गृह » मजस्तै संसार, संसारजस्तै म
विचार

मजस्तै संसार, संसारजस्तै म

–आचार्य लक्ष्मण भण्डारी
गौतम बुद्ध आफ्ना चेलाहरुलाई आध्यात्मिक कर्तव्य र मानवीय मूल्यका सम्बन्धमा शिक्षा दिइरहेका थिए । एक जना व्यक्ति कताबाट अचानक आइपुग्यो र बुद्धलाई तथानाम गाली गर्न थाल्यो । यति भएर पनि बुद्धको अनुहारमा कुनै परिवर्तन देखिएन । उनी आफ्नो सदाबहार मुद्रामा मुस्कुराइरहे । गाली गर्नेका गाली र अपशब्दहरु सबै सकिए तर बुद्धको मुस्कानमा कमी आएन । बरू, बुद्धको अनुहारमा थप आनन्द र खुशीका नवीन तरङ्गहरु देखिन थाले । अन्ततः गाली गर्दागर्दै थकित मानिस फक्र्यो । बाटोमा उसले सोच्न थाल्यो, अचम्म ! मैले त्यति धेरै गाली गर्दा र अनावश्यक शब्दहरु प्रहार गर्दा समेत हाँसिरहने त्यो जोगीको कुनै नकारात्मक प्रतिक्रिया रहेन । पक्कै मैले भूल गरेँ । यसरी आफ्नो कृत्यको पश्चात्ताप गर्दै त्यो मानिस बुद्ध भएनजिक गएर क्षमा माग्ने सोंच बनायो । तत्काल फर्किएर उसले बुद्धको पाउ समाई क्षमा माग्यो र बुद्धको शिष्यका रुपमा आफ्नो स्थान सुरक्षित ग¥यो ।
बुद्धले खुशीका साथ उसलाई अंकमाल गरी सारा दोषहरु माफ गरिदिए । यो सरल र सामान्य दृष्टान्त हुन सक्छ तर यसको विज्ञान र लाक्षणिकता विशाल छ । कतिपय मानिसहरु सहनशीलतालाई कमजोरी ठान्दछन् । कुनै पनि घटनाको तात्तातो प्रतिक्रिया दिनुलाई बहादुरी ठान्नेहरुले गौतम बुद्धलाई नामर्दको संज्ञा दिन पनि पछि पर्दैैनन् । तर, के बुद्ध साँच्चै नै कमजोर हुन् त ? उनी कमजोर भएका भए उनलाई तथानाम गाली गर्ने मानिस फर्किएर आई पाउ पर्ने थिएन । बुद्धलाई त्यस मानिसले जसरी गाली गर्दै अपशब्दहरु समेतको प्रयोग ग¥यो, यदि त्यसरी नै बुद्ध प्रस्तुत भएका भए के त्यो मानिस झुकेर उनको चेलो बन्थ्यो होला ? कदाचित् त्यसो हुन सक्दैन ।
सहनशीलता नै दुनियाँको सर्वोच्च शक्ति हो । सहनशीलतालाई जसले कमजोरी ठान्छ, त्यो नै यथार्थमा कमजोर हुन्छ । गौतम बुद्ध सहनशीलताका दिव्य प्रतिमूर्ति थिए । सहनशीलताको यो विशिष्ट ऊर्जाले नै उनी विश्वभर छाउन सफल भए । के कमजोरहरु जहाँसुकै चिनिन सक्छन् ? के शक्तिहीनहरु विश्वप्रसिद्ध हुन सक्दछन् ? उसो भए किन उनी यसरी विश्वव्यापी भए ? किनभने, उनी साँच्चै नै शक्तिशाली थिए । प्रेम, करूणा, मैत्री, सहनशीलता र त्याग उनका लागि शक्तिका स्रोत थिए ।
जसले धेरै मानिसको हत्या गर्न सक्छ, त्यसैलाई हामीले शक्तिशाली भन्नुपर्छ भन्ने मान्यताको विकास गरेका छौँ । त्यस कारण नै गौतम बुद्धजस्ता महामानव हाम्रा आँखामा कमजोर देखिन्छन् । जसको हातमा हतियार छ, ऊ कमजोर छ । मान्छे कमजोर भएर नै हतियारलाई साथी बनाउँछ । हामी भ्रममा छौँ, धेरै सेना, प्रहरी र हातहतियारले सुसज्जित मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति यी शक्तिशाली छन् । तपाईं योगी साधु सन्तलाई कमजोर ठान्नुहुन्छ । तर मन्त्री र प्रधानमन्त्रीहरु विनासुरक्षा कहिल्यै हिँड्न सक्दैनन् । उनीहरुको स्वतन्त्र दुनियाँ छैन । उनीहरुको एक्लो र निजी संसार पनि छैन । शौचालय जाँदा पनि सेना–प्रहरी लिएर जानुपर्ने जीवनलाई के तपाईं शक्तिशाली जीवन भन्ने ठान्नुहुन्छ ? मन्दिर र आश्रमका साधु–सन्तलाई केको डर ? सारा मानिसहरु तिनका उपासक हुन्छन् । कुनै पनि राष्ट्रको प्रधानमन्त्री सर्वस्वीकार्य हुन सक्दैन, किनभने आजभोलि प्रधानमन्त्री पनि निश्चित पार्टीबाट निर्वाचित भएर बनेको हुन्छ, उसलाई अन्य पार्टीका मानिसले स्वीकार्छन् नै कहाँ ? तर, योगीजन सबैका साझा र स्वीकार्य हुन्छन् विनासेना–प्रहरी योगीहरु स्वतन्त्र हिँडडुल गर्न सक्छन् ।
गौतम बुद्धलाई संसारमा जति मानिसले चिन्दछन् र जान्दछन्, त्योभन्दा बढी कुन हिंस्रक नेतालाई त्यति मानिसले चिन्छन् ? के हिटलर, माओ, स्टालिन, तैमुरलङ आदि बुद्धजति प्रिय र स्तुत्य छन् ? पूज्य र प्रार्थनीय छन् ? कदाचित् छैनन् । संसारमा तिनै व्यक्तिहरु महान् र शक्तिशाली हुन सक्छन्, जसले कसैलाई नमारी र हिंसा नगरी आमूल परिवर्तन गरिदिन सक्छन् । हामी देख्छौँ आजको संसारमा योभन्दा धेरै हिंसा भएको छ र रगत बगेपछि आउने परिवर्तन नै शाश्वत् हो भन्ने भ्रम स्थापित हुन खोज्दैछ । किनभने, संसारमा वीरभन्दा कायरहरुको संख्या धेरै छ । कायरहरु मानवीय प्रेम, सहिष्णुता, सदाचार, त्याग र सहनशीलताका बदलामा हिंसा, आतङ्क, व्यभिचार, अन्याय र हतियारका भरमा अप्राकृतिक एवम् अधिनायकवादी परिवर्तन जबर्जस्ती थोपर्न चाहन्छन् । यसैले, समकालीन विश्व यस्तै कायरहरुलाई शक्तिकेन्द्रहरुमा स्थापित गर्दै कायरहरु जन्माउँदै छ । तापनि, यही युगमा रामदेवहरु जन्मन छाडेका छैनन् ।
हाम्रो देशका प्रधानमन्त्रीलाई विश्वका जति मानिसले चिनेका छन्, सोभन्दा धेरै मानिसले रामदेवलाई चिनेका छन् अथवा अमेरिकाका राष्ट्रपतिहरु जति लामो समयसम्म चर्चित रहन्छन्, त्योभन्दा धेरै लामो समयसम्म योगी, साधु, एवम् आध्यात्मिक जनहरु चर्चित रहन्छन् । बुद्ध यही सत्यका जीवन्त दृष्टान्त हुन्, महात्मा गान्धी र मदर टेरेसाहरु यही यथार्थका ज्वलन्त नमुना हुन् । अहिंसा, प्रेम, करूणा, मैत्री, सेवा, सरलता एवम् सहनशीलता आध्यात्मिक एवम् शाश्वत मानवीय मूल्यहरु हुन् । जसले यिनलाई आफ्नो जीवनका आदर्श र व्यवहार ठान्दछन् । उनीहरु यति शक्तिशाली हुन्छन् कि सारा विश्वका उनीहरु पूज्य हुन्छन् । यद्यपि बुद्ध नेपालमा जन्मिए तर उनी समग्र विश्वका आराध्यदेव हुन् । गान्धी यद्यपि भारतमा जन्मिए तर सारा विश्वका उनी प्रेरक हुन् । मदर टेरेसा यस्तै विश्व पूज्य आमा हुन् । अर्थात् सहनशील, सुशील र आध्यात्मिक मानिसको शक्तिका अगाडि हतियारहरु मात्र होइनन्, राज्यका सीमा रेखाहरु पनि मेटिन बाध्य हुन्छन् ।
आजसम्म आध्यात्मिकबाहेक के कुनै राजनीतिक व्यक्तिले सारा राष्ट्रहरुलाई, सीमालाई भत्काएर पूरा ब्रह्माण्डलाई नै एउटै राष्ट्र बनाउन सकेको छ ? छैन । त्यो सामथ्र्य केवल गौतम बुद्ध, मदर टेरेसा, महात्मा गान्धी, विवेकानन्दलगायत सरल, सहनशील र मानवीय सेवामा समर्पित आध्यात्मिक व्यक्तित्वमाथि छ ।
सहनशीलता निकै मह¤वपूर्ण शक्ति हो । कमजोरहरुमा सहने शक्ति नै हुँदैन । उनीहरुलाई घमण्ड, रिस र अभिमानले भित्रभित्रै खोक्रो बनाइसकेको हुन्छ । उनीहरु जुनसुकै बेला पनि ढल्न सक्छन् । तर, सहनशीलहरुलाई कसैले पनि ढाल्न सक्दैन, बरू उनीहरुको प्रभावमा अभिमानीहरु पनि क्रमशः ढल्दै जान्छन् । वनजङ्गलमा गएर हेर्ने हो भने अग्ला र ठूलाठूला रुखहरु हावाहुरीका बेलामा जरैदेखि गल्र्यामगुर्लुम ढलेका देखिन्छन् भने साना, बोटबिरूवा, झारपातहरु जस्ताको त्यस्तै ठडिइरहेका हुन्छन् । कारण के भने अग्ला ठडिएका रुखहरु समय र हावाको प्रवाहसँगै गतिशील, लचक हुन नसक्नु हो । जब कि, ती साना बोटबिरूवा र झारपातहरु भने जता हावा, त्यतै लचक हुन्छन्, अग्ला रुखहरुले जस्तै बाटो छेक्ने दुष्प्रयास गर्दैनन् । त्यसैले, हावाहुरीले पनि तिनको केही बिगार गर्न सक्दैनन् ।
सहन सक्नु सानो कुरा होइन । आजको मान्छे असीमित अहङ्कारको पगरी भिरेर बाँचेको छ । उसलाई सानासाना कुरामा पनि श्रेष्ठ हुनुछ । कसैसित पनि हार्न नपरे हुन्थ्यो, झुक्न नपरे हुन्थ्यो भन्ने विचार हरेक मानिसमा विद्यमान छ । यही विद्यमानताले गर्दा आज हरेक मान्छे असाध्य रोगका सिकार बन्न पुगेको छ । मनोचिकित्सकहरु भन्छन् ः जो झुक्न तयार हुँदैन, उसको आयु पनि लामो हुँदैन । जसले आपूmलाई समय र परिस्थितिसित ढाल्न सक्दैन, उसको विनाशलाई पनि कसैले छेक्न सक्दैन । खासगरी, हृदयाघातको समस्या यस्तै अहङ्कारी र सहन नसक्ने मानिसहरुमा ज्यादा देखा पर्दछ । सामान्यतया हामीले हे¥यौँ भने पनि हृदयाघात अत्यधिक पुरूषहरुमा हुने गरेको देखिन्छ । यसपछाडिको मनोवैज्ञानिक कारण भनेको पुरूषभित्रको अहं नै हो । महिलाहरु सहनशील हुन्छन्, आफ्नो अहंलाई चकनाचुर पार्न तयार हुन्छन्, हार्न तयार हुन्छन्, अरुको अस्तित्वलाई खुसीसाथ स्वीकार्न तयार हुन्छन्, त्यसैले उनीहरुमा निकै थोरै मात्र हृदयाघातको समस्या देखिन्छ । पुरूषहरु प्रायः झुक्न चाहँदैनन्, मनको भित्रको पीडालाई, असन्तुष्टिलाई अथवा भनौँ कुण्ठालाई महिलाहरुले जसरी आँसुले धुनुलाई उनीहरु कमजोरी ठान्छन्, जसका कारण ती सबै भावना उनीहरुभित्र दबेर बसेका हुन्छन् । अन्ततः तिनै दमित मनोभावना हृदयाघातको रुपमा अथवा अन्य असाध्य रोगका रुपमा देखा पर्दछ र जीवनलीला नै तहननहस हुने अवस्थामा पुग्दछ ।
सहनशीलता आस्तिकताको द्योतक पनि हो । आस्तिक हुनु भनेको अरुको अस्तित्वलाई स्वीकार गर्नु हो । सहनशील हुनु भनेको अरुको अस्तित्वको स्वीकृति हो भने मनका उहापोह, पीडा र दुःखहरुलाई सामान्य ठानेर धैर्य अपनाउनु हो । जीवन सधैँ जितैजितको विवरण होइन । यदि हामीले जित नै जीवन हो भन्ने ठान्दछौँ भने जितको परिभाषालाई पनि नयाँ तरिकाले व्याख्या गर्न सक्नुपर्दछ । कहिलेकाहीँ हार्न सक्दा पनि जित हुन्छ, सहनशील हुँदा पनि जित हुन्छ । गौतम बुद्धलाई के तपाईं हरूवा भन्नुहुन्छ ? के उहाँले तथानाम भन्ने मानिससित हार्नुभयो ? अथवा, के त्यसरी भगवान् बुद्धलाई तथानाम भन्ने मान्छेले जित्यो ? अहँ, बुद्धले न त हार्नुभयो, न त उहाँलाई गालीगलौच गर्नेले जित्यो नै । वास्तविक जित सहनशील बुद्धको भयो भने अहंकार र आवेशमा आएर बर्बराउने मान्छेको हार भयो ।
तसर्थ, संसारमा अहंकारको जित र प्रेम एवम् धैर्यको हार कहिल्यै भएको छैन । सुरूसुरूमा हामीलाई रिसाउनु, आवेशमा आउनु, बर्बराउनु अथवा आक्रोश प्रकट गर्नु नै जित हो अथवा पुरूषार्थ हो जस्तो लाग्ला, तर अन्ततः यसले हारसिवाय केही निम्त्याउँदैन । निश्चित रुपमा मनभरि अहंकारको विष धारण गरेका मानिसलाई सहन गर्न निकै गाह्रो हुन्छ, तर त्यसको परिणाम अत्यन्त सुन्दर हुन्छ । सहनु भनेको त अरुलाई स्वीकार्नु हो र आवेशलाई नियन्त्रित गर्नु हो । एउटा सहनशीलता नै एक प्रकारको विजय हो ।
हामीले भनेकै कुरा सधैँ हुनुपर्छ भन्ने कहाँ छ ? यदि हामीलाई लाग्छ कि हामीले जे भन्छौँ त्यो हुनैपर्छ, त्यसका लागि अरुले भनेका कुरालाई पनि सम्मान गर्न सक्नुपर्दछ । अरुले भनेका कुरा पनि हुनैपर्छ भन्नेहरुका मात्र आपूmले भनेका कुरा पूरा हुन सक्छन् । अरुलाई सम्मान नगरीकन सम्मान पाउन नसकेजस्तै अरुलाई जिताउन नसक्नेहरुले पनि कहिल्यै जित्न सक्दैनन् । तसर्थ, सहनशीलता अरुको जितलाई पनि अभिनन्दन गर्नुको विशेष नाम हो । सबैकुरा परस्परको सहकारिता र व्यावहारिकतामा भर पर्दछ । यो संसार एकलकाँटेहरुका लागि होइन, यो त सबैको साझा भूमि हो । हरेक व्यक्तिहरु एक्लाएक्लै छन्, तसर्थ सबैको उपस्थितिमा मात्रै एक्लाको अस्तित्व प्रकाशित हुन सक्दछ । त्यसैले, अनेकको अभावमा एकले आपूmलाई कहाँ उभ्याउने ? त्यसैले, हाम्रो अभिमानले कसैलाई फाइदा पुग्दैन । अभिमान त्यागौँ, अहंकार त्यागौँ र सहनशीलता अपनाऔँ । मैले कसैलाई पनि नमस्कार गर्ने होइन, सारा दुनियाँले नै मलाई साष्टाङ्ग दण्डवत् गर्नुपर्दछ भन्ने अभिमान स्वस्थ लक्षण होइन । स्वस्थ लक्षण त मजस्तै संसार छ र संसारजस्तै म छु, संसारविना म रहन सक्दिनँ र मविना पनि संसार रहन सक्दैन भन्ने भावना नै हो, त्यो सहनशीलताबाट मात्रै सम्भव छ ।

Comments

About the author

चितवन पोष्ट