गृह » सरकार हचुवामा चलेको छ : नेता नेपाल
राजनीति समाचार समाज

सरकार हचुवामा चलेको छ : नेता नेपाल

रत्ननगर । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार हचुवाको भरमा चलेको आरोप लगाएका छन् ।
रत्ननगरमा शुक्रबार आयोजित नेपाल दूरसञ्चार कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारको कुनै पनि काम परिपक्क नभएको बताए ।
वर्तमान सरकारको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै नेता नेपालले सरकारको काम एजेण्डा विमुख रहेको बताए । उनले सरकारले जनमुखी काम गर्न नसकेको आरोप लगाए ।
‘सरकार हचुवाको भरमा चलेको छ’ उनले भने, ‘यो सरकार एजेण्डाविहीन छ । सरकारले केन्द्रीय र प्रदेश सभाको निर्वाचन मंसिर १० गते तोक्यो । एकै चरणमा निर्वाचन हुने भयो भनेर हामीले पनि स्वागत ग¥यौँ । तर, फेरि सरकारले हचुवाकै भरमा मंसिर २१ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेर केटाकेटीपन देखाएको छ ।’
नेता नेपालले पटक–पटक मिति सार्ने सरकारको कार्यशैलीले निर्वाचन हुने हो या नहुने हो भन्नेमा आशंका पैदा गरेको बताए । दोस्रो र तेस्रो चरणमा निर्वाचन गर्ने परिपाटी गलत भएको उनको भनाइ छ ।
‘हाम्रो देशमा एकै चरणमा निर्वाचन गर्न सकिन्छ’ उनले भने, ‘चरणवद्ध निर्वाचन गर्दा गरिमा घटन जान्छ ।’ नेता नेपालले सरकारले आफ्नो जिम्मेवारीलाई बिर्सिएर कम मह¤वका कामहरुलाई प्राथमिकता दिएको आरोप लगाए ।
‘कर्मचारी, नियुक्ति, सरुवा, बढुवामै सरकारकेन्द्रित भयो’ उनले भने, ‘यस्तो पाराले देश चलाउन सकिन्छ ?’ उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रनिर्माणका लागि अन्य देशमा भएका प्रयासलाई अध्ययन गरेर अगाडि बढन सुझाव दिए ।
‘अब परिणाममुखी काम गर्ने बेला आएको छ’, नेता नेपालले भने, ‘प्रधानमन्त्रीको ध्यान त्यता जानुपर्छ ।’ विकासको समग्र पक्षलाई आत्मसात् गरी राष्ट्रनिर्माणमा जुट्नुपर्ने बेला आएको उनको भनाइ छ । उनले देशको सिंगो एजेण्डामा दलहरु एकजुट हुनुपर्ने बताए ।
नेता नेपालले नेपाल टेलिकमलाई राजनीतिबाट मुक्त राख्नुपर्ने बताए । ‘टेलिकममा राजनीति हाबी भयो’ उनले भने, ‘सोही कारणले टेलिकमले लक्ष्य प्राप्ति गर्न सकेको छैन ।’
उनले राजनीति छाडेर संस्थाको कार्यशैलीलाई प्रभावकारी, प्रतिस्पर्धामुखी बनाउन कर्मचारीलाई आग्रह गरे । टेलिकम देशकै विकासको अभिन्न अङ्ग रहेको भन्दै नेता नेपालले कर्मचारीका कारण यो घाटामा जान नहुने तर्क गरे । अहिले नेपालमा वार्षिक आठ लाख पर्यटक आइरहेको भन्दै नेता नेपालले एक करोड पर्यटक भित्र्याउने गरी सरकारले योजना बनाउनु पर्ने बताए । उनले भने– ‘हामीसँग पोखरा, लुम्बिनी, चितवन, रारा ताल छन्, हामीकहाँ जति पनि पर्यटक आउँछन् तर खै योजना ?’
कार्यक्रममा कर्मचारी संघ नेपालका केन्द्रीय अध्यक्ष दामोदर केसी, नेपाल टेलिकम कर्मचारी युनियन अध्यक्ष राजकुमार मेहता, नेपाल टेलिकम ब्रोडकाष्ट युनियनका अध्यक्ष राजेन्द्र दाहाल, नेपाल दूरसञ्चार कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष राजकिशार चौधरी, संघका सल्लाहकार अशोक कर्णलगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । परिषद् भेलामा टेलिकमले प्रदान गर्ने सेवालाई कसरी प्रभावकारी बनाउने र संघको विधान संशोधन गर्ने छ । भेलामा २५० पार्सद् र २५० अतिथि र अन्य व्यक्तिहरुको सहभागिता रहेको छ ।

 

Comments

About the author

चितवन पोष्ट