गृह » अवैध सुन तस्करी नियन्त्रण गर
सम्पादकीय

अवैध सुन तस्करी नियन्त्रण गर

महानगरीय अपराध महाशाखाले हालसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेर प्रशंसनीय कार्य गरेको छ । महाशाखाबाट खटिएको टोलीले सोमबार ८८ किलो सुन बरामद गरेपछि नेपाललाई ट्रान्जिट बनाएर तस्करी गर्दै आएको चिनियाँ तस्करको सञ्जालबारे नयाँ खुलासा भएको छ । पर्यटन व्यवसायको आवरणमा ठमेल क्षेत्रलाई स्टेसन बनाई चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा सुन तस्करी गर्दै आएको खुलेको हो । केरूङ नाका हुँदै ४३ करोड रूपैयाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखा टोलीले नियन्त्रण गरेपछि सुन तस्करीको नयाँ रहस्य सार्वजनिक भएको छ । केही वर्षयता अवैध सुन तस्करीको धन्दा तीव्र रुपमा फस्टाउ“दै गएको छ । ०७० असार २६ मा ३५ किलो सुन बरामद भएपछि नेपालमा अवैध सुन तस्करीको धन्दा मौलाएको प्रमाणित भएको थियो । त्यसपश्चात् ०७३ पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपक्षीय मिलेमतोमा ३४ केजी सुनका बिस्कुट बाहिरिएको थियो । सोही वर्ष माघ १ मा १५ किलो सुन बरामद भएको थियो । ०७४ भदौ १४ मा १५ किलो सुन बरामद गरेको प्रहरीले त्यसको एकसाता नबित्दै हालसम्मकै ठूलो परिणाममा सुन बरामद गरेर अवैध सुन तस्करीमा कीर्तिमान कायम गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतीय सीमा क्षेत्रका जिल्लाबाट भारी मात्रामा बरामद भएको सुनको विवरणलाई चकित पार्ने गरी अवैध सुन तस्करीको धन्दा मौलाएपछि यतिखेर केरूङ नाका नै प्रमुख तस्करी हुने नाकाका रुपमा परिचित भएको छ । त्यसमा पनि अवैध सुन तस्करीमा चिनियाँ नागरिककै प्रत्यक्ष संलग्नता पुष्टिसमेत भएको छ । चिनियाँ नागरिक नेपालमा रेस्टुरेन्ट र पर्यटन व्यवसायको आवरणमा सुन तस्करीमा सामेल हुनु एउटा चुनौतीको विषय हो । संगठित तवरबाट हुने अवैध सुन तस्करी नेपालका लागि नयाँ विषय होइन । एक सयपटक सुन तस्करी हुँदा एक वा दुईपटकमात्रै बरामद हुनुले यसको पुष्टि गर्दछ, जसमा पनि लेनदेनमा कुरा नमिल्दामात्रै यस्ता सुराकी प्रहरीमा आउने गरेको छ । त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको भन्सार सुरक्षा पास गरेर बाहिरिएको करिब ३४ केजी सुन बरामदपश्चात् संगठित सुन तस्करीबारे संसदीय समितिदेखि सदनसम्म चर्को बहस चलेको थियो । त्यसबेला अर्थ मन्त्रालय र संसदीय समितिले छानबिन समितिसमेत गठन ग¥यो । तर, सरकार परिवर्तन भएसँगै त्यो मुद्दा त्यसै सेलाएर गयो । नेपालमा जेजति सुन तस्करीका घटना भएका छन्, त्यसमा भरियामात्रै पक्राउ पर्दै आएका छन् । जबसम्म तस्करीका असली मालिक पक्राउ पर्दैनन्, तबसम्म सुन तस्करीको श्रृंखला रोकिन असम्भव छ ।
विभिन्न मुलुकबाट तस्करले ल्याउने अवैध सुन ठूलो परिमाणमा नेपाली बजारमा खपत हु“दै आएको छ । नेपाली बजारबाहेक तस्करले खुला सिमानाको फाइदा उठाउ“दै भारतीय बजारसम्म पनि तस्करी गर्ने गरेका छन् । केरूङ नाकाबाट आएको अवैध सुन बरामदको घटनाले नेपालमा हुने सुन तस्करीको पुरानो इतिहासलाई पुनः स्मरण गराइदिएको छ । प्रहरीले विभिन्न गिरोहबाट ०७० सालयता झन्डै ७ सय किलो अवैध सुन पक्राउ गरेको तथ्यलाई विश्लेषण गर्दा अवैध सुनको कारोबार मौलाइरहेको प्रस्ट हुन्छ । प्रहरीको अनुसन्धान ब्युरोले सुन कारोबारमा संलग्न भरियामात्रै पक्राउ गर्दै आएको छ । अब मिङजस्ता व्यवसायीको आडमा सुन तस्करी गर्ने गिरोहलाई पनि पक्राउ गरी कारबाही गर्ने साहस देखाउनुपर्छ । केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीबारे छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्नुपर्छ । देशको समग्र अर्थतन्त्रलाई नै धराशायी बनाउने अवैध सुन तस्करीलाई निस्तेज बनाउन राज्यले सम्पूर्ण संयन्त्र परिचालित गरेर यस्ता तस्करी नियन्त्रण गर्नु जरूरी छ ।

Comments

About the author

चितवन पोष्ट