गृह » गरिब देशका धनी मन्त्रीहरु
सम्पादकीय

गरिब देशका धनी मन्त्रीहरु

नेपालीमा एउटा चर्चित उखान छ– ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ यो उखान विशेषगरी नेपालका मन्त्री, सांसद् र राजनीतिक दलहरुले बारम्बार चरितार्थ गरिरहेका छन् । यसैलाई प्रमाणित गर्न अहिले एउटा समाचार नै काफी छ । राजधानीबाट प्रकाशित एक अखबारमा ‘मन्त्रीका डेरा खर्चै दुई लाख’ शीर्षकको समाचार पढ्दा जोसुकैले गरिब देशका धनी मन्त्रीहरुको जीवनशैलीबारे सहजै अनुमान लगाउन सक्छ । किनभने, मासिक दुई हजार रूपैयाँ भाडा तिर्न नसक्ने जनताका लागि यो समाचार आफैँमा एउटा पटाक्षेप बन्नपुगेको छ । संसारलाई थाहै छ– नेपाल गरिब राष्ट्र हो । तर, यही गरिब देशमा मन्त्री, नेता र सांसद्हरु भने धनी छन्, अर्थात् उनीहरुको जीवनशैली विलासी छ । सरल जीवनशैली अपनाउने सादगीपूर्ण नेताहरु परलोक भैसकेका छन् भने अपवादमा रहेकाहरु पनि अतिकम छन् । शेरबहादुर देउवा नेतृत्वको जम्बो सरकारका राज्यमन्त्रीलाई सरकारी क्वाटर अपुग भएपछि डेरा व्यवस्थापनका लागि सुरूमै दुई–दुई लाख रूपैयाँ बाँडिएको छ । सरकारले डेरामा बस्ने मन्त्रीहरुका लागि मासिक ४० हजार रूपैयाँ, तलब ५७ हजार ७८० रूपैयाँ, बिजुली, पानी, टेलिफोनको बिलबमोजिमको भुक्तानी, पत्रपत्रिका र यातायात सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
विडम्बना त के छ भने, हाम्रै गरिब देशमा जम्बो मन्त्रिपरिषद् बन्छ । सरकारी क्वाटर नपुगेर बाहिरै डेरा लिनुपरे पनि मन्त्री थपेर कीर्तिमान कायम गर्ने होड चल्छ । मन्त्री बन्नेहरुको लामो लाइन देख्दा र देशले धान्नै नसक्ने गरी जम्बो सरकारमा सहभागी हुँदा विभिन्न सुविधा उपभोग गर्नैका लागि मन्त्री बनेका हुन् कि भन्न करै लाग्छ । हाम्रो देशकै जस्तो मन्त्रीहरुको विलासिता अन्य विकसित देशहरुमा पनि देख्न गाह्रो पर्छ । विश्वका थुप्रै मुलुकमा सरकारले खर्च कटौती गर्ने नीति अख्तियार गर्ने गरेको पाइन्छ । कतिपय नेता, मन्त्रीहरुले सार्वजनिक यातायात प्रयोग गर्ने, बिदाका दिनमा साइकलको प्रयोग गर्ने र आफू पद बहाल हुँदा आफ्ना परिवार र समर्थकले गाडी प्रयोग गर्न नपाउने नियम पूर्ण रुपले लागू गरेको पाइन्छ । तर, नेपालका प्रधानमन्त्री, मन्त्रीहरुले पद छाडेपछि सरकारी गाडी त्याग गर्न नसक्ने प्रवृत्ति छ । सरकारले पनि गाडी खोस्ने साहस देखाउन सकेको पाइँदैन । तर, नेपालमा मन्त्रीहरुले सार्वजनिक गाडी चढ्नु अपमानजस्तै ठान्ने गर्दछन् ।
जनताको सेवक ठान्ने र जनताको सुखदुःखमा सहयात्रा गर्ने कसम खाएका नेता, मन्त्रीहरुले कुर्सी प्राप्त गरेपछि जनतालाई रैती ठान्ने गर्छन् । नेपालको प्रतिव्यक्ति आय २५०० डलर भएको संसारको एक गरिब राष्ट्र हो । हाम्रो राजस्वले सरकारको साधारण खर्च धान्नसमेत मुस्किल पर्दछ । विकास खर्चको अधिकांश हिस्सा वैदेशिक ऋण एवम् सहायता र आन्तरिक ऋणबाटै व्यहोर्नुपर्ने अवस्था छ, जसका कारण हाम्रो बजेट घाटा र सार्वजनिक ऋण दुवै तीव्र रुपमा बढिरहेका छन् । यतिसम्म कि, नेपाल अब अतिऋणी कम विकसित मुलुकमा पर्न थालेको छ । देशको प्रगति र विकासका लागि उपभोग खर्च घटाएर लगानी बढाउनु पर्ने बाध्यता रहेको अवस्थामा हाम्रा राजनीतिक नेता, मन्त्री र उच्च अधिकारीहरुले धनी मुलुकहरुले ईष्र्या गर्ने खालका सुविधा लिइरहेका छन् । विभिन्न नाममा राज्यलाई भार पर्ने गरी सरकारले रकम विनियोजन गर्दै आएको छ । गरिब देशका मन्त्रीहरुले देश र जनताको हितका लागि सरल र सादगीपूर्ण जीवन बिताउन त्याग गर्नैपर्ने देखिएको छ ।

Comments

About the author

चितवन पोष्ट