गृह » दोहोरी गायक लामाले निर्माण गरेको घर हस्तान्तरण
समाचार समाज

दोहोरी गायक लामाले निर्माण गरेको घर हस्तान्तरण

सौराहा । लोक तथा दोहोरी गायक मिलन लामाले रत्ननगरमा निर्माण गरेको घर हस्तान्तरण गरेका छन् ।
रत्ननगर–८ रमाइलो सुकुमबासी बस्तीकी फूलमाया चौधरीको घर बुधबार नगरपालिकाका मेयर नारायण वनले रिवन काटेपछि हस्तान्तरण गरिएको हो । चौधरी परिवार बुधबारै गृह प्रवेश गरेका छन् ।
गत असार २८ र २९ गते को बाढीका कारण घरबारविहीन बनेका चौधरीको घर गायक लामाले फेसबुकमार्फत संकलन भएको रकमले निर्माण गरिदिएका हुन् । कार्यक्रममा बोल्दै मेयर वनले मिलन लामाले समाजका लागि धेरै राम्रो काम गरेको भन्दै देशमा धेरै मिलनको आवश्यक भएको बताए । ‘सरकारी निकायबाट हुन नसकेको काम एक जना व्यक्तिको पहलमा सफल भएको छ,’ उनले भने, ‘त्यसैले समाजमा धेरै मिलनको आवश्यक छ ।’
बाढी आएको बेला सबैभन्दा पहिले मिलन लामाले नै डुङ्गाको व्यवस्था गरेर यहाँका स्थानीयको सुरक्षित स्थानमा उद्धार गरेको मेयर वनले बताए । ‘आफ्नो व्यथा लुकाएर अरूको घाउमा मल्हम लगाउन हिँड्नुभएको छ,’ मेयर वनले भने, ‘उहाँ आफ्नै होटल पूरै डुबेको छ । जसको व्यवस्थापन गर्न भ्याउनुभएको छैन ।’ त्यसैले गरिब जनताको लागि भगवान नै भएर जन्मिएको उनले बताए । रमाइलो बस्तीलाई नगरपालिकाले नमूना बस्तीको रूपमा घोषणा गरेकै भोलिपल्ट आएको बाढीले नरमाइलो बनाएकोले आगामी दिनमा यस्तो घटना दोहोरिन नदिनका लागि सतह अग्लो बनाएर घर बनाउनुपर्ने बेला आएको उनको भनाइ छ ।
साथै रमाइलो बस्ती र बाघमारा जोड्ने गरी बूढीराप्ती खोलामा पुल निर्माण गर्नुपर्ने विषयमा नगरपालिका सकारात्मकरूपमा अगाडि बढेको समेत उनले बताए । ‘यहाँ पुलको आवश्यकता धेरै पहिलेदेखि नै थियो,’ उनले भने, ‘त्यसैले सरकारसँग हामीले माग गरिरहेका छौँ ।’ अर्कोतर्फ आफूले सोचभन्दा राम्रो घर पाएपछि फूलमाया चौधरी खुसी छिन् । उनी भन्छिन्, ‘म सोच्थें, म दुःखीलाई कसले हेर्छ र ? तर, होइन रहेछ । अहिले मैले घर पनि पाएँ । भाइ पनि पाएँ ।’
गायक लामाको पहलमा यही बस्तीमा दुईवटा शौचालयसमेत निर्माण भएका छन् भने नगरपालिकाभित्रका अन्य विभिन्न स्थानमा पनि थप चार घर निर्माण गर्दैछन् । आफ्नो योजना पूरा गर्नका लागि उनी भोलि शुक्रबार विभिन्न सांस्कृतिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गर्दैछन् । करिब तीनहप्ताको अमेरिका यात्रापछि नेपाल फर्किने उनले बताए । आफू बाहिर रहे पनि यहाँको काम भने नरोकिने उनले बताए । संभवतः नेपालमा यवर्षको बाढी प्रभावितका लागि निर्माण भएको पहिलो घर हुन सक्ने उनले दाबी गरे । बाँकी चार घर पनि तिहारभन्दा अघि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्ने उनको योजना छ ।

Comments

About the author

चितवन पोष्ट