गृह » आणविक परीक्षण रोक
सम्पादकीय

आणविक परीक्षण रोक

अन्तर्राष्ट्रिय समुदायको निरन्तर आग्रह र संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै उत्तर कोरियाले आइतबार शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ । एकपछि अर्को आणविक परीक्षण गर्दै आएपछि अन्तर्राष्ट्रिय समुदायको बढ्दो चासो र चिन्ताका बीच पुनः एक शक्तिशाली आणविक परीक्षण गरेर उत्तर कोरियाले उग्रताको पराकाष्ठा नाघेको छ । उत्तर कोरियाले हालसम्मकै शक्तिशाली मानिएको हाइड्रोजन बम परीक्षणपछि कोरियाली प्रायद्वीपमा ६.३ रेक्टर स्केलको कम्पन महसुस भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरु बीबीसी, सीएनएन, एएफपी र सिन्ह्वाले जनाएका छन् । ती समाचार समितिहरुले उक्त घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी गरोक छन् भने अमेरिका, चीन, जापान र दक्षिण कोरियालगायत विश्वका प्रमुख देश तथा सरकार प्रमुखले यो परीक्षणले विश्वभर त्रास सिर्जना गरेको भन्दै भत्र्सना गरेका छन् । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्रमा जडान गरी प्रहार गर्न सक्ने अत्याधुनिक हाइड्रोजन बमको विकास गरेको दाबी गरेको छ । विज्ञहरुले कुनै पनि हाइड्रोजन बम क्षेप्यास्त्रमा राखेर प्रहार गर्न सक्ने आकारको बनाउनु एकदमै चुनौतीपूर्ण भएको जनाएका छन् ।

उत्तर कोरियाले आइतबार जापानको हकाइडो प्रान्तको आकाश हुँदै समुद्रमा खसालेको बम अमेरिकाले विश्वयुद्धताका जापानको नागासाकीमा खसालेको ‘फ्याट ब्वाई’भन्दा पनि पाँच गुणा शक्तिशाली रहेको बताइएको छ । सन् १९४५ अगस्ट ६ मा अमेरिकाले खसालेको हाइड्रोजन बमका कारण ४५ हजार मानिसको तत्काल मृत्यु हुनुका साथै बिस्फोटबाट निस्किएको आगो, उत्पन्न विकिरण र क्यान्सरका कारण कम्तीमा २ लाख ३७ हजार मानिस मारिएका थिए । पछिल्ला वर्षहरुमा आणविक परीक्षणविरुद्ध संयुक्त राष्ट्रसंघ र विश्वसमुदायले आवाज उठाउँदै आएका छन् । राष्ट्रसंघले परमाणु कार्यक्रम रोक्ने प्रस्ताव पारित गरिसकेको छ । तर, उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ । केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो । अन्तर्राष्ट्रिय समुदायको निरन्तरको आग्रहलाई लत्याउँदै उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनले उत्तेजक र आक्रामक ढंगले आणविक परीक्षणलाई तीव्रता दिँदै आएका छन् । आइतबार परीक्षण गरिएको हाइड्रोजन बम करिब एकसय किलो टन क्षमताको भएको विज्ञहरुले अनुमान गरेका छन् । यसले सम्पूर्ण विश्वलाई नै खतराको अनुभूति गराएको छ ।
उत्तर कोरियालाई आणविक परीक्षणविरुद्ध संसारबाटै एक्ल्याउनुपर्ने आवाज उठिरहेको छ । उसको उक्त हर्कतविरुद्ध राष्ट्रसंघले निन्दा गर्दै प्रतिबन्ध लगाउने चेतावनी दिइरहेको छ । हतियार र शक्तिको दम्भले संसारलाई केही हदसम्म आतंकित त बनाउन सकिएला, तर विश्व समुदायमाझ विश्वास आर्जन गर्न कदापि सकिँदैन । विगतमा पनि हतियार र शक्तिको आडमा आफूलाई शक्तिशाली ठान्ने राष्ट्रहरु पतन भएका दृष्टान्तहरु छन् । आज विश्वशान्तिको कामना गर्दै शक्तिशाली राष्ट्रहरुले आणविक दम्भको अन्त्य गरिसकेका छन् । विश्व समुदायबाट एक्लिएर एकपछि अर्को आणविक परीक्षण गरेर उत्तर कोरियाले तेस्रो विश्वयुद्धको संकेत गरिरहेको छ । युद्धको कहीँ कतै विजय नभएको र त्यसको नतिजा विनास र पराजयमात्रै आउने कुरालाई उत्तर कोरियाले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी क्षेप्यास्त्र परीक्षण गरेर विश्वभर त्रास उत्पन्न भइरहेको परिपेक्ष्यमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षणको उक्त घटनाप्रति प्रायश्चित गर्दै आगामी दिनमा परमाणुसँग सम्बन्धित गतिविधि रोक्ने प्रतिबद्धता जनाउनु आवश्यक देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट