गृह » अनेरास्ववियुको विस्तारित बैठक आजबाट
राजनीति समाचार समाज

अनेरास्ववियुको विस्तारित बैठक आजबाट

भरतपुर । अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक आज आइतबारदेखि भरतपुरमा सुरू हुँदैंछ ।
बैठकको सबै तयारी सकिएको अनेरास्ववियुले शनिबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । भदौ २० गतेसम्म चल्ने बैठकको क्यान्सर अस्पतालको सभाहलमा एमाले पार्टी अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बैठकमा केन्द्रीय कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र राष्ट्रिय परिषद् गरी करिब ४०० विद्यार्थी सहभागी हुँदै छन् । बैठकमा शैक्षिक गुणस्तर र विद्यार्थी आन्दोलनको आगामी कार्यदिशाका बारेमा छलफल गरी निष्कर्ष निकालिने महासचिव एन महरले जानकारी दिए । उनले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनका बारेमा पनि बहस गर्ने बताए ।
सम्मेलनमा सहभागीको जनताको घरमा बास
अखिलको २०६३ असोजमा सम्पन्न १८ औं राष्ट्रिय सम्मेलनको झल्को दिने गरी जनताको घरमा आवासलाई विस्तारित बैठकमा पनि निरन्तरता दिइएको अखिल चितवनका अध्यक्ष देवप्रसाद पाठकले जानकारी दिए । उनले बैठकमा उपस्थित हुने विद्यार्थीलाई भरतपुरका पार्टी नेता कार्यकर्ताको घरमा बेलुकाको खानासहित आवासको व्यवस्था मिलाइएको बताए ।
यस्तै बैठकलाई मर्यादित र व्यवस्थित बनाउन ५१ सदस्यीय स्वयम्सेवक परिचालन गरिने जिल्ला सचिव प्रकाश आचार्यले जानकारी दिए । उनले १५१ सदस्सीय मूल व्यवस्थापनसहित ६ वटा उपसमिति निर्माण गरिएको बताए । बैठकमा सहभागीका लागि राष्ट्रिय चिकित्सक संघ र राष्ट्रिय स्वास्थकर्मी संघ चितवनको सहयोगमा स्वास्थ शिविरसमेत सञ्चालन गरिने आचार्यले बताए ।

Comments

About the author

चितवन पोष्ट