गृह » चितवनबाट चुनाव लड्ने पक्का : प्रचण्ड
प्रमुख समाचार राजनीति

चितवनबाट चुनाव लड्ने पक्का : प्रचण्ड

दिपेन्द्र अधिकारी
पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभाको चुनावमा आफू चितवनबाट चुनाव लड्ने निश्चित भइसकेको बताएका छन् ।
केही दिन अघि विरगंजमा भएको पार्टीको सचिवालय वैठकले निर्णय नै गरिसकेको उनले बताए । ३ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको चितवनमा प्रचण्डले कुन क्षेत्रबाट लड्ने भन्ने बारे भने अझै निश्चित भइ नसकेको बताए ।
यस अघि जनयुद्धको उद्गम थलो रोल्पा, देशको मुटु काठमाडौं र मधेश क्षेत्र सिरहाबाट चुनाव लडेकोमा चितवन प्रतिको उपेक्षा नभएको समेत उनले बताए । भरतपुरमा शुक्रबार विहान पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले चितवनलाई सम्मृद्ध बनाउन आफू यहाँ आउन लागेको बताएका हुन् ।
चितवन देशकै मध्य भाग मात्र नभइ राष्ट्रिय राजनीतिमा विशेष अर्थ राख्ने जिल्ला भएकाले अवको रोजाइ चितवन हुने अध्यक्ष प्रचण्डले बताए । देशकै नमूना जिल्लाको रुपमा सिंगो चितवनलाई विकास गर्ने आफ्नो अठोट रहेको उनको भनाइ छ ।

प्रदेश नम्बर २ मा निकै राम्रो छ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको निकै राम्रो नतिजा आउने बताएका छन् । मधेशका पिछडीएका, अवसर नपाएकाहरुको पक्षमा आफ्नो पार्टीले विगत देखि नै विशेष भूमिका खेलेको बताउँदै उनले मधेशको मुद्दामा आफूहरु सधै साथ रहेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे ।

काँग्रेसकै कारण तालमेल भएन
माओवादी अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ मा नेपाली काँग्रेसकै कारण तालमेल हुन नसकेको बताएका छन् । ‘निजगढ र ढल्केवरमा मात्र काँग्रेससँग तालमेल भयो, अध्यक्ष प्रचण्डले भने,‘मधेशमा राजपासँग पनि वडाहरुमा तालमेल भइरहेको छ ।’ साथै उनले एमालेसँग पनि तालमेल प्रयास भए पनि अन्तत विफल भएको बताए । साथै उनले मधेशमा राजनीति गरिरहेका क्षेत्रीय तथा साम्प्रदायिक पार्टीबाट मधेशको मुद्दा समाधान नहुने बताए ।

 

 

Comments

About the author

चितवन पोष्ट