो काव्य माक्र्सवादी विचार र चेतनाबाट उद्वेलित रहेको छ । अझ भनौँ, माक्र्सले देखेको सुन्दर साम्यवादको सपनालाई यस कृतिले आफ्नो अभीष्ट बनाएको छ । काव्यमार्फत शोषण, दमन, उत्पीडनका विरूद्धमा शंखघोष गरिएको मात्र पाइँदैन, अझ आगामी दिनहरु सुन्दर हुने कुराप्रति पनि आशावादिता प्रकट गरेको पाइन्छ । कविले यसमा अप्रत्यक्ष रुपमा आफ्ना सपनाहरुलाई पनि मूर्तरुप दिएका छन्, अझ ती तमाम सपनाहरुलाई समेत प्रतिनिधित्व गराउने कोसिस गरेका छन् ।
कविताकृतिले समयप्रति सूक्ष्मदृष्टि, इतिहासप्रतिको असहमति तथा भविष्यप्रति रहेको अपेक्षालाई उजागर गर्ने कोसिस गरेको छ । यस सङ्ग्रहभित्रका कविताहरुमा कवि कुनै निश्चित विचार अर्थात् माक्र्सवादी सिद्धान्तलाई नै अघि सारेर प्रस्तुत भएका छन्, जसमा ठूलाठालुप्रति रोष र निम्नवर्गप्रति सहानुभूति र माया छताछुल्ल छ । वर्तमानप्रति तीव्र विद्रोह र आउँदा दिनहरुप्रतिको आशालाई जीवितै राख्न सक्षम यो काव्यकृति प्रगतिशील साहित्यका लागि देन हो भन्न हिच्किचाउनु पर्दैन ।
कृति : स्वप्न–बिम्ब
कवि : पोषराज पौडेल
प्रकाशक : गण्डकी साहित्य सङ्गम, पोखरा
संस्करण : प्रथम (२०७४)
मूल्य : १०० ।—

 

 

Comments

About the author

चितवन पोष्ट