गृह » साधिकार आलेखनको उत्कृष्ट कृति : प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा.डा. वेणीमाधव ढकाल 
विचार साहित्य

साधिकार आलेखनको उत्कृष्ट कृति : प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा.डा. वेणीमाधव ढकाल 

प्रा. कपिल अज्ञात

सबै मानिसमा कवि हुने सामथ्र्य हुँदैन । कवि वा लेखक हुनु सौभाग्यको कुरा हो । कविमा पनि स्रष्टा र द्रष्टा दुवै गुणले युक्त हुनु सुन्दर कुरा हो । यस्तो गुण भएका कविलाई राजशेखरले कारयित्री र भवयित्री दुवै प्रतिभाले सम्पन्न कवि मानेका छन् । हुन पनि सुन्दर रचना गर्न सक्ने र सुन्दर रचनाको पनि सुन्दर समीक्षा गर्न सक्ने लेखक समाजमा दुर्लभ हुन्छन् । यस्ता दुर्लभ व्यक्तित्वमध्ये प्रा.डा. नारायणप्रसाद खनाल एक हुन् ।
हालै प्रा.डा. खनालको ‘प्रज्ञाद्योतित संस्कृतमनीषी प्रा.डा. वेणीमाधव ढकाल’ (२०७४) नामक बृहद्ग्रन्थ प्रकाशित भएको छ । बृहद् आकारमा ४५३ पृष्ठमा २९५ पृष्ठमा लेखकीय अन्तश्चक्षुको गहन विवेचनात्मक दृष्टिको भारी मिहिनेत परेको देखिन्छ । यति ठूलो व्यापक र विस्तृत विश्लेषणात्मक ग्रन्थको विशेषता र महŒवको आँकलन कसरी गर्ने भन्ने समस्या मेरासामु प्रस्तुत छ । फेरि यो सरल प्रकृतिको समीक्षात्मक लेखन होइन, मौलिक, अनूदित, हिन्दी–संस्कृत–नेपाली भाषा निबद्ध निबन्ध, काव्य–महाकाव्य आदि विविध विधाका गहन कृतिको गम्भीर विश्लेषण गरिएको प्रबन्ध लेखन पनि हो । साङ्गोपांग ग्रन्थको स्वरुप र व्याख्या विश्लेषण महनीय स्थिति हेर्दा एक विषयमा विद्यावारिधि गरिसकेका प्रा.डा. खनालको यो महाविद्यावारिधि हो, अर्थात् पिएचडीपछिको डि.लिट. हो । केही दिन केही महिनाले यो सम्भव हुने कार्य नभएर वर्षौंवर्षको अनवरत मिहिनेतको महान् उपलब्धि हो । यो प्रा.डा. खनालकै जीवनको महान् यज्ञ भने हुन्छ, जो स्वयं कार्यं वा साधयेयम् देहं वा पातपेयम्को दृढ अठोटका साथ कर्ता भएर प्रा.डा. वेणीमाधव ढकाललाई यजमान बनाई यति ठूलो यज्ञ सम्पन्न गरेका छन् । यो उनकै जीवनको मात्र नभएर नेपाली साहित्यकै पनि विशेष उपलब्धि हो ।
यस्तो मानक ग्रन्थको निर्माण हुनु महान् संयोगको पनि परिणाम हो । हिन्दी, संस्कृत र नेपाली तीनै भाषामा पोख्त भई गहन ग्रन्थको रचना गर्ने अनि धर्म, संस्कृति र पुराणका ग्रन्थहरुको पनि टीकाटिप्पणी, व्याख्या र अनुवाद गर्ने विशिष्ट तथा क्षमतावान् एकजना कवि–विद्वान् अनि फेरि त्यस्तै विशिष्टतम क्षमता भएका अर्का प्रवीण समालोचकको कस्तो अद्भुत संयोग ? एक विशेष भाव साक्षात्कार गर्ने अर्को विशेष भाव दर्शन गरी विश्लेषण गर्ने जस्ता स्रष्टा व्यक्तित्व उस्तै द्रष्टा व्यक्तित्व । यो विधि–विधाताकै देन हो । अन्य कुनै समालोचक भए स्रष्टाको एक पक्ष र पाटो मात्रै केलाउन सक्थे, सबै पक्ष र पाटा पर्गेल्न सीमित ज्ञान भएका समालोचकबाट सम्भव थिएन, यहाँ त कवि वा लेखकले जति भाषामा लेखेका छन्, जेजति विधा र विषयमा लेखेका छन् तत्तत् विषयको ज्ञान र प्रबुद्ध चेतना भएका व्यक्तिले लेख्न पाउनु शोधनायक र शोधकर्ता दुवैको निम्ति सुखद र गौरवबोधको विषय पनि हो । प्रा.डा. खनालले नेपाली शोककाव्यहरुको गहिरो अध्ययन, चिन्तन र मनन गरेका छन् भन्ने तथ्य कृतिभित्र उनले प्रस्तुत गरेका विवरण सूची, अन्य पत्रपत्रिकामा प्रकाशित शोकसम्बन्धी समीक्षा अनि अधिकांश शोककाव्य अनुसन्धानको निर्देशक एवं भूमिका लेखनबाट पनि पुष्टि हुन्छ । प्रा.डा. ढकालका पनि अधिकांश काव्य शोकभावमैं विरचित देखिन्छन् । नेपाली शोककाव्य परम्परामा प्रा.डा. ढकालले पु¥याएको महŒवपूर्ण योगदानलाई प्रा.डा. खनालले विस्तृत व्याख्या विश्लेषण र विवेचनासहित प्रकाश पारेको तथ्य पनि यस बृहद्ग्रन्थमा प्रकाशित छ । जुनजुन विषयको प्रा.डा. खनालले अध्ययन अनुसन्धान गरे त्यही विषयका कृतिहरुको अध्ययन विश्लेषण गर्न पाउनुले व्याख्या विश्लेषण प्रौढ र परिपक्व स्थितिमा भएको बुझिन्छ भने उनको व्याख्या विश्लेषणको उत्कर्ष रुप यस बृहद्ग्रन्थमा पाउन सकिन्छ ।
प्रा.डा. खनालमा काव्यको विश्लेषण गर्ने र मूल्याङ्कन गर्ने सूक्ष्मचेत सन्निहित छ । काव्यभित्रका जतिसुकै सूक्ष्म गुण र दोषलाई पनि उधिनेर र पर्गेलेर राख्न सक्छन् तर यसमा उनी विशेषतः गुणद्रष्टा विश्लेषकको रुपमा देखिएका छन् । एक त प्रा.डा. ढकाल गुरू त्यसमा पनि व्यक्तित्व र कृतित्वपरक परिचयात्मक ग्रन्थ भएकाले पनि छिद्रान्वेषण र कटु आलोचनातर्फ लाग्ने कुरै भएन । विशेषतः गुणकै प्रकाश गर्नुपर्ने ध्येय रहेकाले पनि लेखक त्यसमै केन्द्रित देखिन्छन्, गुरूका गुणहरुको यथोचित बखान गर्नु शिष्योचित धर्म पनि हो । यहाँ लेखकले लेखकीय धर्म मात्र नभई शिष्य धर्म पनि पालना गरेका छन् । गुरूको अति प्रिय शिष्य भए पनि लेखक समालोचकीय धर्मका विपरीत कहीँ पनि कोरा प्रशंसाले ग्रन्थको आयतन बढाउने काम गरेका छैनन् । आकारगत दृष्टिले ग्रन्थ जति विशाल भए पनि सम्बन्धित ग्रन्थ नायकका पाटा र पत्र व्यापक हुँदा तिनलाई समेटेर प्रस्तुत गर्नु नै गम्भीर चुनौती हो र यो लेखकद्वारा कुशलतापूर्वक समेटेर प्रस्तुत भएको संक्षिप्त रूपरेखा नै हो, तर पनि लेखकको अथक मिहिनेत, गम्भीर विद्वत्ता र प्रातिभ कौशलताको अद्भुत छटाले यो गहन र सारगर्भित बनेको देखिन्छ । यसबाट कोही प्रभावित नभई रहन सक्दैन । आकार दिने जस्ता कुराको मिहिनेत अरुले पनि गर्न सक्लान्, व्यापकताको शोधखोज अरुलाई पनि हुन सक्ला तर जुन भाषिक प्रौढता छ, वस्तु र प्रविधिको समन्वयात्मक संयोजन छ, गुणको पारख गर्ने सूक्ष्म चेत छ, जुन सारगर्भित कथनको सामथ्र्य हो, त्यो सबै प्रा.डा. खनालको मौलिक र अद्वितीय पक्ष हो ।
सागरलाई सुमेरू पर्वतले मथेझैँ वेणीसागरभित्र केके रत्न राशि छन्, तिनको पारख कसरी भएको छ, त्यो यहाँ प्रस्तुत छ ः१. सन्तान सुखका सम्बन्धमाउनीहरु सबै प्रविधि ज्ञान, वाणिज्य, शिक्षा र व्याकरण आदि विषयमा स्नातकोत्तर गरेका आधुनिक उच्च शिक्षा र पूर्वीय उच्च शिक्षाको सङ्गम भई विश्वभूगोलको पूर्व एवं पश्चिमलाई कार्यक्षेत्र बनाएर आआÇना पेसा र व्यवसायमा सक्रिय रहेकाले सन्तानबाट प्रा.डा. ढकाललाई यथोचित सुखसन्तोष रहेको पाइन्छ (पृ. १३) ।
२. भौतिक कृति ‘शैलेश’ खण्डकाव्यको पारख नेपाललाई हिमदेश बनाई जसरी मेनका र हिमालयले हिमालमा शासन गरेका थिए त्यसरी नेपालमा शिव र गौरी शासन गरुन्, हिमालयमा हिमरत्नका रंगझैँ मनुष्यमा बहुरंगको प्रकाश परोस्, हिमाली संस्कृति र सभ्यता बढोस्, जनता परसेवक होऊन्, मान्छे मरे पनि देश बाँचिरहोस् भन्दै शैलेशलाई अचल झन्डा उचालेर अनन्तकालसम्म टिकिरहन अनुरोध गरिएको छ (पृ. ७९) । ३. अनूदित ग्रन्थका बारेमाकुनै पनि ग्रन्थको जटिल ग्रन्थिभेदन गरी एक भाषाबाट अर्को भाषामा सरलीकृत अनुवाद गर्नु आफैँमा एक श्रम साध्य कार्य हो । प्राचीन, धार्मिक, पौराणिक, आचारविचार र संस्कारादि निर्णयपरक ग्रन्थहरुको सही अर्थ ठम्याई जनसमक्ष पु¥याउनु कृतविद्यहरुबाट मात्र सम्भव हुने कार्य हो (पृ. १३७) ।यस ग्रन्थमा प्रकाशकीयसहित चारजना ख्यातिप्राप्त विद्वान्का भूमिका, शोधनायकसँग लेखकको अन्तर्वार्ता, पाँच परिच्छेदमा शोधनायकको जीवनी, व्यक्तित्व र कृतित्वसम्बन्धी विस्तृत विश्लेषण एवं परिशिष्टमा लेखकका रचना एवं छायाचित्रले ग्रन्थको पूर्ण प्राविधिक स्वरुप दर्साउँछन् । यी सबै लेखककै लेखकस्वमा अनुबन्धित सामग्री हुन्, तर अन्त्यमा शोधनायकका रचना प्रकाशनले लेखक सम्पादक पनि हुन् कि भन्ने भ्रम उब्जाउँछ र परिशिष्टमा शोध नायकका रचना सङ्गृहीत रहेकाले लेखकको सम्पादनको भूमिका रहे पनि ग्रन्थका आधिकारिक व्यक्तित्व पूर्ण रुपमा लेखक नै हुन् भन्ने देखिन्छ । यसले पनि लेखकको गौरव बढाएको पाइन्छ । लेखक र शोधनायक दुवै संस्कृत पृष्ठभूमिका विशिष्ट विद्वान् हुन् । दुवैमा गुरूशिष्यको पारस्परिक हार्दिक सम्बन्ध पनि छ । पेसामा पनि दुवैले शिखर आरोहण गरेका छन् । दुवैको साहित्यिक साधना र सामाजिक योगदान पनि उच्च छ । सिर्जना र समालोचना दुवैका कृति पनि उत्कृष्ट छन् । दुवै अनुवादक पनि छन् र अनुसन्धानकर्ता पनि हुन्, सम्भवतः सबै तहमा दुवैको उत्तिकै उचाइ र योगदान छ । प्रा.डा. ढकालको समग्र व्यक्तित्व र कृतित्वमा साधिकार लेख्न सक्ने असाधारण व्यक्तित्व नै प्रा.डा. खनाल देखिन्छन् । जुन उचाइमा प्रा.डा. ढकाल पुगेका छन्, यत्तिकै गहिराइमा प्रा.डा. खनाल पुगेको अनुभव हुन्छ । यसमा प्रा.डा. खनालको सिर्जनात्मक, व्याख्या विश्लेषणात्मक, समीक्षात्मक, अनुवादात्मक अनुसन्धानात्मक सम्पूर्ण प्राज्ञिक क्षमताको अधिकतम उपयोग भएको छ । प्रा.डा. खनालमा निहित प्रतिभा प्रवीणता, सीप सामथ्र्य र श्रम साध्य आदि समग्र वृत्तिको यो उत्कर्ष रुप हो । यस्ता गहन ग्रन्थका प्रणेता प्रा.डा. खनालप्रति हार्दिक नमन गर्दछु ।
अन्त्यमा,
सृजना र समीक्षाका सुन स्वयम् कसी पनि
अनुसन्धानका फेरि शुद्धताका दसी पनि
कालजयी रची ग्रन्थ साधना र उपासना
हुनाले नै तिमीबाट फैलिएको छ वासना ।।

Comments

About the author

चितवन पोष्ट