गृह » ‘भष्ट्राचारीहरु उम्मेदवार पाउँदैनन्’
राजनीति समाचार समाज

‘भष्ट्राचारीहरु उम्मेदवार पाउँदैनन्’

नारायणगढ । नेपाली कांग्रेका युवा नेता एवम् पूर्वस्वास्थ्य मन्त्री गगन थापाले भ्रष्टाचारीहरूलाई उम्मेदवार बन्न नपाउने बताएका छन् ।
संसदमा यो विषयले निकै चर्चा पाइरहेको बेला पूर्वमन्त्री थापाले भने, ‘कुनै पनि व्यक्ति भ्रष्टाचारी प्रमाणित भइसकेको छ भने त्यस्ता व्यक्तिलाई कुनै पनि निर्वाचनमा उम्मेद्वारी बनाउन पाइँदैन । यदी कसैले यो विषयमा भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्छ भने जस्तोसुमै मूल्य चुकाउन पनि म पछि हट्दिन ।’
सोमबार नारायणगढमा भएको समाजसेवी गौरीदेवी प्रधानको व्यक्तित्व र सत्कृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसदमा कुरा उठे पनि यो गलत कार्य भएकोले यसलाई अघि बढ्न नदिने प्रतिबद्धता जनाएका हुन् । नेपालमा दलहरूकै आडमा नराम्रा व्यक्ति र नराम्रा कामले मात्रै प्रश्रय पाइरहेको भन्दै नेता थापाले भने, ‘जुनसुकै सरकार आए पनि राम्रो कामको कदर गर्न सकेनन् । यो दुःखद कुरा हो ।’
माथेमा आयोग र डा गोविन्द केसीका सकारात्मक मागप्रति पनि सरकार अहिलेसम्म गम्भीर बन्न नसकेको उनले बताए । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको लुटतन्त्रको धन्दालाई हटाउनका लागि अघि सारिएको मागको विषयमा सरकार चुपचाप रहेको उनको भनाइ छ । ‘नेपाली युवाहरू आफ्नो सन्तानलाई राम्रो शिक्षादीक्षा दिलाउने सपना बोकेर खाडी मुलुक जान बाध्य छन्,’ उनले भावुक हुँदै भने, ‘विदेशमा पसिना चुहाएर कमाएको पैसा नेपालमा लगानी गर्दा माफियाहरूले चुसिरहेका छन् ।’ त्यसैले अब शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ ढंगले छलफल गरेर अघि नबढे अर्को समस्या थपिन सक्ने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा त्रिभूवन विश्वविद्यालयका पूर्वउपकूलपति प्रा डा केदारभक्त माथेमाले नेपालमा राजनीतिक भागवण्डाले देश ध्वस्त भइसकेको बताए । विद्यार्थीकालदेखि नै राजनीति हाबी भइदिँदा यो समस्या सिर्जना भएको उनको भनाइ छ । ‘कुनै पनि व्यक्तिलाई राजनीतिक आस्थाभन्दा बाहिर राख्न सकिँदैन,’ उनले भने, ‘तर, विद्यालयस्तरबाटै राजनीतिक प्रभाव पारिदिँदा यो समस्या आएको हो ।’
सत्कृति ग्रन्थ विमोचित
समाजसेवी गौरीदेवी प्रधानको व्यक्तित्व र सत्कृति ग्रन्थ सोमबार नारायणगढमा विमोचन गरिएको छ ।
ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानले सोमबार एक कार्यक्रम अयोजना गरेर प्रधानलाई अभिनन्दनसमेत गरेको छ । नेपाली कांग्रेसका नेता गगनकुमार थापा त्रिविका पूर्व उपकूलपति प्रा डा केदारभक्त माथेमाको उपस्थितिमा ग्रन्थको विमोचन गरिएको हो । सोही अवसर पारेर नेपाल परिवार नियोजन संघ चितवनले पनि समाजसेवी प्रधानलाई अभिनन्दन गरेको थियो ।
ग्रन्थको विमोचनपछि कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेता थापाले आकार र सम्पत्तिले कोही पनि ठूलो नहुने बताए । ‘समाजमा ठूलो मान्छे बन्नको लागि उच्च सोच, त्याग र योगदान चाहिन्छ,’ उनले भने, तबमात्रै समाजको महान व्यक्तित्व बन्न सक्छ ।’ हरेक परिवारमा आमाको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै नेता थापाले परिवारको अभिभावक बाबा–आमा दुबैलाई माने पनि आमाको जत्तिको भूमिका बाबाको नहुने बताए ।
गौरीदेवीको समाजप्रतिको योगदानका कारण उनको व्यक्तित्व र सत्कृति ग्रन्थ प्रकाशनमा ल्याएको ज्येष्ठ नागरिक कल्याण प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले बताए । राम्रा व्यक्तिको जतिसुकै कदर गरे पनि कम हुने उनको भनाइ छ । ‘हामीले उहाँको योगदानको उच्च मूल्याङ्कन गरेर यो कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने ।

Comments

About the author

चितवन पोष्ट