गृह » प्रदेश नम्बर २ मा एमाले पहिलो बन्छ : ओली 
प्रमुख समाचार राजनीति

प्रदेश नम्बर २ मा एमाले पहिलो बन्छ : ओली 

दिपेन्द्र अधिकारी
भरतपुर । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि पहिलो पार्टी बनेर एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘धुपौरेहरु’का कारण एमालेको विजययात्रा नरोकिने दाबी गरेका हुन् ।
त्यस्तै असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । यसअघि भएका दुई वटै चरणका चुनावमा एमाले पहिलो भएको बताउँदै उनले तराई क्षेत्रमा पनि एमाले पहिलो नै हुने दाबी गरे ।
‘राज्यका संयन्त्रको चरम दुरुपयोग गरेर, धाँदली गरेर मतपत्र च्यातेर हारेकोलाई जिताउदा समेत एमाले प्रमुख पार्टीको हैसियत हालिस गर्न सफल भयो’ ओलीले भने । कार्यक्रमा एमाले नेता रविन्द्र अधिकारी, वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाललगायतले बोलेका थिए । सो अवसरमा जिल्लाका विभिन्न क्षेत्रबाट २०० बढी मानिसहरु एमाले प्रवेश गरेका थिए ।
नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज बेतुकको काम
काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन एकाएक खारेज भएपछि एमाले अध्यक्ष केपीशर्मा ओलीले खारेजको काम नियतबस स्थगित भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै आफ्नो पार्टीले मेडिकल सञ्चालक बसुरिद्धिन अन्सारीलाई वीरगन्ज महानगरपालिकाको मेयरमा टिकट दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सम्बन्धन खोसिएको ओलीको आरोप छ । देउवाले सम्बन्धन खारेज गर्दा कुलपति जस्तो मर्यादा र पदको गरिमा बिर्सिएको बताए ।
सोही अवसरमा उनले पूर्वाधार नपुगेको भए अध्ययन हुनुपर्नेमा हचुवामा निर्णय गरिएको बताए । ‘मनमोहनको पूर्वाधार पुगेको छ त्यसो भए, खोई त सम्बन्धन ? अध्यक्ष ओलीले सरकारलाई प्रश्न गर्दै भने,‘एमाले भने पछि ज्वरो आउनेहरुले हैसियत बिर्सिएका छन्, शक्तिको दुरुपयोग गरेका छन् ।’
चौतर्फी दबाबपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को शनिबार बसेको बैठकले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगन गर्ने निर्णय गरेको थियो । क्षेत्र निर्धारण आयोगले गरेको सिफारिसप्रति ओलीले असन्तुष्टि जनाउँदै उचित समयमा यो सच्चिने समेत बताए । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाएका छन् । ओलीले राज्यशक्तिको दुरुपयोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भइरहेको बताए ।
भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाउँदै आएको भन्दै ओलीले एमाले एक्लैको प्रयासले भ्रष्टचार नियन्त्रण सम्भव नरहेको बताए । उनले भने, ‘भ्रष्टाचार रोक्ने राज्यले हो, नागरिकले होइन, एमाले सबै ठाउँमा लडेकाले एकै ठाँउमा केन्द्रित नभएजस्तो देखिएको हो ।’

Comments

About the author

चितवन पोष्ट