गृह » जातीय स्मृति
विचार साहित्य

जातीय स्मृति

–रामबाबु घिमिरे
स्मृति भनेको विगतको विचरण हो, सिंहावलोकन भनेजस्तै पनि । कसैको पनि विगतबिनाको वर्तमान हुँदैन । इतिहास भनेको पनि विगत हो, विगतको अभिलेख हो । तर, इतिहास लेखन परम्परा शासककेन्द्रित हुनाले इतिहासबाट जातीय समूहको खासै जानकारी पाइन्न । त्यतिमात्र होइन, भनिन्छ नि इतिहासले विजेताको मात्र यशोगान गर्छ ।
विश्वमा धेरै जातीय समूह छन् र ती प्रत्येकको प्रारम्भदेखि वर्तमानसम्मको इतिहास छ, तर धेरैजसो जातीय समूहको इतिहास खोजमेल भएको छैन । मलाई मेरो आफ्नै जातीय समूहको इतिहासको पनि खासै जानकारी छैन । मलाई थाहा नहुनु एउटा कुरा र जातीय समूहको इतिहास हुनु अर्को कुरा । थाहा भएन भन्दैमा थिएन भन्न मिल्दैन । जातीयता भनेको साझा सांस्कृतिक चेतनामा आबद्ध समूह हो । जातीयताको निर्माण आकस्मिक रुपमा हुने होइन, हजारौँ वर्षको साझा विगतबाट जातीयताको निर्माण हुन्छ । जातीय संस्कृतिले नै जातीय समूहलाई ऐक्यबद्ध बनाउँछ । विश्वमा साना–ठूला हजारौँ जातीय समूह छन् । कुनै जातीय समूह धेरै ठूला छन् भने कुनै जातीय समूहको संख्या अति न्यून पनि छ । केही जातीय समूह लोप भैसके भने केही लोप हुने क्रममा छन् । धेरैजसो जातीय समूह सांस्कृतिक चेतना सम्पन्न छन् भने केही जातीय समूह अझै पनि आदिम अवस्थामा नै छन् । एउटै देशमा धेरै जातीय समूह पनि छन् र केही जातीय समूह एकभन्दा बढी देशमा फैलिएका पनि छन् । विश्वमा जति पनि जातीय समूह छन्, ती प्रत्येकका निर्माणको आआफ्नै इतिहास छ । मैले पूर्वउल्लेख गरिसकेको छु, जातीय इतिहासको बारेमा हामीलाई खासै जानकारी छैन । यस प्रसंगमा हामीलाई भन्नुभन्दा मलाई भन्नु उचित ठान्छु, किनकि जातीय इतिहासका बारेमा मेरो अध्ययन अति न्यून छ । हाम्रो औपचारिक शिक्षामा त्यसप्रति चासो राखिएको पाइन्न ।
बहुजातीयता हाम्रो देशको विशेषता हो । बहुजातीय मुलुक बहुसांस्कृतिक त हुने नै भयो । बहुजातीयताको समष्टिबाट नेपाली जातीयता निर्मित भएको छ । हाम्रो देशका सारा जातीय समूहहरु कुनै साना र कुनै ठूला छन् । धेरैजसो जातीय समूह संस्कृतिसम्पन्न छन् भने केही जातीय समूहमा परम्परा त छ, तर त्यसले सांस्कृतिक स्वरुप लिइसकेको छैन । परम्परा र संस्कृतिमा के अन्तर छ भने परम्परा प्रशोधित हुँदै संस्कृति बन्छ । परम्परा रुढ हुन्छ भने संस्कृति समयानुकूल र जीवनमुखी बन्दै जान्छ । अनुपयोगी त्याज्य र प्रतिकूल परम्परालाई जातीय समूहले बिस्तारै परित्याग गर्छ । चेतनाको स्तर कम भएका केही जातीय समूहमा अझै पनि कतिपय त्याज्य परम्परा प्रचलनमा छन् ।
जातीयताका बारेमा लेख्दा यसको निर्माणको आधार र इतिहास खोज्नुपर्ने हो, तर अनुसन्धानमा मेरो रूचि र क्षमता दुवैको अभाव छ । मैले शीर्षककेन्द्रित हुनका लागिमात्र जातीयताका बारेमा दुई–चार कुरा गरेको हुँ । शीर्षक चयन भैसकेको छ । केही लेखक लेख लेखेपछि मात्र शीर्षक चयन गर्छन् । म त्यसो गर्दिनँ, किनकि शीर्षक चयनपश्चात् विषयकेन्द्रित हुन सहज हुन्छ । शीर्षकबाट तपाईंलाई ज्ञात भयो, म जातीय स्मृतिका बारेमा लेख्दै छु । विषयको प्रारम्भ परिभाषाबाट गर्न सजिलो हुन्छ । जातीय स्मृति भनेको जातीय समूहको सामूहिक स्मृति हो । मलाई मेरो औपचारिक शिक्षाले परिभाषामुखी बनाएको छ । विनिर्माणवादले अनुपस्थितिमा उपस्थिति भनेजस्तै परिभाषित गरेपछि परिभाषामा अनुपस्थित कुरा खोज्न सजिलो हुन्छ । केही लेखकहरु शीर्षक शब्दको व्युत्पत्तिबाट लेखको सुरू गर्छन् । यो अलि पुरानो चलन हो । हाम्रोमा संस्कृतज्ञ विद्वान्हरुमा यो प्रवृत्ति अलि बढी नै पाइन्छ । म पनि त्यसै गर्दो हुँ तर म संस्कृत शिक्षाबाट वञ्चित रहेँ, जसले गर्दा पूर्वीय वाङ्मयमा मेरो प्रवेश नै हुन सकेन । जे होस्, नेपाली भाषाको विकास संस्कृत भाषाबाट भएकोले वेद, उपनिषद्, रामायण, महाभारत, भागवत् आदि मेरा पैतृक ग्रन्थ हुन् । जातीयताको स्रोत पनि पैतृक नै हुन्छ ।
अब अलिकता जातीयता निर्माणका कुरा गरौँ । यसबारे मौनता नै उचित थियो तर प्रसंग चलिहाल्थ्यो । जातीयताको मुख्य आधार पुख्र्यौली हो । मेरै कुरा गर्ने हो भने म आर्य पुर्खाको सन्तान हुँ र आजसम्म चलनचल्तीमा रहेका मेरा पहिलो पुर्खा कश्यप ऋषि हुन् । जातीयताको आयतन सानोबाट क्रमशः ठूलो हुँदै जान्छ । सानो आयतनको कुरा गर्दा म कश्यप गोत्रीय समूहमा पर्छु भने व्यापक रुपमा भन्ने हो भने म आर्य वंशज हुँ । अझ मूल कुरा त मेरो जातीयता नेपाली हो । उहिले उहिले हामीलाई वीर गोर्खाली पनि भन्ने गर्थे । घिमिरे वंशावलीमा मेरो नाम फेला पार्नु हुने छ । वंशावली भनेको जहाँसम्म पुग्न सकिन्छ त्यहाँसम्मका पुर्खाको खोजी हो । आजकल वंशावली लेख्ने चलन अलि बढी नै चलेको छ । औपचारिक कागजात र धार्मिक कार्यमा तीन पुस्ते चाहिन्छ । वंशावली भनेको पनि जातीय परिचयको एउटा आधार हो । कसैलाई लाग्न सक्छ, जातजातिको धेरै कुरा गरियो भने राष्ट्रियता कमजोर हुन्छ तर त्यसो होइन । सबै जातजातिको जातीय स्वाभिमान उठाउन सकेमात्र राष्ट्र बलियो हुन्छ । कुनै जातीय समूह कुष्ठाग्रस्त भयो भने राष्ट्रियता कमजोर हुन्छ । पहिचानको मुद्दा भनेको मूलतः आफ्नो जातीय संस्कृतिलाई बृहद् राष्ट्रिय संस्कृतिमा सामेल गराउने चाहना हो ।
महाकवि देवकोटाले भनेजस्तै मलाई पनि प्राचीन संसारको कथा मीठो लाग्छ । प्राचीन संसारका प्रिय कथाहरु जातीय स्मृतिका आधार हुन् । म जे लेख्दै छु यस विषयमा मभन्दा तपाईं नै बढी विज्ञ हुनुहुन्छ । पाठकभन्दा लेखक विज्ञ हुन्छ भन्ने जमाना गयो । मैले पनि धेरै विषयमा रूचि राखेँ, तर कुनै पनि विषयमा मेरो पहुँच भएन । एकताका झारफुकमा पनि रूचि राख्थेँ । वनझाँक्रीबाट प्रशिक्षित हुँ भन्ने चेपाङ झाँक्री मेरा गुरू थिए । चेतनाको अभावमा केही जातीय समूहमा अनौठा अनौठा प्रचलन पाइन्छ । म भन्दै थिएँ, मभन्दा पाठक बढी विज्ञ छन् । तसर्थ, मेरा रचना पाठकको पाठशालामा बुझाएको पाठजस्तो हुन्छ ।
जातीय स्मृति भनेको जातीय समूहको सामूहिक स्मृति हो, जुन हजारौँ वर्षको समयक्रमबाट सञ्चित हुन्छ । कालक्रममा कतिपय स्मृति लोप हुन्छन् भने नयाँ थपिँदै पनि जान्छ । विकसित जातीय समूहले जातीय स्मृति सञ्चयनका विविध माध्यम प्रयोग गर्छन् । झन् विचार गर्दा सभ्यता र संस्कृति उस्तै उस्तै लाग्छ, तर सभ्यता मूलतः सम्पन्नतासँग जोडिएको हुन्छ र वस्तुगत हुन्छ । तर, संस्कृति भावनाप्रधान हुन्छ । अँ म भन्दै थिएँ, विकसित जातीय समूहले जातीय स्मृति सञ्चयनका विविध माध्यम प्रयोग गर्छन् । पुराण, इतिहास, लोकसाहित्य, साहित्य, पाठ्यपुस्तक, वंशावली, किंवदन्ती, जनश्रुति आदिमा जातीय स्मृति फेला पारिन्छ । भाषण प्रवचनबाट पनि जातीय स्मृति ताजा बनाइन्छ । स्मृति भन्नासाथ अतीतसँग सम्बन्धित हुने नै भयो । त्यसैले स्मृति भन्नु अतीतको स्मरण हो । व्यक्ति स्मृतिमा जातीय स्मृति पनि हुन्छ, किनकि व्यक्ति भनेको जातीय समूहको इकाइ हो । व्यक्ति स्मृति व्यक्तिको अवसानपछि समाप्त हुन्छ, तर जातीय स्मृति त्यो जातिको अस्तित्व रहेसम्म रहिरहन्छ । कुनै जातीय स्मृतिको प्रभाव अर्को जातीय समूहमा पनि पर्न सक्छ । सांस्कृतिक अन्तरघुलनबाट त्यस्तो प्रभाव पर्छ । व्यक्तिगत स्मृति पनि स्मरण वा जीवनीका रुपमा अभिव्यक्त छ भने त्यो दीर्घकालीन हुन्छ, तर त्यो व्यक्तिले जातीय जीवनमा व्यापक प्रभाव पारेको हुनुपर्छ ।
जातीयता निर्मितिको पुख्र्यौलीपछिको आधार भूगोल हो । भूगोल भन्नाले निश्चित भूभाग मात्र नभई त्यहाँको पर्यावरण पनि सम्झनुपर्छ । पर्यावरणको प्रभाव पशुपक्षी, जनावर र वनस्पतिमा जस्तै मान्छेमा पनि पर्छ । सांस्कृतिक चेतना र रहनसहन, खानपिन आदि इत्यादि धेरै कुरामा पर्यावरणको प्रत्यक्ष प्रभाव पाइन्छ । साझा भूगोलले कतिपय परम्परा र सांस्कृतिक धारणामा एकरुपता ल्याउँछ । कुनै निश्चित भूगोलमा एउटा मात्र जातीय समूह बसेका हुँदैनन् । त्यस भूगोलमा रहेका प्रत्येक जातिको केही आफ्ना जातीय संस्कृति हुन्छ भने केही साझा संस्कृति हुन्छ । त्यो निश्चित भूगोल राजनीतिक रुपमा एउटै सूत्रमा आबद्ध छ भने सबै जातजातिको सांस्कृतिक सम्मिलनबाट राष्ट्रिय संस्कृतिको निर्माण हुन्छ । विभिन्न कारणले पैतृक भूगोलबाट टाढा पुगेका जातीय समूहका व्यक्तिहरु पनि एकापसमा आबद्ध हुन्छन् । त्यो आबद्धताको प्रेरक त¤व जातीय संस्कृति बन्छ । नेपालबाट अन्य मुलुकमा रैथाने भई बसेका नेपाली मूलमा जातीय समूहको र हाम्रो केही जातीय स्मृति समान छन् । त्यसको कारण पुख्र्यौली एउटै हुनु हो । मेरो जातीय स्मृति भनेको नेपाली हुनुको स्मृति हो । मेरो जातीय स्मृति मेरो पुख्र्यौली र नेपालको भू–सांस्कृतिक परिवेशबाट निर्माण भएको छ । मेरो पुख्र्यौली थलो मैले जीवनयापन गरेको भू–सांस्कृतिक परिवेश म प्रशिक्षित संस्कार र संस्कृति नेपालसँग आबद्ध भएकोले मेरो व्यक्तिगत स्मृतिमा पनि त्यसको गहन प्रभाव छ । आजपर्यन्त मेरो भौतिक र मानसिक पर्यावरण नेपाल नै हो । म नेपालमा मेरो जीवनमा घटेका घटनाबाट मात्र होइन, त्यसपूर्वका घटनाबाट समेत प्रभावित छु । जातीय जीवनमा घटेका घटनाबाट कोही पनि अप्रभावित रहँदैन । सिद्धार्थ गौतमले गृह परित्याग गरेको घटनाको पनि ममा प्रभाव परेको हुनसक्छ ।
मैले उल्लेख गरिसकेको छु, जातीय स्मृतिको आयतन क्रमशः सानोबाट ठूलो हुँदै जान्छ । जस्तो कि, मेरो जातीय स्मृति आर्य वंशज हुनुबाट प्रारम्भ भएको छ । नेपालको पर्यावरण र बहुजातीय संस्कृतिको सम्मिलनबाट जुन नेपाली जातीयता बनेको छ, त्यो नै मेरो जातीय स्मृति हो । केही सन्दर्भमा जातीय स्मृतिमा परिधि राष्ट्रको सीमाभन्दा पर पनि पुग्छ । जस्तो कि, आफूलाई हिन्दुधर्मी ठान्दा विश्वका हिन्दु तीर्थस्थलको सम्झना हुन्छ र तीर्थाटनको चाहना उब्जन्छ । त्यस्तै, विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरुको पीडाबाट म आफैँ पीडित भएको अनुभव गर्छु । बर्माबाट नेपालीहरु लखेटिएको सम्झेपछि आफैँ लखेटिएँ झैँ लाग्छ । त्यस्तै, गोर्खाली सेनाको वीरता सुन्दा म आफैँ पनि बहादुर नै पो छु कि झैँ लाग्छ । जातीय समूह निर्माणको मूल आधार पुर्खा र पुख्र्यौली थलो हो, तर तीबाहेक पनि केही कुरा छन् जसले जातीय स्मृतिमा प्रभाव पार्छ । जस्तो कि, नेपालीहरु बिस्तारै बिस्तारै ग्लोवलाइज्ड हुँदैछन् । विश्वका विभिन्न मुलुकमा गएका नेपालीहरु नेपाली संस्कृति बोकेर गएका छन् । ठाउ“ठाउ“मा ससाना डायस्पोरा निर्माण गरेका छन् । भानु जयन्ती मनाउँछन् । जातीय चाडपर्व मनाउँछन् । नेपाली भाषासाहित्यको आराधना गरेका छन् । ती सबै कुराको प्रेरक स्रोत जातीय स्मृति हो ।
अहिले ग्लोवलाइजेसनको प्रक्रिया तीव्र बनेको छ । ग्लोवलाइजेसनले स्थानीय संस्कृतिमा सकारात्मक वा नकारात्मक जस्तो प्रभाव पारे पनि त्यो प्रक्रिया तीव्रतर हु“दै जाने निश्चित छ । विज्ञान र प्रविधिले घरको सानो कोठामा बसेर विश्व नियाल्ने अवसर प्रदान गरेको छ । अबको मानव सभ्यता समग्र विश्वको परिचायक बन्दैछ । अब विकसित हुने जातीय संस्कृतिमा विश्व संस्कृतिको उल्लेख्य प्रभाव पर्नेछ । तर, जातीय स्मृति भने भेटिने छैन । किनकि, पुर्खा र पुख्र्यौली थलोप्रतिको मोह मानवीय चरित्र हो ।

Comments

About the author

चितवन पोष्ट