गृह » चित्रमोहमा रमाउँदै कला पारखी
कला विचार

चित्रमोहमा रमाउँदै कला पारखी

?

बसन्त पराजुली

टलक्क टल्केको हिमालको फेदीमा मानवीय बस्ती । त्योमाथि मयुरसँगै नेपाली मौलिकता बोकेकी महिला नाच्दैछिन् । यो हो भारतीय चित्रकार विजय विश्वालाले बनाएको तस्बिर । यो तस्बिरमा साच्चै नेपाली मौलिकता भरिएको छ । जुन उनले गत चैतमा गैँडाकोटमा आयोजित एक कार्यक्रममा आफैँले बनाएका हुन् ।
नेपाली कला र संस्कृतिसँग सम्बन्धित भएर बनाइएको यो चित्र गैँडाकोटको द नारायणी रिसोर्टमा हालै सकिएकोे अन्तर्राष्ट्रिय कला प्रदर्शनीको आर्कषण पनि बन्न पुग्यो । त्यतिमात्रै होइन, भारतको सबैभन्दा पुरानो रेल जुन थन्क्याइएको छ, त्यसमा केन्द्रित रहेर विश्वलाले नै बनाएको चित्र प्रदर्शनीमा हेर्न लायक नै रह्यो ।

चित्रकार विजय विश्वाला उनै हुन् । जसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि केही समयअघि फोन गरेर प्रशंसा गरेका थिए । लामो समय भारतीय रेल सेवामा कार्यरत उनले बनाएका अधिकांश चित्रहरु भारतमा रहेका रेलसँग सम्बन्धित छन् । जसलाई प्रधानमन्त्री मोदीले पनि प्रशंसा गरेका खबर सार्वजनिक भएका थिए । उनै चित्रकार विश्वालाले नेपालमै रहेर बनाएको नेपाली मौलिकता झल्कने चित्र नेपालीहरुका लागि पनि वा.. वा.. नै बन्न सफल रह्यो ।

भदौ ३ गते देखि ७ गतेसम्म द नारायणी रिसोर्ट गैँडाकोटमा चलेको यो प्रदर्शनीमा विश्वलासँगै नेपाल, भारत, जर्मनी, अष्ट्रिया, बंगलादेशका ३१ जना स्रष्टाले बनाएका १४० चित्रहरु प्रदर्शनीमा थिए । यीमध्ये विदेशी चित्रकार नौजना हुन् भने नेपालका २२ जना । प्रदर्शनीमा भेटिएका चित्रहरुले नेपालका प्रकृति बोलेका झल्को दिन्थ्यो । चित्रमा वन्यजन्तुहरु रमाइरहेका देखिन्थे । नदी नालाहरु सलल बगेका भेटिन्थे । पाँच दिन कलाप्रेमीहरुका लागि यो चित्र प्रदर्शनी कलामा डुब्ने मौसम बनेको थियो ।

कलावती आर्ट काउन्सिलले गत चैत्रमा गैँडाकोटको अमरापुरीमा अन्तर्राष्ट्रिय कला उत्सव आयोजना गरेको थियो । अधिकांश चित्रकारले सोही उत्सवमा बनाएका चित्रहरु अहिले प्रदर्शनीमा राखिएको हो । काउन्सिलसँगै रोटरी क्लब गैँडाकोटको आयोजनामा सम्पन्न प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले बनाएका चित्रहरु पनि राखिएका थिए । उनले नै प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । प्रदर्शनीमा राखिएका चित्रहरुमध्ये सबैभन्दा बढी मूल्य नै रागिनीले बनाएका चित्रहरुको थियो । रागिनीका चित्र ७० हजार रुपैयाँसम्ममा बिक्री भए ।

चित्रकार भीमप्रसाद शर्माका चित्रहरु पनि प्रदर्शनीमा बिक्री भएका थिए । उनका चित्रहरुको मूल्य औषत ४० हजार रुपैयाँ थियो । प्रदर्शनीमा प्रकृतिसँग सम्बन्धित चित्रकलाहरु समावेश गरेका हुनाले पनि जो कोहीलाई आकर्षण गर्न सक्ने थियो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी स्रष्टाले बनाएका चित्रहरु राम्रै बिके । प्रदर्शनीमा पाँच हजारदेखि ७० हजार रुपैयाँसम्मका चित्रहरु राखिएका थिए ।

प्रदर्शनीभर झण्डै १० लाख रुपैयाँ बराबरका चित्र बिक्री भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २० लाख रुपैयाँ बराबरका चित्रहरु राखिएका थिए । चित्र बिक्रीबाट आएको रकम केही चित्रकारहरुले पाउँछन् भने केही रकम रोटरीको सामाजिक कोषमा जाने बताइएको छ । प्रदर्शनीमा राखेका चित्रमध्ये एकै जनाले एक लाख ६० हजार रुपैयाँसम्मको चित्र पनि खरिद गरेको पाइयो । नारायणगढका उद्योगी अरुण पियाले चारवटा चित्र किने । जसको मूल्य एकलाख ६० हजार रुपैयाँ थियो । यसले पनि मानिसमा चित्रप्रतिको मोह कस्तो छ भन्ने स्पष्ट देखाउँछ ।

स्थानीय तहमा रहेका होटल, विद्यालय, नगरपालिकालगायतले पनि संस्थागत रुपमै पनि चित्रहरु खरिद गरे । यसले चित्रकारको मनोबल बढाएको छ नै, यसले रोटरीजस्तो सामाजिक संस्थामा समाजसेवाका लागि केही फण्ड जम्मा हुन सहयोग पनि गरेको छ ।

राजधानीमा यस्ता प्रदर्शनीहरु लगातार हुन्छन् । कला पारखीहरु पनि प्रसस्तै भेटिन्छन् । तर, राजधानीबाहिर अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना गरिँदा पनि दर्शकको उपस्थिति भने उत्साहपूर्वक नै रह्यो । यसले चितवन र यस आसपासका क्षेत्रमा पनि कला पारखीहरु कम छैनन् भन्ने देखाएको छ । यसलाई बचाउन सकियो भने साच्चिकै बामे सर्दै गरेको कला क्षेत्रको संरक्षणमा टेवा पुग्ने छ ।

Comments

About the author

चितवन पोष्ट