गृह » तालिका बिना विद्युत् कटौती गरिदिँदा व्यवसायी चिन्तित
अर्थ समाचार समाज

तालिका बिना विद्युत् कटौती गरिदिँदा व्यवसायी चिन्तित

भरतपुर । चितवनमा लोडसेडिङको अन्त्य भएको भनिए पनि दैनिक विद्युत् कटौतीले आफूहरूलाई प्रत्यक्ष असर परेको चितवनका उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् ।
औद्योगिक फिडरको लाइन बिना जानकारी काटिँदा व्यवसायमा ठूलो नोक्सानी भएको उनीहरूको भनाइ छ । सोमबार भरतपुरमा भएको औद्योगिक फिडर आन्तरिक व्यवस्थापन उपभोक्ता समितिको प्रथम साधारण सभा तथा अधिवेशनमा बोल्दै समितिका सल्लाहकार एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले नेपाल विद्युत प्राधिकरणले तालिका बिना विद्युत् कटौती गरिदिँदा उद्योगीलाई लाखौँ रूपैयाँ बराबरको नोक्सान दैनिक व्यहोर्नुपरेको बताए ।
व्यवसायीहरूका अनुसार सबैभन्दा बढी प्लास्टिक उद्योगीहरू प्रत्यक्ष मारमा परेका छन् । औद्योगिक फिडरमा दैनिक सात पटकसम्म विद्युत् कटौती भएको व्यवसायीहरूले गुनासो गरे । ‘हामी व्यवसायीले पूर्व जन्ममा पाप गरेका रहेछौँ भन्ने भान भइरहेको छ,’ सल्लाहकार गौतमले भने, ‘किनकी हामीलाई राज्यले पनि उपेक्षा गरिरहेको छ ।’
समितिका अर्का सल्लाहकार एवम् नेपाल वाणिज्य महासंघका सदस्य डा तीलचन्द्र भट्टराईले उद्योगीहरुको यो समस्या दैनिकी जस्तै बनेकोले यसप्रति राज्य गम्भीर बन्नुपर्ने बताए । देशकै आर्थिक क्षेत्रको रूपमा विकास हुँदै गइरहेको चितवनमा राज्यपक्षबाटै गिज्याइरहेको महसुस भएको उनको भनाइ छ । ‘यस्तै समस्याले गर्दा यहाँका उद्योगहरूको अवस्था केही समय पहिलेभन्दा पनि विकराल बन्दै गएको छ,’ उनले भने, ‘विद्युत् कटौती नै गर्ने भए पनि निश्चित समय छुट्याएर कटौती गरे कर्मचारीलगायतको व्यवस्थापन गर्न सजिलो हुने थियो । कमसेकम हामीले क्षेति व्यहोर्नु त पर्थेन ।’
अझै पनि विद्युत चुहावट कम हुन नसकेको भन्दै उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्षसमेत रहेका केन्द्रीय सदस्य डा भट्टराईले थपे, ‘भरतपुर महानगर यहाँका उद्योगी व्यवसायीसहितको सम्बन्धित निकाय सक्रिय भएर काम गर्नुपर्ने बेला आएको छ । किनकी कतिपय ठाउँहरूमा अनावश्यक रूपमा विद्युत खेर गइरहेको छ ।’
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले भने भदौको अन्तिमसम्ममा यो समस्या पूर्णरूपमा समाधान हुने दाबी गरेको छ । कार्यालयका वरिष्ठ इञ्जिनियर राजेन्द्र पौडेलले प्राविधिक समस्या भएको स्वीकार गर्दै यही महिना सकिएसँगै यो समस्या नरहने बताए । ‘अहिले औद्योगिक क्षेत्रको लागि दुईवटा फिडर सञ्चालनमा छन्,’ उनले भने, ‘त्यसैले पहिलेभन्दा धेरै राम्रो भएको छ ।’ अर्को समस्या भोल्टेजको समस्या रहेकोले यही महिनाभित्र यो समस्या पनि समाधान हुने उनको भनाइ छ ।
चितवनको औद्योगिक फिडर लाइनमार्फत भरतपुर महानगरपालिका वडा नम्बर १ नारायणगढ, नारायणी नदी छेउछाउबाट वडा नम्बर १५ सम्ममा उद्योग व्यवसाय सञ्चालनमा छन् । औद्योगिक फिडर आन्तरिक व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष अरूणकुमार पियाका अनुसार औद्योगिक फिडरअन्तर्गत भरतपुर महानगरपालिकाभित्र मात्रै १५० भन्दा बढी उद्योगहरु सञ्चालनमा छन् ।
सोमबारै भएको समितिको अधिवेशनले अरूणकुमार पियाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । आगामी दुई वर्षे कार्यकालको लागि समितिको उपाध्यक्षमा जीतबहादुर हमाल, सचिवमा दण्डपाणी भट्ट र कोषाध्यक्षमा तोयानाथ चालिसेसहितको नयाँ कार्यसमिति चयन गरेको हो ।

Comments

About the author

चितवन पोष्ट