गृह » पल्लवको सम्मान
समाचार समाज साहित्य

पल्लवको सम्मान

नारायणगढ । पल्लव साहित्य प्रतिष्ठान नारायणगढले शनिबार नारायणगढमा भारतका चार भारतीय साहित्यकारसहित ११ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा बोधकुमारी–हिमकुमारी लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मानबाट नगद, सम्मानपत्र र दोसल्लामार्फत गजलकार डा घनश्याम न्यौपाने ‘परिश्रमी’ सम्मानित भएका छन् ।
केदारनाथ रिजाल तथा गुणकुमारी र रोगकुमारी रिजाल स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य सम्मानबाट भारतीय साहित्यकार डा अजय श्रीवास्तव ‘अश्क’ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित भएका छन् भने, युशुफुदिन–हलिमा पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य राष्ट्रिय सम्मानबाट भारतीय साहित्यकार डा शीवा त्रिपाठी ‘सरस’ नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मानित भएकी छिन् ।
यस्तैगरी मीना–रत्न साहित्य पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य राष्ट्रिय सम्मानबाट भारतीय साहित्यकार सञ्जयकुमार सागर ‘सूद’लाई नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको पल्लव साहित्य प्रतिष्ठान नारायणगढका अध्यक्ष गोर्खे साईँलोले जानकारी दिए । कार्यक्रममा शेषनाथ लामिछाने स्मृति पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य राष्ट्रिय सम्मानबाट छन्दकवि कविराज पौडेल र भारतीय साहित्यकार प्रविण खालिङलाई नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
यस्तै पल्लव राष्ट्रिय साहित्य सम्मानबाट कवि एवम् साहित्यकार गायत्री श्रेष्ठ, आख्यानकार रामलाल जोशी, गजलकार प्रभाकर पण्डित र लोकनाथ खराल सम्मानित भएका छन् । उनीहरू तीनैजनालाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै काजीमान तथा नन्दकुमारी÷शान्तकुमारी श्रेष्ठ रत्न पुरस्कार एवम् पल्लव राष्ट्रिय साहित्य राष्ट्रिय सम्मानबाट लिलानाथ सिलवाल सम्मानित भएको अध्यक्ष साईँलोले बताए । उनीहरू नरेन्द्रनाथ वाङमय निधी ललितपुरका अध्यक्ष डा भूपहरी पौडेलको हातबाट सम्मानित एवम् पुरस्कृत भएका हुन् ।
सोही अवसरमा प्रतिष्ठानले एकैपटक १० कृतिको विमोचनसमेत गरेको छ । कार्यक्रममा साहित्यकारहरू भवानी न्यौपाने ‘भावना’को ‘भावनाका वहर वाटिका’ (शास्त्रीय बहरवद्ध गजल संग्रह), केशवराज आमोदीको ‘उषा अनिरूद्ध’ (पौराणिक महाकाव्य), लोकनाथ खरालको ‘शब्दयात्री’ (छन्दोवद्ध कवितासंग्रह), सिर्जना शर्माको ‘मन्दाकिनी’ (मुक्तक संग्रह), लक्ष्मीदत्त भट्टको ‘मधुर चाँदनी’ (शास्त्रीय बहरवद्ध गजलसंग्रह), शान्ति अधिकारी पोखरेलको ‘मौन विद्रोह’ (गजल संग्रह), प्रकृति प्रेमीको ‘समीर’ (शास्त्रीय बहरवद्ध गजलसंग्रह), मञ्जु तिमिल्सिना ‘धरा’को ‘तिम्रो माया मुटुभरि’ (गजलसंग्रह) र पल्लव साहित्य प्रतिष्ठानको ‘पल्लव साहित्य पत्रिका’ एकसाथ विमोचन गरिएको हो ।

Comments

About the author

चितवन पोष्ट