गृह » भारतमा बेचिन्छन् धेरै महिला
प्रमुख समाचार

भारतमा बेचिन्छन् धेरै महिला

दिपेन्द्र अधिकारी
भरतपुर । मानव बेचबिखनमा संलग्न भएकाको अनुसन्धानबाट सबैभन्दा धेरै महिला भारतमा बेचिने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
मानव बेचबिखनमा संलग्नहरुले बेच्नका लागि सहजता र सुरक्षाका कारण पनि सीमा पारि भारत लैजाने गरेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । उनका अनुसार गत आर्थिक वर्षमा मानव बेचबिखनमा परेका ६ मुद्दामा अधिकांश भारत लगेर बेचिएका घटना रहेका छन् । भारतपछि अन्य खाडी मुलुकहरुमा पछिल्लो समय दलालहरुले महिला लाने गरेको प्रहरीको भनाइ छ ।
‘पहाडका जिल्लाहरुबाट चितवन सुनौली हुँदै भारत लैजाने गरेको धेरै घटना छन्’, प्रहरी प्रमुख एसपी थापाले भने, ‘चेक जाँचका क्रममा हामीले फेला पारे त ठीकै नत्र सिधै भारतका कोठीमा पुग्छन हाम्रा चेलीहरु ।’
देशको राजनीतिक संक्रमणकाल, प्राकृतिक विपद् जस्ता समयमा यस्ता घटना बढी हुने गरेको बताए । ‘विभिन्न घटनामा संलग्नहरुलाई पक्राउ गरी बल्लतल्ल मुद्दा चल्यो, अदालत पुगेर पीडित नै उल्टो बयान दिन्छन्, हामीले के गर्नु ? एसपी थापाले भने ।
मानव बेचबिखनका मुद्दामा पीडितले उल्टो बयान (होस्टाइल) दिँदा समस्या हुने गरेको भन्दै उनले पीडितलाई राज्यले नै उचित संरक्षण र क्षतिपूर्ति दिलाई पीडिकलाई सजाय दिनुपर्ने बताए । ‘अभावमा रहेर विकटमा बसेकाहरु, अधिक चाहना राख्नेहरु, बढी रमाइलोमा रमाउन चाहानेहरु, कम शिक्षितहरु र जनजाति वर्गका महिलाहरु मानबेचबिखनको मुख्य केन्द्रमा रहन्छन्’ उनले भने ।
महंगा होटलमा राख्ने, जागिरको प्रलोभन देखाउने गर्नाले महिलाहरु सजिलै फस्ने गरेको प्रहरीको भनाइ छ । विभिन्न सामाजिक संघसंस्थाहरुले बेचबिखनविरुद्ध खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै एसपी थापाले मानवीय संवेदनाको ख्याल गर्नुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले पीडितलाई न्याय र पीडकलाई हदैसम्मको दण्ड दिएर मानव बेचबिखनका घटना अन्त्य गर्न सकिने बताइन् । सामुदायिक सेवा केन्द्र नारायणगढको आयोजनामा सोमबार भएको कार्यक्रममा एपी थापा र अध्यक्ष खरेलले मानव बेचबिखनका घटनाका शिक्षा गाउँगाउँ र विद्यालयमा लैजान आवश्यक रहेको बताए । अध्यक्ष खरेलले महिलाहरु यस्ता घटनातर्फ सचेत हुनुपर्ने बताइन् । केन्द्रका सञ्चार संयोजक अर्जुन अधिकारीले कार्यक्रममा सहजीकरण गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट