गृह » मेयर म्याडमको ३० दिन, देखिने काम एउटा, जनअपेक्षा धेरै
प्रमुख समाचार

मेयर म्याडमको ३० दिन, देखिने काम एउटा, जनअपेक्षा धेरै

किशोर खनाल
भरतपुर । भरतपुर महानगरपालिकाको मेयर रेणु दाहालले कार्यभार सम्हालेको एक महिना पूरा भएको छ । मेयर रेणु दाहालबाट यो एक महिनाको अवधिमा कुनै नयाँ योजनाको दीर्घकालीन काम भएको छैन । तर, झट्ट देखिने एउटा सानै कामले मेयर रेणु दाहालले स्याबासी पाएकी छन् ।
पदभार ग्रहण गरेकै दिन साउन २२ गते उनले भरतपुर अस्पताल (सरकारी अस्पताल) मा महिला र ६० वर्ष कटेका वृद्धहरुलाई ओपीडी टिकट निःशुल्क गरेकी थिइन् । घोषणा गरेको भोलिपल्ट यो नियम कार्यान्वयनमा आएको थियो । यो कामबाट उनले स्याबासी भने पाएकै हुन् ।
एक महिनाको अवधिलाई हेरेर मेयर रेणु दाहालको परीक्षाफल सार्वजनिक गर्दा हतार हुन्छ । अझै धेरै समय छ । तर, महानगरवासीको जनअपेक्षा पनि उस्तै धेरै छन् । मेयर दाहालको धेरै समय स्वागत सम्मानमै खर्च भएको गुनासो छ । भरतपुर महानगरको पहिलो बैठकले भरतपुरको केन्द्रीय बसपार्क र नारायणगढको पोखरा बसपार्कमा फ्रि वाईफाई घोषणा गरेको थियो । भदौभित्रमा यी दुई बसपार्कमा फ्रि वाईफाई सञ्चालन गर्ने महानगरले जनाएको छ ।
‘हामीले कार्यभार सम्हालेपछि पहिलो काम भरतपुर अस्पतालमा महिला र वृद्धहरुलाई ओपीडी टिकट निःशुल्क ग¥यौँ, दोस्रो काम दुई बसपार्कमा फ्रि वाईफाई सञ्चालनको थालनी भयो’ भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले भनिन् । उनले अब जनताले केही दिनमै यी दुई बसपार्कमा फ्रि वाईफाई चलाउन पाउने बताइन् ।
‘एक महिनाको अवधि ज्यादै छोटो हो, तर असल कामको सरुवात् भएका छन् । तत्कालका समस्या समाधान गर्न धेरै समय हामी राहत वितरणमा खटिन प¥यो’ उपमेयर शाहले भनिन्, ‘बाढीपीडितलाई एकद्वार प्रणालीबाट प्रतिव्यक्ति ७० रूपैयाँका दरले (बाढी गएको दिनलाई गनेर एक महिना) वितरण गरिरहेका छौँ ।’ उनले एक महिनाका अवधिमा यसलाई पनि राम्रो काम भएको बताइन् ।
उपमेयर पार्वती शाहले आफ्नो कार्यकालको एक महिनाको अवधिमा भरतपुर महानगरपालिकाको बजार व्यवस्थापन गर्न महत्वपूर्ण निर्णयहरु पनि गरेको बताइन् । उनले भनिन्, ‘पुल्चोक बजार क्षेत्रको लागि नारायणी नदी किनार, लायन्सचोक वरिपरी क्षेत्रको लागि दिनेशकुमार चुकेको अगुवाइमा गणेश चलचित्र हल पछाडिको खाली जमिनमा पार्किङको व्यवस्था मिलाइएको छ ।’
महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले चौबिसकोठीलगायतका क्षेत्रहरुको लागि चितवन माविको जग्गा र जिल्ला प्रहरी कार्यालयअगाडिको गेष्ट हाउस चौरमा सशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए ।
कार्यकारी अधिकृत जोशीले तीनपांग्रे सवारी साधनको चापलाई कम गर्न रिंगरोड क्षेत्रभित्र जोरबिजोर प्रणाली लागू गर्ने, अव्यवस्थित ठेला व्यवसायीलाई अर्को व्यवस्था नभएसम्मको लागि कालोपत्रे सडकभित्र ठेला व्यवसाय गर्न नपाउने व्यवस्था गरिएको बताए । कार्यकारी अधिकृत जोशीले भने, ‘कुनै पनि व्यापारीले आफ्नो पसलभन्दा बाहिर सामान राखी व्यवसाय गरेको देखिएकाले त्यस्ता व्यवसायीलाई पहिला सूचना दिने र अटेर गरेमा सामान जफत गरिनेछ ।’
त्यस्तै भरतपुर महानगरपालिकाले यही एक महिने अवधिमा वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट इजाजत लिएर सञ्चालनमा आएका तीन पाङ्ग्रे सवारी साधनलाई रिंगरोडभित्र पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको छ । ‘एक महिनाको अवधिमा हामीले ठूलो योजनाको काम घोषणा त गरेका छैनौँ, तर यो समयमा राम्रा कामका सरुवात् भएका छन्’ उपमेयर पार्वती शाहले भनिन्, ‘जनअपेक्षा धेरै छ, हामी विस्तारै काम गरेर देखाउँछौँ ।’
भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले जनताको सेवा सुविधा दिन आफू लागिपरेको बताए । उनले भने, ‘हामी कुनै सुख सुविधाको भोगी भएका छैनौँ, साझा वडाध्यक्ष भएर काम गरेको छु । ठाउँको ठाउँ सुविधा दिन लागिरहेको छु ।’ विकासमा भन्दा सम्मान सत्कारमा हिँड्दैमा समय गएको छ नि ? भन्ने प्रश्नमा भण्डारीले भने, ‘हामीलाई स्वागत तथा सम्मानले जनताको गुनासो सुन्ने अवसर मिलेको छ, सम्मानपछि उनीहरुले गुनासो सुनाउँछन्, त्यो हाम्रो लागि खुराक भएको छ । समस्या बुझ्ने मौका भएको छ ।’

Comments

About the author

चितवन पोष्ट