गृह » चलचित्र क्षेत्रमा जम्दै दिग्गज, ‘म यस्तो गीत गाउँछु’ पछि ‘परिचय पाउँ’
कला समाचार समाज

चलचित्र क्षेत्रमा जम्दै दिग्गज, ‘म यस्तो गीत गाउँछु’ पछि ‘परिचय पाउँ’

–तुलमान गुरूङ
भरतपुर । नेपाली साहित्यको गजल विधामा सुपरिचित नाम हो दिग्गज धौराली । पछिल्लो समय युवा गजलकारको रूपमा छवि बनाएका धौराली नेपाली चलचित्रको गीत लेखनतर्फ व्यस्त हुन थालेका छन् । केही महिना अघिमात्रै उनले नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु’को शीर्षगीत ‘कहाँ छ र जिन्दगीको भर, तिमी बिना’ लेखेका थिए । उक्त गीतसँगै चलचित्रले पनि व्यवसायिक रूपमा सफलता प्राप्त ग¥यो । प्रमोद खरेलले गाएको उक्त गीत अर्जुन पोखरेलको संगीतमा तयार भएको हो ।
‘चलचित्र म यस्तो गीत गाउँछु’ को चर्चा सेलाउन नपाउँदै धौरालीले लेखेको अर्को गीत ‘परिचय पाउँ’ केही दिनअघि मात्रै सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र ‘मेला’ मा समावेश गरिएको उक्त गीत पनि अर्जुन पोखरेलकै संगीतमा तयार भएको हो । हुन त धौरालीका धेरै गीतमा संगीतकार पोखरेलले संगीत संयोजन गरेका छन् । यही आउँदो कार्तिक २४ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘मेला’मा समेटिएको उक्त गीतमा गजित विष्ट र पवित्रा आचार्यले कम्मर मर्काएका छन् । विष्ट र आचार्य चलचित्रका लागि भने अतिथि भूमिकामा मात्रै देखिएका छन् । तर, यो गीतको युट्युब भ्युअर्स दुईदिनमै चारलाख नाघेको छ ।
‘परिचय पाउँ’ बोलको यो गीतले परिचय थप बढाउनेमा आफू विश्वस्त रहेको गीतकार एवम् गजलकार धौरालीको भनाइ छ । ‘म यस्तो गीत गाउँछु’ को शीर्षगीतबाट पनि आफूलाई दर्शक श्रोतासामु गीतकारको रूपमा चिनाउन पाएको भन्दै धौरालीले भने, ‘परिचय पाउँ’ गीतले झनै उत्साहित बनाएको छ । किनकी अहिलेको परिवेश अनुसार लोकलयमा गीत बनेको छ । त्यसैले पनि यो गीतले सफलता हासिल गर्नेछ भन्नेमा म ढुक्क छु । यस गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तले स्वर दिएका छन् ।
यति मात्रै होइन । उनले चलचित्र ‘लम्फू’को लागि लेखेको ‘सँगै जिउने सँगै मर्ने चाह हुँदो रैछ’ बोलको गीत पनि रेकर्ड भइसकेको छ । उक्त गीतको छायांकन चितवनको बीसहजारी ताललगायतका रमणीय स्थलमा गरिएको छ । संख्यात्मक रूपमा उनले दर्जनभन्दा बढी लोकदोहोरी गीत लेखिसकेका छन् । तर, संख्यात्मक रूपमा लोक गीत धेरै लेखे पनि दर्शक स्रोता सामु भने गजलकार र चलचित्रका गीतकारको रूपमा बढी चिनिन थालेका छन् । यसले पनि उनलाई पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको गीत लेख्नका लागि प्रोत्साहन मिलेको छ ।
उनी भन्छन्, ‘कहाँ छ र जिन्दगीको भर, तिमी बिना’ लेखेपछि मलाई अरू चलचित्रको लागि पनि प्रस्ताव आइरहेका छन् ।’ गोरखा स्थायी घर भई अध्ययनको सिलसिलामा केही समयदेखि राजधानी बस्दै आएका धौराली यतिबेला आफूलाई गीतकारको रूपमा स्थापित गराउन पाउँदा खुसी छन् । सानैदेखि साहित्य क्षेत्रमा विशेष रूचि राख्ने उनी सांगीतिक क्षेत्रमा आफू यतिको सफल भइएला भन्ने लागेकै थिएन । ‘तर, मलाई समयले गीतकार बनायो र चिनायो पनि,’ उनी भन्छन् ।

 

Comments

About the author

चितवन पोष्ट