गृह » सत्तारुढ दल निर्वाचन आचार संहिता उल्लंघनमा :एमाले वरिष्ठ नेता नेपाल
राजनीति समाचार समाज

सत्तारुढ दल निर्वाचन आचार संहिता उल्लंघनमा :एमाले वरिष्ठ नेता नेपाल

पदमपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता समिकरणमा रहेका दलहरु निर्वाचन आचार संहिता उल्लंघन गर्न उद्धत रहेको बताएका छन् ।
जसरी पनि २ नं. प्रदेशमा स्थानीय निर्वाचन जित्नुपर्छ भन्दै सत्ता, शक्ति र सरकारी ढुकुटीको दुरुपयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताए । नेकपा एमाले कालिका नगर कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शुक्रबार खोलेसिमलमा सम्बोधनगर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता नेपालले एमालेको जनलहर देखेर सत्ताधारीहरु अत्तालिएको बताए । २ नं. प्रदेशमा पनि नेकपा एमाले प्रथम हुनुको विकल्प नभएको भन्दै नेपालले जनमुखी काम गर्ने एमाले पार्टी वृद्धवृद्धा, महिला, आदिवासी, मधेसी, हिमाली, पहाडीलगायत सबैको भरोसाको पार्टी भएको समेत बताए ।
एमाले नेता नेपालले यस नगरपालिकाको शक्तिखोर क्षेत्रमामा ओवादी लडाकु शिविर रहेको स्मरण गर्दै एमालेकै पहलमा लडाकुलाई सेना समायोजन गरी देशलाई शान्ति प्रक्रियामा अगाडि बढाइ संविधान जारी गर्न सफल भएको समेत बताए ।
कालिकालाई नमूना नगर बनाउन सुझाव
पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपालले थुप्रै सम्भावना बोकेको चितवनकै महत्वपूर्ण स्थानमा रहेको यस नगरपालिकामा औद्योगिक क्षेत्र स्थापना गरी आर्थिक क्षेत्रको रुपमा विकसित गर्न सकिने बताएका छन् ।
निर्माणाधीन औद्योगिक क्षेत्रलाई व्यवस्थित र वातावरणमैत्री औद्योगिक क्षेत्र बनाइ समृद्ध नगर बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । नगरपालिकाको पहाडी भूभागको रुपमा रहेको शक्तिखोर, सिद्धिलाई पर्यटकीय क्षेत्रको रुपमा र साविक पदमपुर र जुटपानी क्षेत्रलाई आधुनिक कृषि क्षेत्रको रुपमाविकास गर्न सके यो नगर नमुना नगरको रुपमा समृद्ध कालिका बन्ने समेत उनले बताए ।
हालैको बाढीले प्रभावित क्षेत्रको अवलोकनसमेत गरेका नेता नेपालले बाढी प्रभावितलाई तत्काल राहत र उचित व्यवस्थापन गर्नुपर्ने बताउँदै सुकुमबासी बस्ती व्यवस्थापन र समग्र कालिकाको विकासमा आफू सधै साथ रहेको समेत बताए । शक्तिखोरको कालिका मन्दिर परिसरमा निर्माणाधीन टावर तथा पार्कको अवलोकन, नगरभित्रको बाढी प्रभावित र सुकुमबासी बस्तीको अवलोकन, भइरहेका विकास निर्माण कार्यको अवलोकन गरेका थिए ।

शक्तिखोर–हुग्दी सडक निर्माण आवश्यक
नेता नेपालले शक्तिखोर–हुग्दी चेपाङ पैदलमार्गलाई स्तरोन्नति गरी व्यवस्थित सडक बनाउनुपर्ने बताए । यस सडकलाई छिटो भन्दा छिटो सञ्चालन गर्न सके नारायणगढ–मुग्लिङ सडकको विकल्पको रुपमा छोटो र भरपर्दो सडक सञ्जाल हुने समेत उनले बताए । सो सडक निर्माण पश्चात् छोटो र छिटो काठमाडौसँग सडक सञ्जाल जोडिने भएकोले यो सडक निर्माण गर्न नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेसमेत उनले बताए ।

Comments

About the author

चितवन पोष्ट