गृह » गुरूङ जनप्रतिनिधि सम्मानित ‘जनताको मतको कदर गर्ने बेला आएको छ ’
राजनीति समाचार समाज

गुरूङ जनप्रतिनिधि सम्मानित ‘जनताको मतको कदर गर्ने बेला आएको छ ’

तुलमान गुरूङ
भरतपुर । तमू ह्युल छोँज धीँ (गुरूङ राष्ट्रिय परिषद्) चितवनले चितवन जिल्लाभरबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई शनिबार सम्मान गरेको छ ।
गुरूङ समुदायबाट विभिन्न पार्टीको नेतृत्व गर्दै स्थानीय तहमा निर्वाचित भएका ६ जना महिलासहित २९ जनालाई सम्मान गरिएको हो । निर्वाचित प्रतिनिधिहरूलाई खादा र फेटा (टाउकोमा नयाँ कपडा बेरेर सम्मान गर्ने) बाँधेर सम्मान गरेको तमू ह्युल छोँज धीँ चितवनकी सचिव भैँखू गुरूङले जानकारी दिइन् ।
चितवन जिल्लामा भरतपुर इच्छाकामना गाउँपालिकाको अध्यक्षसहित ८ जना वडा अध्यक्षमा निर्वाचित भएका थिए भने अन्य सबै वडा सदस्यको पदमा निर्वाचित भएका थिए । गुरूङ समुदायबाट नेतृत्व तहमा पुगे पनि सबै समुदायको समस्यालाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी निभाउन तमू ह्युल छोँज धीँले सुझाव दिएका छन् । छोँज धीँ चितवनका अध्यक्ष गणेशबहादुर गुरूङले आफ्नो अधिकारको सही सदुपयोग गरेर समाजको विकासमा लाग्न सुझाव दिएका हुन् ।
यस्तै तमू ह्युल छोँज धीँका केन्द्रीय सल्लाहकार एवम् समाजसेवी टेकप्रसाद गुरूङले निर्वाचनताका जनताको घरदैलोमा पुगेर भोट मागेजस्तै समयमै काम गरेर जनताको मन जित्न सक्नुपर्ने बताए । ‘जुनसुकै पार्टीबाट उम्मेद्वार बनेर जिते पनि अब यो पार्टी र त्यो पार्टी होइन,’ कार्यक्रमका प्रमुख अतिथि रहेका गुरूङले भने,‘अब जनताको मतको कदर कसरी गर्ने भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा बोेल्दै इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरूङले जनताको मतको कदर हुने तरिकाले काम गर्ने प्रतिबद्धता जनाइन् । ‘पार्टी र समुदाय आफ्नो ठाउँमा छ,’ उनले भनिन्, ‘त्यसैले स्थानीय तहले पाएको अधिकारभित्र रहेर सकभर सबैको चित्त बुझ्ने गरी उदाहरणीय काम गरेर देखाउने जिम्मा अब हाम्रो काँधमा छ ।’ चुनावका बेला एकअर्काबीच तिक्तता भए पनि चुनाव सकिएपछि सबै त्यतिबेलाको तीतामीठा कुराहरूलाई बिर्सेर सबै दलका प्रतिनिधिहरूको पनि उत्तिकै सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
भरतपुर महानगरपालिका वडा नं. १९ का अध्यक्ष कर्णबहादुर गुरूङले तमू ह्युल छोँज धीँले गरेको सम्मानले झनै जिम्मेवारी बोध गराएको बताए । तमू ह्युल छोँज धीँका केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहेका गुरूङले भने, ‘हामीले जनताको चाहनाअनुसारको काम गर्नुपर्ने बाध्यता त छँदै छ । तर, आजको यो कार्यक्रमले झनै बढी जिम्मेवारी बोध गराएको महसुस भएको छ ।’ चितवनका गुरूङ समुदायले देखाएको सदासयतालाई बिर्सन नसक्ने भन्दै जनप्रतिनिधिहरूले काम गर्दै जाँदा कुनै पनि प्रकारका कमीकमजोरी भेटिएमा आफूहरूलाई सचेत गराउनसमेत आग्रह गरे । निर्वाचनको बेला जुन पार्टीबाट आए पनि अहिले समग्रमा सबै जनताको प्रतिनिधि भएको उनीहरूले बताए । समाजमा आइपर्ने समस्या समाधानको लागि स्थानीय पनि उत्तिकै भूमिका रहने भएकोले समस्या समाधानमा सधैँ साथ र सहयोग पाइ नै रहनेमा आफूहरू विश्वस्त रहेको जनप्रतिनिधिहरूको भनाइ थियो ।

Comments

About the author

चितवन पोष्ट