गृह » स्वर्गभन्दा कम छैन ‘मधुवन’
विचार

स्वर्गभन्दा कम छैन ‘मधुवन’

????????????????????????????????????

–रमिला पन्त
म २०७१ साल फागुनमा भारतको राजस्थानस्थित माउन्ट आबूमा रहेको बह्माकुमारी ईश्वरीय विश्वविद्यालय पुग्दा र पुगेपछि प्राप्त शान्ति र आनन्दको विषयमा केही महिना वा वर्षपछि मात्रै संस्मरण लेख्ने सोच बनाइरहेकी थिएँ । तर, अकस्मात् मेरो लौकिक पिता खेसरीप्रसाद पन्तले २०७२ साल असार १० गते उहाँको भौतिक शरीर सदाका लागि छाड्नुभयो । पहिले मैले जुन शरीरलाई पिताको सम्बोधन गर्थें, त्यो मौका अब मेरा लागि कहिल्यै प्राप्त हुनेछैन । यतिखेर त्यही समयमा भएको माउन्ट आबू भ्रमणको सम्झनामा कलम चलाउँदा उपयुक्त होला भन्ने विचार उत्पन्न भएको र त्यसकै लागि तरखर गर्दागर्दै यी शब्दहरुले जन्म लिएका हुन् ।
यस संसारमा मानिसको जन्मिने, हुर्किने र कहाँबाट कहाँ पुग्ने कसैलाई थाहा नहुने प्रक्रिया एउटा काश्मीरमा रोपिएको, फलेपछि कार्टुनमा प्याक भएको, विभिन्न ढुवानी र व्यापारीको माध्यमबाट कहाँबाट कहाँ पुगी कसैको खानाको रुपमा परिणत भएजस्तै हुँदोरहेछ मानिसको जीवनचक्र ।
म गोर्खामा जन्मिएकी रहेछु । मेरो बुबा खेसरीप्रसाद पन्त र आमा एकुमाया पन्त र म राजा वीरेन्द्रको वंशनास भएकै दिन २०५८ साल जेठ १९ गतेका दिन हामी गोर्खाबाट चितवन आएका थियौँ । चितवनको शरदपुर माविबाट एसएलसी पास गरेपछि केही समय नारायणी उच्च माविमा अध्ययनपश्चात् म मैयाँदेवी कन्या कलेजमा भर्ना भएँ । चितवनबाट प्रकाशन हुने नारायणी टुडे राष्ट्रिय मासिकमा जागिरे पनि भएँ । कलेज पढ्दै नोकरी गर्दै गर्दा विभिन्न विषयमा जानकारी हासिल गर्ने मौका पनि पाएँ । मान्छेले सिक्ने अरुबाट नै हो । मैले पनि मेरो अफिसका अग्रज वीरेन्द्रमणि पौडेलबाट नै धेरै कुरा सिकेँ । कतिपय कुरा उहाँले सिकाएर सिकेँ भने कतिपय कुरा उहाँको बोली र व्यवहारबाट सिकेँ । उहाँ धनीबाट लिएर गरिबलाई दिनुहुँदो रहेछ । धनीलाई मर्का नपार्ने र गरिबलाई खुशी पार्ने उहाँको विशेषता मलाई खुबै मन प¥यो । उहाँले धेरै गरिबहरुलाई सहयोग गर्नुभएको छ । उहाँको थप विशेषताचाहिँ जसलाई उहाँले सहयोग गर्नुहुन्छ, त्यो व्यक्तिबाट कुनै पनि सहयोग नलिने घोषणा गर्नुहुँदो रहेछ । मलाई अचम्म लाग्यो ! त्यसो गर्दा व्यापार गरेको अर्थ लाग्छ– उहाँ भन्ने गर्नुहुन्छ ।
“ज्ञान अविनाशी धन हो, ज्ञानी मानिस सधैँ हरप्रकारले धनी हुन्छ, सत्कर्म गर्नु, कसले के भन्छ वास्ता नगर्नु किनकि संसारमा भएका अरबौँ मान्छेको मुख थुन्न सकिन्न, धनी धन भएका कारणले दुःखी छन्, गरिब धन नभएका कारणले दुखी छन्” जस्ता उहाँले व्यक्त गर्नुभएका भनाइबाट मैले धेरै हदसम्म आफ्नो चिन्तनलाई फराकिलो पार्न सकेँ । उहाँकै प्रेरणाबाट आज म विभिन्न विषयमा अनुभवी र परिपक्व बन्दै छु, यो महसुस गरेकी छु ।
मान्छे किन दुःखी छन्, किन एकले अर्कोलाई हेप्ने र दबाउने गर्छन्, लोभी र रिसाहा किन छन् ? यस्ता प्रश्नहरुले मलाई सताएको सतायै गर्थे । यी सबै प्रश्नको एउटै जवाफ वीरेन्द्रमणि सरले मलाई “ज्ञानको कमीका कारणले हो” भन्नुभएको थियो ।
एकदिन पत्रिकाको वार्षिकोत्सव कार्यक्रमका लागि निम्तो दिन सरसँग म नारायणगढको ओमशान्ति भवनमा गएँ । त्यो भवनभित्र छिर्दा नै कस्तो कस्तो अनौठो आनन्दको अनुभूति भयो मलाई । मेरो अनुहारको रंग बदलिएको देखेर नै होला सायद सरले मलाई “यिनीहरु नै हुन् ज्ञानी मान्छेहरु” भन्नुभयो । सरले त्यसो भन्दा इशारा सेतो कपडामा सजिएका ब्रह्माकुमारी दिदीहरु र ब्रह्माकुमारहरुतर्फ थियो । म ज्यादै उत्सुक भएँ । केही दिनपछि सरसँग म पुनः सोही आश्रममा गएँ । ब्रह्माकुमारी अम्बिका दिदी र ब्रह्माकुमार अर्जुन भाइजीले हामीलाई सातदिने कोर्ष गराउनुभयो । कोर्ष समाप्तिपछि मैले मुरली निरन्तर सुनिरहने अठोट गरेँ । मुरली भनेको ज्ञान र विवेक हो, गीताज्ञान हो र भगवान्को शब्दमार्फतको वरदान हो । मैले मुरलीमार्फत नै जीवन र जगत्का अनेकानेक रहस्य थाहा पाउँदै गएँ । गीताज्ञानमार्फत सत्यको नजिक पुग्दै गएँ । जब मानिसलाई सत्यबोध हुन्छ, स्वाभाविक रुपमा उसलाई आनन्द प्राप्त हुँदै जान्छ । मैले पनि त्यस्तै महसुस गरेँ ।
एकातर्फ पढाइ, अर्कोतर्फ अफिसको काम र त्यसका अतिरिक्त आफ्नो मनमा एकपटक माउन्ट आबु जान पाए हुन्थ्यो भन्ने चाहनाले कोतरिरहन्थ्यो । भगवान्को आशीर्वाद भन्छु म । त्यो एकदिन आयो म माउन्ट आबू जान पाउने भएँ । अफिसबाट छुट्टी मिल्यो । केही समयअघि माउन्ट आबू जान नाम लेखाएँ । तोकिएको दिन फागुन २३ गते नारायणगढबाट सुनौली हुँदै गोरखपुर पुग्यौँ । भोलिपल्ट बिहान ३ बजे ट्रेन चढ्यौँ । जिन्दगीमा पहिलोपल्ट ट्रेन चढ्दा निकै रमाइलो लाग्यो । ट्रेन र बस चढेको समय जोड्दा तीन दिनमा माउन्ट आबू पुगियो । राजस्थानको आबुरोडस्थित स्टेसनमा पुगेपछि हामीलाई लिन बाबाको घर शान्तिवनबाट गाडीहरु आइपुगे । गाडी चढेर बाबाको आश्रमभित्र प्रवेशपछि हामीलाई प्रकाशकुञ्जमा बसोबासको बन्दोबस्त मिलाइएको रहेछ । केही समयको आरामपछि नियमित क्रियाकलापतर्फको रूटिन पछ्याउनतर्फ लागियो । जसअन्तर्गत साँझमा ५ः३० बाट ६ः३० सम्म मेडिटेसन, ८ बजेसम्म क्लास (प्रवचन), ८ बजेदेखि ९ बजेसम्म खाना, ९ देखि ११ बजेसम्म क्लास, त्यसपछि गुडनाइट ।
बिहान हामी ३ बजेदेखि नै मेडिटेशन हलमा पुग्थ्यौँ र ५ बजेसम्म डायमन्ड हलमा मेडिटेशन गथ्र्यौं । ७ देखि ८ बजेसम्म मुरली क्लास, नास्तापश्चात् ११ बजेसम्म महायज्ञको सेवा गरिन्थ्यो । ११ देखि १२ बजेसम्म ब्रह्माभोजन अर्थात् बिहानको खाना । १२ देखि १ बजेसम्म आराम र १ बजेदेखि ४ बजेसम्म विभिन्न स्थानहरुको भ्रमण र दृश्यावलोकन गरिन्थ्यो । यो कार्यक्रम सकिएपछि चियानास्ताको प्रक्रिया सुरू हुन्थ्यो र पुनः क्लास र मेडिटेसनहरु हुन्थे । मैले माउन्ट आबूमा ७ दिन बिताएँ । गन्ती गर्दा ७ दिन पुग्यो, तर त्यो ७ दिन कतिखेर बित्यो कुनै पत्तो भएन । दुःखकष्टको महसुस वा नरमाइलो लागेको हुन्थ्यो भने समयको गन्ती पनि हुन्थ्यो होला, तर मलाई त जीवनमा यति आनन्दको अनुभूति भइरहेको थियो कि म त स्वर्गमै थिएँ । मानवजीवनमा स्नेहको स्थान अरुभन्दा बेग्लै छ । त्यहाँ बाबाका बच्चाहरुले, दिदी र दादीहरुले यतिसम्म स्नेह दिनुहुँदो रहेछ, देख्दा र महसुस गर्दै औधी खुशी भएँ । फेरि मलाई स्नेह गर्ने मार्गदर्शक नारायणगढ आश्रमकी आदरणीय ब्रह्माकुमारी राजयोगिनी लक्ष्मी दिदीलगायत अन्य दिदीबहिनी तथा भाइजीहरु पनि साथमै हुनुहुन्थ्यो । उहाँहरुले मलाई विभिन्न स्थानहरुमा भ्रमण गराउनुभयो । मलाई यतिबेला पनि झलझली सम्झना आउँछ– दादीपार्क जहाँ पिकनिक आयोजना गरिँदो रहेछ, निकै मनमोहक लाग्यो । सफासुग्घरको त के चर्चा गर्नु, भुइँदेखि भित्तासम्म, बाटोदेखि बगैँचासम्म पूरै सफा । बाबा साकार हुँदा बसोबास गर्नुहुने स्थल पाण्डव भवन, हिस्ट्रीहल जहाँ बाबाले मुरली चलाउनुहुन्थ्यो, ज्यादै आकर्षक लाग्यो । बाबाको कुटी जहाँ बसेर बाबाले हातैले मुरली लेख्नुहुन्थ्यो, त्यहाँभित्र बसेर मेडिटेसन गर्दा अतिन्द्रिय सुखको अनुभूति गरेँ । अहिले पनि मलाई अचम्म लाग्छ, त्यतिबेला मलाई कुनै कुराको सम्झना आएन । न भौतिक शरीरमा आएका कुनै आफन्तको सम्झना आयो, न कुनै चिन्ता वा समस्याबारे सम्झना नै । गज्जबको स्फूर्ति प्राप्त गरेकी थिएँ । फूलैफूलको आकर्षक बगैँचाले भरिएको, झुलाहरुले सजाइएको पिसपार्कमा टहलिँदा स्वर्गको आँगनमा टेकेको अनुभूति हुन्थ्यो । संसारका हरेक पुण्यात्मा जो त्यस पार्कमा पुग्छन्, वाह ! वाह !! नभनी सुखै पाउँदैनन् । मलाई त्यस्तै लाग्छ । अनुशासनको चर्चा गर्दा दुनियाँ छक्क पर्छन् । हजारौँ मानिस सँगैसँगै हुन्छन्, तर आवाज सुनिँदैन । कति शान्त ! भौतिक सुविधा भनौँ वा नयाँ आविष्कार, सोलार सिस्टमको कुरा गर्दा अचम्म लाग्छ । दुनियाँको सबैभन्दा ठूलो प्रोजेक्ट नै त्यही हो जस्तो लाग्छ । सोलारमार्फत चौबिसै घन्टा विद्युत् सेवा उपलब्ध छ । माउन्ट आबू एकप्रकारको मरूभूमि नै हो, तर पानीको पर्याप्तता देख्दा झनै अचम्म लाग्छ । अचम्ममध्ये मलाई लागेको एउटा अचम्म त्यहाँको भान्छा पनि एउटा हो । हजारौँ मानिसलाई खान पुग्ने खाना एकैछिनमा तयार हुँदोरहेछ । यसमा पक्कै पनि सोलारको कमाल हुनुपर्छ । त्यहाँको व्यवस्थापनको काम गर्ने शैली देख्दा अचम्म नमान्ने कोही हुँदैन । पकाउनेले पकाएको पकायै, जसले जे खान्छ चिसो, तातो, चिया, कफी, भात, खीर, फलफूल जतिबेला पनि उपलब्ध हुने । आज पनि मानवसंसारमा पुरूषहरुको ज्यादा स्थानमा नेतृत्व रहेको देखिन्छ । पुरूष नेतृत्वमा चलेको विश्व आज व्यवस्थित र शान्त किसिमले अघि बढेको छैन । झगडा, मारकाट, अनावश्यक विवाद र अशान्त तरिकाले जेनतेन चलेको देखिन्छ, तर यतिबेला माउन्ट आबूमा स्त्री शरीर धारण गर्नुभएका पवित्र आत्माहरुले नेतृत्व गर्नुभएको त्यो संस्था असाध्यै व्यवस्थित र अनुशासित ढंगले चलेको देखिन्छ । यसो भन्दा दुनियाँका मान्छेहरु छक्कै पर्लान् ! सात दिन माउन्ट आबूमा बिताएर फर्किंदाचाहिँ नरमाइलो लाग्यो । त्यस्तो स्वर्ग जहाँ नकारात्मक भन्ने कुनै चीज र विषय नै पाइँदैन, पाइन्छ त केवल ज्ञान, विवेक र आनन्द पाइन्छ, शान्ति पाइन्छ त्यस्तो ठाउँ छाडेर आउनुपर्दा खल्लो महसुस भयो । फर्किंदा ट्रेन यात्राभरि आँखामा माउन्ट आबूका मनमोहक दृश्यहरु नाचिरहे । कानमा मुरलीका शब्दहरु बजिरहे । विनाकठिनाइ र अवरोध माउन्ट आबू यात्रामा निस्किएका हामीहरु चैत्र ५ गते नेपाल आइपुग्यौँ । दुई वर्ष नाघ्यो माउन्ट आबू भ्रमणको तर सम्झना ताजा छ, कहिल्यै नमेटिने र पुरानो नहुने खालको । आज पनि यदाकदा मेरो हातमा मुरली पर्छ, म तुरून्तै पढ्छु अनिमात्रै अरु काम गर्छु । मुरली पढ्दा मलाई दुई वर्ष पुरानो सम्झनाले तुरून्तै माउन्ट आबू पु¥याउँछ । केहीबेर भए पनि त्यहाँका दृश्यहरु आत्मामा टाँसिन्छन्, मन हलुका हुन्छ, दुर्लभ आनन्द प्राप्त हुन्छ ।
अनेकथरी बाध्यताले हिजोआज मैले नियमित मुरली सुन्न, पढ्न पाएको छैन । म यतिबेला पवित्र आत्माका धनीहरु बस्ने ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रसँग नियमित सम्पर्कमा छैन । सकारात्मकभन्दा कयौँ गुणा ज्यादा नकारात्मक सोच राख्ने मानवहरुसँग सम्पर्कमा रहनु मेरो एक किसिमको बाध्यता भएको छ । मेरो भागमा परमात्माले यही र यस्तै भूमिका निर्वाह गर्ने आदेश दिनुभएको रहेछ, म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । हिजो लडाइँ झगडाबाट टाढा रहनेहरुसँग संगत थियो, आज मेरो अवस्था बदलिएको छ । मसिनो बोल्नेहरुसँगको उठबसले मन हर्षित हुन्थ्यो, आज मसिनो वचन सुन्न नपाएको महिनौँ बितेको छ । ब्रह्माकुमारी राजयोग सेवाकेन्द्रभित्र नकारात्मक चिन्तन गर्नेहरुलाई समेत आदरसम्मान गर्ने गरिन्छ । म पनि त्यस्तै थिएँ । बाहिरको दुनियाँमा त्यस्तै व्यवहार गर्ने प्रयासचाहिँ काम लाग्ने रहेनछ । फूललाई फूल र फलामलाई फलामको व्यवहारचाहिँ यतातिरको चलन रहेछ । चलनभन्दा बाहिर जान नसकिने रहेछ । मैले जीवन र जगत्का बारे धेरै कुरा जान्ने मौका पाएँ । मुख्य कुरा ज्ञान के हो र यसको मह¤व र अर्थ मानवजीवनमा केकति छ भनेर बुझेँ । यो मौका जुराइदिने चितवन नारायणगढ आश्रमकी मुख्य सञ्चालिका अति आदरणीय ब्रह्माकुमारी राजयोगिनी दिदी लक्ष्मीप्रति हार्दिक आभार व्यक्त गर्दछु । ब्रह्माकुमारी अम्बिका दिदी, ब्रह्माकुमार अर्जुन भाइजी, माउन्ट आबू भ्रमण गाइड मणि भाइजी, रत्ननगर आश्रमकी ब्रह्माकुमारी शर्मिला दिदी, कृष्णपुर आश्रमकी ब्रह्माकुमारी कविता दिदी, गौरी दिदीलगायत मलाई माउन्ट आबू यात्रामा सहयोग गर्ने माताजी र अन्य सहयोगी पुण्यात्माहरुलाई पनि हार्दिक हार्दिक धन्यवाद !

Comments

About the author

चितवन पोष्ट