गृह » पर्यटक झुक्याउँदै कालो नम्बर प्लेटका सवारी साधन
समाचार समाज

पर्यटक झुक्याउँदै कालो नम्बर प्लेटका सवारी साधन

–वसन्त पराजुली
भरतपुर । “कालो प्लेटको सवारीसाधनले टुरिष्ट किन लेख्ने ? हरियो प्लेटले होला नि पर्यटक बोक्ने । जथाभावी सवारीसाधनमा टुरिष्ट लेख्दा धेरै विदेशी पर्यटकले दुःख पाइरहेका छन्”, क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरले आफ्नो फेसबुक वालमा यो स्टाटस राखेसँगै अहिले चितवनमा कालो प्लेटको भाडाका बसले टुरिष्ट बस लेख्न पाउने कि नपाउने भन्ने बहस चलेकोे छ ।
अध्यक्ष घिमिरेले त आफ्नो फेसबुक वालमा यस्ता सवारीसाधनलाई पर्यटन विभाग, यातायात विभाग र ट्राफिक प्रहरीले कारबाही गर्नुपर्ने माग राख्छन् ।
निश्चय नै पछिल्लो समय कालो प्लेटका भाडाका सवारीसाधनले पनि जथाभावी टुरिष्ट लेखेका भेटिन्छन् । पर्यटकलाई बोक्ने बस पर्यटक बस हो । यसका लागि हरियो प्लेट नम्बरको हुन्छ भन्ने मान्यता रहिआएको छ । तर, अहिले कालो प्लेटमा रहेका भाडाका सवारीसाधनले पनि जथाभावी टुरिष्ट लेखेर पर्यटक बोकिरहेका छन् । तर, यसको अनुगमन गर्न सरोकारवाला निकायहरु असफल भइरहेका छन् ।
“कालो प्लेटमा टुरिष्ट लेखेर भाडामा चलाउने सवारीसाधनको अनुगमन गरेर कारबाही गर्नुपर्छ”, छहारी यातायात व्यवसायी समितिका अध्यक्ष बद्री पौडेलले भने, “अहिले जथाभावी रुपमा कालो प्लेट नम्बरका भाडाका सवारीसाधनले पर्यटक लेख्ने प्रचलन बढेर गएको छ, यो गलत हो ।” यसले विशेष त वाह्य पर्यटकलाई झुक्याउने उनको बुझाइ छ ।
कति कालो प्लेटका सवारीसाधनमा टुरिष्ट लेखिएका छन् भन्ने यकिन तथ्यांक कतै भेटिँदैन । तर, अहिले यो समस्या जटिल बन्दै गइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्त पनि कालो प्लेटका भाडाका सवारीसाधनमा टुरिष्ट लेखिएका सम्बन्धमा त्यति अनुगमन गर्न नसकिएको स्विकार्छन् ।
“यसमा हाम्रो पनि त्यति ध्यान पुग्न सकेको छैन”, उनले भने । पर्यटकका लागि सञ्चालनमा ल्याइने बस हरियो प्लेटकै हो । यसमा अन्य सवारी साधनमा भन्दा बढी सुविधाहरु पनि व्यवस्था गरिएको हुन्छ ।
चितवनमा अहिले १ लाख ३८ हजार सवारीसाधन रहेको ट्राफिक प्रहरीको भनाइ छ । यसमध्ये झण्डै एक लाख नियमित सञ्चालनमा छन् । यसरी सञ्चालनमा आउनेमध्ये ६० हजार मोटरसाइकल हुन् भने ७१ हजार निजी तथा संस्थागत सवारीसाधन छन् । अब बाँकी रहेका ७ हजार भाडाका सवारीसाधन अहिले चितवनमा दैनिक गुडिरहेका छन् । चितवन हुँदै लामो दूरीमा गुड्ने सवारीसाधनको संख्या अझै बढी छ । यसरी गुड्ने भाडाका सवारीसाधन त्यसमा पनि बसहरुले आफ्नो अगाडि टुरिष्ट लेख्न रुचाउँछन् ।
यसो भएमा यात्रुलाई आकर्षण गर्न सकिन्छ भन्ने उद्देश्य हो । पर्यटकीय क्षेत्र सौराहादेखि काठमाडौँसम्म अहिले १४ वटा पर्यटक बस चल्छन् । यसमध्ये ११ वटा हरियो प्लेटका हुन् भने ३ वटा कालो प्लेटका । यसबाहेक मेघौली, जगतपुरलगायतका पर्यटकीय क्षेत्रबाट पनि बस चल्छन् । यी सबै कालो प्लेटका हुन् ।
यातायात व्यवस्था विभाग, साना ठूला यातायात कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारी कालो प्लेट हुँदैमा टुरिष्ट लेख्न नपाइने भन्ने नभएको तर त्यसका लागि पर्यटन विभाग वा कम्पनी रजिष्टारको कार्यालयमा टुरिष्ट सेवासम्बन्धी यातायात सुविधा लिनुपर्ने बताउँछन् ।
“कालो प्लेटका सवारीसाधनले टुरिष्ट सेवा लेख्न नै नपाउने भन्ने होइन, तर त्यसले टुरिष्ट लेख्ने अनुमति भने लिनुपर्ने हुन्छ”, प्रमुख अधिकारीले भने, “यसको अनुगमन गर्ने काम पर्यटन मन्त्रालय वा कम्पनी रजिष्टार कार्यालयको हो ।”
अहिले सवारीसाधनमा लागू गर्न लागिएको ईम्बोस्ड प्रणालीको नम्बर प्लेटले पनि हरियो र कालो प्लेट भन्ने विवाद हटेर जाने उनको तर्क छ ।
“कालो र हरियो दुवै भाडाका सवारीसाधन हुन् । तर, अब पर्यटक बोक्ने सवारीसाधनले पर्यटक नै बोक्ने हो भनेर अनुमति लिनुपर्छ” उनको स्पष्ट भनाइ छ, “टुरिष्ट बोक्ने अनुमति नलिएका बसले टुरिष्ट लेखेर ढाँट्न र ठगी गर्न पाइँदैन ।”
पर्यटकीय क्षेत्रको आवश्यकताका लागि हरियो स्टिकर राख्ने सवारीसाधन खरिदका लागि पर्यटन विभागको स्वीकृति आवश्यक पर्छ । तर, हरियो स्टिकर भएका सवारीसाधनको दर्ता सिफारिस आफूहरुले गरे पनि त्यसको अनुगमन भने पर्यटन विभागले गर्न नसक्ने विभागका उपसचिव कृष्णप्रसाद लम्सालले बताए । उनी भन्छन्, “सवारीसाधन खरिद अनुमतिका लागि हामीले सिफारिस दिने हो अरु सवारीसाधनको अनुगमन गर्ने काम यातायात व्यवस्था विभागकै हो ।”

Comments

About the author

चितवन पोष्ट