गृह » प्यासीको नयाँ गीत‘ट्राफिक जाम’ सार्वजनिक हुँदै
कला समाचार समाज

प्यासीको नयाँ गीत‘ट्राफिक जाम’ सार्वजनिक हुँदै

भरतपुर । गायक भुवन प्यासीको नयाँ गीत ‘ट्राफिक जाम’को म्युजिक भिडियो आज शुक्रबार भरतपुरमा सार्वजनिक गरिँदैछ ।
करिब दुई महिनाअघि अडियो रेकर्ड गरेको उक्त गीतको म्युजिक भिडियो तयार भइसकेकोले आफ्नै गृहनगरमा भिडियो सार्वजनिक गर्न लागिएको हो । अडियो गीतबाटै चर्चा पाइसकेको उक्त गीत वरिष्ठ साहित्यकार एवम् गीतकार गोविन्दराज विनोदीको हातबाट विमोचन गर्ने कार्यक्रम रहेको गायक प्यासीले बताए । काठमाडौँको विभिन्न स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियो शिव विकको निर्देशनमा तयार भएको हो ।
अर्जुन तिवारीले खिचेको भिडियोमा माला लिम्बु र रविन प्रतापको जोडीलाई देख्न पाउनेछन् । अडियोसहित करिब तीन लाख रूपैयाँको लगानीमा तयार भएको गीत अहिलेसम्मकै फरक खालको गीत भएको गायक प्यासीको दाबी छ । २०६६ सालबाट निरन्तर गीतसंगीतमा लागेका उनले हालसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेका छन् ।
सोही अवसरमा गायक प्यासीले अनाथ बालबालिकाहरूका लागि पनि शैक्षिक सामग्री तथा खाद्य सामग्री सहयोग गर्दैछन् । रत्ननगस्थित गामबेसी चेपाङ संरक्षण केन्द्र, भरतपुरमा रहेको मञ्जुश्री असहाय संरक्षण केन्द्र र सहाराको घरका लागि सहयोग गर्न लागिएको उनले बताए । कार्यक्रममा करिब २५ जनाभन्दा बढी बालबालिकाहरूको पनि सहभागिता रहनेछ । गीतसंगीतसँगै सामाजिक क्षेत्रमा पनि काम गर्ने सोचका साथ आज गीतको प्रचारसँगै सामाजिक काम गर्न लागिएको उनले बताए ।
‘गीतसंगीतमा त धेरै साथीहरू हुनुहुन्छ । तर, अरूकोभन्दा केही फरक गरौँ कि भन्ने सोचका साथ सामाजिक काममा पनि सक्रिय हुन थालेको हुँ,’ उनले भने । भरतपुरको गार्डेन रिसोर्टमा दिउँसो दुईबजेदेखि हुने कार्यक्रमका लागि गायक प्यासीलाई साथ दिनका लागि निर्देशक शिव विक, गायक तथा संगीतकार राजेन्द्र बजगार्इँँलगायतका कलाकारहरू चितवन आइसकेका छन् । कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिसमेत रहनेछन् ।

Comments

About the author

चितवन पोष्ट