गृह » अरुको अस्तित्व स्वीकार नगर्दा निर्वाचनमा हिंसा
राजनीति समाचार समाज

अरुको अस्तित्व स्वीकार नगर्दा निर्वाचनमा हिंसा

भरतपुर । सरकार चयनका लागि मतदाताले भयरहित वातावरणमा चुनावमा मतदान गर्ने कामलाई प्रभावित पार्ने तत्वहरु लोकतन्त्रका हिमायती नभएको शुक्रबार भरतपुरमा आयोजित कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
आफूभन्दा अर्कोले चुनाव जिते मेरो अस्तित्व रहँदैन भन्ने सोचले निर्वाचनलाई प्रभावित पार्ने नाजायज काम हुने वक्ताहरुको भनाइ थियो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले सञ्चालन गरेको सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम (एससीडीपी)ले निर्वाचनका सन्दर्भमा हुने हिंसाका विषयमा कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रमका सहभागीहरुले निर्वाचन पूर्व र मतदानका बेलामा मात्रै नभएर मतगणनाका बेलामा पनि निर्वाचनविरोधी काम हुने बताए ।
‘मतगणना हुँदै गर्दा भरतपुरमा जुन तरिकाले मतपत्र च्यातियो यो त निर्वाचनविरोधी हदैसम्मको अपराध थियो । तर, त्यसमा संलग्नहरुलाई निरुत्साहित गर्नभन्दा हौसला थप्न मिल्ने काम भएको छ । हामी मतदानमा धाँधली हुन्छ कि भनेर सजग हुन्छौँ यहाँ गणनामा भयो’ राष्ट्रिय जनमोर्चाका डम्बर पुरीले भने । उनले पैसा हुनेले मात्रै पार्टीबाट टिकट पाउने अवस्था तयार हुँदै गएको बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्थानीय निर्वाचनका क्रममा यो पटक प्रचारका क्रममा, मतदानमा र अन्य अभियानका बेलामा हिंसा र झडपका घटनाहरु नभएको बताए । मतगणना स्थलका विषयमा भने संवेदनशील हुनुपर्ने रहेछ भन्ने पाठ भरतपुरको घटनाले सिकाएको उनले बताए ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको बताए । समय अभाव भएका कारण त्यस्तो हुन गएको उनको भनाइ छ । मतदाता शिक्षाका प्रशिक्षकहरु पनि उपयुक्त हुन नसकेको उनले बताए । यसका साथै चितवनका केही मतदान स्थलमा मतदातालाई प्रभावित पार्ने घटनाहरु भएको उनले बताए ।
‘म, भरतपुर महानगरका कार्यकारी अधिकृत र भरतपुर अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट भएर पूर्वी चितवनको एउटा स्कुलमा गएका थियौँ । त्यहाँ केही व्यक्तिहरुले मतदाताहरुलाई रोक्ने छेक्ने गरेको देख्यौँ । अनुगमनमा गएका परिचयपत्र भिरेका हामी सरकारी अधिकारीहरुलाई पनि रोक्न खोजपछि उनीहरुविरुद्ध एक्सन लिनुपरेको थियो’ स्थानीय विकास अधिकारी सुवेदीले भने ।
यसका साथै कुनै मतदान केन्द्रमा मतपत्रमा छाप लगाएको अरुले पनि देख्ने गरेर राखेको र कुनैमा मतदान अधिकृतले देख्न मिल्नेसमेत गराएर राखेकोमा आफूहरुले त्यसलाई हटाएको सुवेदीले जानकारी दिए ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मतदाता शिक्षा गाउँमा भन्दा सहरकालाई बढी आवश्यक भएको बताए ।
‘चेपाङ बहुल शक्तिखोर क्षेत्रका वडामा जम्मा छ मत बदर भएको छ । महानगरमा त कति हो कति ! त्यसैले मतदाता शिक्षा सहरी क्षेत्रमा झनै आवश्यक देखियो’ श्रेष्ठले भने ।
एमालेकी सूर्यवदना हमालले पनि पैसा हुनेमात्रै उम्मेदवार हुने परिपाटी बसेको बताइन् ।
युएनडीपीको एससीडीपी कार्यक्रम संयोजक इन्दिरा आले मगरले नेपालमा मात्रै नभएर निर्वाचनविरोधी हर्कत अन्य देशहरुमा पनि हुने तर त्यसलाई सचेत वर्गको खबरदारीले सुधार्न सकिने बताइन् । बंगलादेशको उदाहरण दिँदै उनले निर्वाचनलाई प्रजातान्त्रिक परिपाटीको प्रक्रिया हो भन्ने स्वीकार नगर्दा चुनावमा धाँधली र हिंसाको घटनाहरु हुने बताइन् ।
‘जनताको मन जसले जित्छ, जनमुखी काम जसले राम्रो गर्छ निर्वाचनमार्फत् ऊ सत्तामा आउने हो । तर, एकपटक सत्तामा गएपछि अर्को पटकदेखि जसरी हुन्छ सत्तामा नै बसिरहन चाहने परिपाटी र एकपटक निर्वाचन हारे भने मेरो पत्तासाफ हुन्छ भन्ने चिन्तनले जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यताको विकास हुन्छ’ संयोजक आलेले भनिन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले मतदान प्रतिशत बढाउने र मत बदर हुने संख्या घटाउने उद्देश्यले कार्यालयले काम गर्दै आएको बताए । उनले खर्चलाई नियन्त्रण गर्न उम्मेदवारहरुले खर्च विवरण पेश गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि स्थानीय तहमा उठेका चितवनका २२ सयभन्दा बढी उम्मेदवारमध्ये नौ सयले मात्रै विवरण बुझाएको बताए ।

Comments

About the author

चितवन पोष्ट