गृह » ‘ए मेरो हजुर–२’ हेर्न दर्शकको भीड, चलचित्रले मन छोयो : दर्शक
कला समाचार समाज

‘ए मेरो हजुर–२’ हेर्न दर्शकको भीड, चलचित्रले मन छोयो : दर्शक

गोविन्द अर्याल
नारायणगढ । भदौ १६ गते शुक्रबारबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर–२’ चितवनको अघिकांश हल दर्शकले भरिएको छ ।
चलचित्र भवन बिहानै देखि भरिएका थिए । नारायणगढको क्युएफएक्स जलमा र इन्द्रदेव चलचित्र भवनमा टिकट नपाएपछि दर्शकहरु त्यसै फर्कनु परेको थियो ।
इन्द्रदेव चलचित्रका म्यानेजर हरि रेग्मीका अनुसार आजभोलि नेपाली चलचित्र हेर्न दर्शकको चाप बढ्न थालेको छ । आजभोलि बन्ने नेपाली चलचित्र कुनै हिन्दी चलचित्र भन्दा कम नरहेको रेग्मी भन्दछन् । यसै वर्ष आएका ‘धनपति’, ‘म यस्तो गीत आउँछु’, ‘प्रेमगीत–२’ नेपाली दर्शकले अत्यन्तै रुचाए । लगत्तै आएको यस चलचित्र पनि यस्तो मारामार भइरहेको छ ।
त्यसैगरी नेपाली चलचित्रको सुखद दिन सुरु भएको क्यूएफएक्स जलमाका म्यानेजर विकास पोखरेल बताउँछन् । विगत १ वर्ष देखि नेपाली चलचित्र हेर्न दर्शकको कुनै कमी नरहेको उनले बताए ।
नेपाली चलचित्र समसमयिक तथा अर्गानिक बनेको हुनाले नेपाली चलचित्र हेर्न दर्शकको चाप बढेको गणेश चलचित्र मन्दिर नारायणगढका म्यानेजर विष्णु सापकोटाले जानकारी दिए । क्यूएफएक्स जलमामा भेटिएका गैंडाकोटका मनोज अधिकारी चलचित्र ‘ए मेरो हजुर–२’ अत्यन्त मन परेको प्रतिक्रिया दिन्छन् । चलचित्र पैसा असुल र समय असुल छ । छक्का पञ्जा पछिको उत्कृष्ट चलचित्र बनेको दाबी गर्छन् ।
त्यस्तै इन्द्रदेवमा चलचित्र हेरेर निस्कीएकी रत्ननगरकी सुस्मिता पाण्डे चलचित्रको लभस्टोरी अत्यन्तै मन परेको बताउँछिन् । चलचित्रले हसाउँदा हसाउँदै रुवाउछ । म रोएछु उनले भनिन् ।
चलचित्रले मायाप्रेमको वास्तविक अर्थ खुलाउँछ । जसको श्रेय निर्देशक झरना थापालाई जान्छ । नयाँधारका निर्देशकलाई झरनाको निर्देशन गर्ने क्षमताले गतिले झापड दिने साथै चलचित्र उत्कृष्ट बनेको निर्देशक तथा कलाकार शोभित बस्नेतले बताए ।
चलचित्रले दर्शकको मन छुन सफल भएर दर्शकको भीड देखेर उत्साहित छन् नायक सलोन बस्नेत । आफूले चलचित्रमा निभाएको भूमिका मन पराएर मलाई धन्यवाद दिनुभएको छ ।
रंगकर्मी तथा चलचित्र निर्माता रवि अधिकारीका अनुसार यस चलचित्रले करीब १३ लाखको व्यापार गरेको जानकारी दिए । चितवनमा कुनै पनि नेपाली चलचित्रको यो नै सबैभन्दा धेरै एकदिनको कमाइ हो । प्रेम, साथीको त्याग अनि द्वन्द्व देखाइएको यस चलचित्रले अहिलेसम्म भएका केही रेकर्ड तोड्ने अधिकारीले बताए ।
करिब १५ वर्ष अगाडि स्व शिव रेग्मीको निर्देशनमा बनेको ए मेरो हजुर त्यसबेलामा अत्यन्तै चलेको थियो । जसमा स्व नायक श्री कृष्ण श्रेष्ठ र झरना थापा मुख्य भूमिकामा रहेका थिए ।
त्यही चलचित्रका निर्देशक र नायकको श्रद्धाञ्जली स्वरुप ‘ए मेरो हजुर–२’ लाई नायिका झरना थापाले निर्देशन गरेको चलचित्र निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।

Comments

About the author

चितवन पोष्ट