गृह » चितवन कांग्रेसको नियति
विचार

चितवन कांग्रेसको नियति

रमेशकुमार पौडेल
हिन्दी भाषामा एउटा शायरी छ, जुन धेरैले सुनेको हुनुपर्छ । खास गरेर जतिसुकै बलियो अवस्थामा रहे पनि जब आफ्नाहरुले नै घात गर्छन् भने काम बिग्रन कुनै ठूलो कारण चाहिँदैन भन्ने सन्दर्भमा सो शायरी सुनाउनेहरु भारतमा मात्रै नभएर केही मात्रामा नेपालमा पनि छन् । यदि कसैले सुन्दै नसुनेको हुनुहुन्छ भने एकपटक म त्यो पंक्ति यहाँ उल्लेख गर्ने अनुमति माग्छु ।
‘हमे तो अपनो ने लुटा
गैरो मे कहाँ दम था
मेरी कश्ती वहाँ डुबी
जहाँ पानी कम था’
यसको भावार्थ अरुले लुट्न नसक्ने मलाई आफ्नैले लुटे । पानी कम भएकै ठाउँमा डुंगा डुबेको झैँ विडम्बनापूर्ण अवस्था मेरो भयो भन्ने हुन आउँछ । स्थानीय चुनावपछि चितवन कांग्रेसको हालत लगभग यही भएको छ । जिल्लामा बलियो पार्टी मानिएको कांग्रेससँग आज स्थानीय तहका थोरैमात्र प्रमुख र उपप्रमुख छन् । यसो किन भयो भन्दै केलाउँदै जाँदा कांग्रेस नै कारण देखिन्छ ।
सातवटा स्थानीय तह रहेको चितवनमा कांग्रेसका स्थानीय तह प्रमुख एक जनामात्रै छन् । उपप्रमुख दुई जना छन् । कांग्रेसभन्दा कता हो कता कमजोर माओवादी केन्द्रले दुईवटा प्रमुख जित्यो । त्यो पनि एउटा भरतपुर महानगरपालिकाजस्तो मह¤वपूर्ण स्थानीय तहमा र अर्को माडी नगरपालिकामा । एमालेले चार प्रमुख र पाँच उपप्रमुख जित्यो । आन्तरिक बैठकहरुमा स्थानीय तह निर्वाचनको समीक्षा कांग्रेसले कसरी गरेको होला ? यो विषय सार्वजनिक भएको छैन । तर, हारको लेखाजोखाका विषयमा सार्वजनिक कार्यक्रममै असन्तोषहरु प्रकट हुन थालेका छन् ।
‘गिरिजाप्रसाद कोइरालाले भन्नुहुन्थ्यो– कांग्रेसलाई कसैले हराउन सक्दैन, कांग्रेसलाई हराउने भनेको कांग्रेसले नै हो ।’ चितवनको स्थानीय तहमा विजयी जनप्रतिनिधिहरुलाई बधाई दिन र सम्मान गर्न मंगलबार जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा आयोजना भएको कार्यक्रममा चितवन कांग्रेसका कमान्डर अर्थात् जिल्ला सभापति जीतनारायण श्रेष्ठले भने । उनको यो बोलीमै चुनावको समीक्षा व्यक्त भएको छ । जिल्लामा हेर्दा अवस्था लगभग यही हो । अर्थात् कांग्रेस कांग्रेसकै कारणले हा¥यो । कुरा नचपाइ भन्नुपर्दा केन्द्रीय सभापतिको भूमिकाका कारण चितवनमा कांग्रेसले मार खानु परेको हो ।
शेरबहादुर देउवाले जब पार्टी सभापति पद जिते, तब उनी चितवनको कार्यक्रममा सहभागी हुन आएका बेला स्थानीय निकायको चुनाव भएरै छाड्ने र तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए । त्यो बेलामा चितवन कांग्रेसले जिल्ला समन्यव समितिकै हलमा भव्य कार्यक्रम राखेको थियो । कार्यक्रम स्थानीय चुनावकेन्द्रित थियो । कार्यकर्ता परिचालन गर्ने योजना थियो । पार्टी प्रवेश गर्ने मान्छेहरु सो कार्यक्रममा भेला भए । माओवादीका शुभचिन्तक भनेर चिनिने चितवन उद्योग वाणिज्य संघका एक जना उपाध्यक्ष नै पार्टी प्रवेश गरे ।
निर्वाचित प्रतिनिधिहरुको सम्मान कार्यक्रममा जिल्ला सभापति श्रेष्ठले भने– ‘१३ औँ महाधिवेशन सकिएपछि उत्साहका साथ स्थानीय तहको चुनावको तयारीमा लाग्यौँ । अरु पार्टीका मान्छेहरुलाई प्रवेश गराउन थाल्यौँ । सबैभन्दा धेरै माओवादी पार्टीकै मान्छेहरु आए । तर, चुनावमा माओवादीलाई नै मत हाल है भन्नुपर्ने अवस्था आयो ।’ स्थानीय तह निर्वाचनमा सबैले अचम्म मान्ने गरेर भरतपुर महानगरपालिकामा मेयर पद नै छाडेर कांग्रेसले माओवादीसँग चुनावी तालमेल ग¥यो ।
तालमेलको खबरसँगै रूष्ट भएका कांग्रेसहरु अझै पनि सन्तुष्ट भएका रहेनछन् भन्ने भाव सम्मान कार्यक्रममा नेताहरुले बोलेका वाक्यहरुबाट प्रस्ट झल्कन्थ्यो । जब कि, तालमेलअनुरुप भरतपुरमा मेयर तथा उपमेयर पदमा गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । अब लगत्तै संघीय संसद् र प्रदेश सभाको चुनाव हुँदैछ । महानगरमा जस्तै यी चुनावमा पनि कांग्रेस–माओवादी गठबन्धन हुने सम्भावना प्रबल छ । चितवनमा संघीय सांसद्का लागि तीनवटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि छवटा निर्वाचन क्षेत्र कायम भएका छन् ।
निर्वाचन क्षेत्र कायम भएसँगै चुनावमा उठ्न चाहने आकांक्षीहरुको लर्को सुरू हुन्छ । सरकारी घोषणाअनुसार चितवनमा मंसिर २१ मा चुनाव हुँदैछ । चुनाव भनेपछि उठ्न चाहनेहरु कांग्रेसमा प्रशस्तै छन् । अब स्थानीय तहको चुनावी तालमेल कायमै रहने हो भने माओवादीलाई दिने र आफूले राख्ने चुनावी क्षेत्रको पिरलो पनि चितवन कांग्रेसमा थपिएको छ । खास गरेर संघीय संसद्को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै चितवनबाट उठ्ने चर्चा छ । प्रचण्डका लागि सबैभन्दा सुरक्षित निर्वाचन क्षेत्र तीन नम्बर हुनेछ । र, यही तीन नम्बर क्षेत्रमा कांग्रेसका परम्परागत गढ मानिएका इलाकाहरु पनि पर्नेछन् ।
ती इलाकाहरुका मतदाताले पहिलो संविधानसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन सकेनन् । दोस्रो संविधानसभा निर्वाचनमा दुई–दुईपटक मत हाल्नुप¥यो । स्थानीय तह निर्वाचनमा पनि केहीले अर्थात् कांग्रसको गढ मानिएको भरतपुर वडा नं १९ का मतदाताले दुई–दुईपटक मत हाल्नुप¥यो । त्यो पनि आफ्नो पार्टीको उम्मेदवारलाई नभएर पार्टीले समर्थन गरेको माओवादीका उम्मेदवारलाई । दोहो¥याएर मतदान गर्ने अवस्था पनि मतपत्र च्यात्ने घोर आपराधिक कार्य गरेपछि आएको थियो ।
भरतपुरमा गठबन्धन विजयी भएपछि मेयर तथा उपमेयरको जोडी अहिले आफ्नै पार्टीका भन्दा पनि नजिकका झैँ देखिन्छन् । तर, कांग्रेसभित्रको एउटा शक्ति अझै पनि रूष्ट छ । खास गरेर केन्द्रले अचानक फेरि पनि गठबन्धन गरेर आफूहरुलाई पाखा लगाउँछ कि भन्ने आशंकामा छ । चितवन कांग्रेसका प्रभावशाली नेता तथा पार्टीका पूर्वजिल्ला सभापति टेकप्रसाद गुरूङले सोही कार्यक्रममा भने– ‘जनयुद्धका पीडा बोकेका साथीहरुले आँसु चुहाउँदै मत हाले । पार्टीको निर्देशन माने, तर केन्द्रले लादेको निर्णय मतदाताले सधै मान्छन् भन्ने छैन ।’ अर्थात् अब गठबन्धन नहोस् भन्ने चाहना राख्नेहरु कांग्रेसभित्रै छन् ।
पार्टीका पूर्वजिल्ला सभापति तथा हाल चितवन क्षेत्र नं ४ का सांसद् रामकृष्ण घिमिरेले पनि उस्तै बोले । उनले भने– ‘सधैँभरि कार्यकर्ताले सहँदैनन्, बारम्बार यस्तो हुने हो भने पार्टी कमजोर हुन्छ ।’ यी त पाका नेताहरुका कुरा भए, युवानेता जीतनारायण श्रेष्ठको आशय पनि उस्तै थियो भन्ने कुरा उनको भाषणमा झल्कन्थ्यो । चुनाव ताका गठबन्धनको पक्षमा खरो उत्रेका पार्टीका जिल्ला उपसभापति युवानेता कैलाश कोइरालाले पनि उही लयमा लय मिलाउँदै थिए ।
‘१० वर्ष माओवादीको आक्रमणबाट त बाँचियो, तर गठबन्धनको नाममा योपटक उसैलाई मत हालियो । अब फेरि त्यस्तो बाध्यता नहोस् भन्ने धेरैको चाहना छ ।’ स्वागत मन्तव्यकै क्रममा चितवन कांग्रेसका उपसभापति युवानेता कैलाश कोइरालाले भने । अर्थात् युवादेखि पाकासम्म चितवन कांग्रेसका सबै नेताले बडो पीडा र अप्ठ्यारोका साथ स्थानीय तहको चुनावमा गठबन्धनको पक्षमा माहौल खडा गरेका रहेछन् भन्ने बुझ्न गाह्रो भएन । अब फेरि त्यस प्रकारको गठबन्धन नहोस् भन्ने चाहना पनि उनीहरुमा छ । तर, चाहनाले मात्रै हुनेवाला छैन किनकि अहिले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दोस्ती जमेको छ । यस्तो बेलामा संघीय संसद्मा चितवनबाटै उठ्ने चाहना प्रचण्डले राखे भने कांग्रेस–माओवादी गठबन्धन हुन्छ हुन्छ ।
संघीय संसद्का लागि गठबन्धन गर्दा प्रदेशका लागि पनि गर्नैपर्छ । किनकि, दुवै चुनाव एकैपटक गर्ने तयारी छ । र, कांग्रेसका लागि निकै सुरक्षित मानिएको पार्टीको परम्परागत गढका रुपमा रहेका इकाइहरु समेटेर बनेको क्षेत्र नं ३ नै प्रचण्डका लागि भनेर कांग्रेसले भोट माग्नुपर्ने अवस्था आउने छ । सो क्षेत्रका जनताले कहिले सुशील कोइरालालाई जिताए, कहिले रेणु दाहाललाई । अब कांग्रेस भए पनि प्रचण्डलाई मत हाल्ने भए । कांग्रेसका जिल्ला नेताको खबरदारीले यो अवस्था आउनबाट रोक्न सक्छ भन्ने विश्वस्त आधार अहिलेलाई देखिएको छैन । चितवनमा फेरि पनि मन परे पनि र नपरे पनि पार्टीको निर्णय भन्दै कांग्रेसले माओवादीलाई नै भोट हालेको देख्नुपर्ने छ ।
जिल्लाका नेताहरुको बोली सुन्दा केन्द्रीय सभापतिले सत्तास्वार्थका कारण कांग्रेसले चितवनमा माओवादीसँग तालमेल गरेको हो भन्ने बुझ्न गाह्रो हुँदैन । त्यही सत्तास्वार्थले फेरि पनि गठबन्धन हुने अवस्था कायमै देखिएको हो । तर, गठबन्धन नहोस् भन्ने आवाज बलियो छ । स्थानीय चुनावमा गठबन्धनलाई जिताउन भरतपुरकेन्द्रित भएका कारण अरु ठाउँमा जित्न सकिएन भन्ने आशय जीतनारायण श्रेष्ठले व्यक्त गरेका छन् । अब पनि कांग्रेसको गढ मानिएको क्षेत्रमा प्रचण्ड उठ्न आए उनलाई जिताउन कांग्रेसले सबै ताकत लगाउनु पर्ने होला । यस्तो भएमा स्थानीय तहकै अवस्था दोहोरिन सक्ने खतरा छ । अर्थात् माथि सुरूवातमा भनिएको हिन्दी शायरीको नियति भोग्न कांग्रेस बाध्य हुने अवस्था छ ।

Comments

About the author

चितवन पोष्ट