गृह » ‘धर्म र परम्पराको नाममा महिलामाथि हुने कुनै विभेद स्वीकार्य हुँदैन’
समाचार समाज

‘धर्म र परम्पराको नाममा महिलामाथि हुने कुनै विभेद स्वीकार्य हुँदैन’

भरतपुर । धर्म र परम्पराको निरन्तरताको नाममा महिलालाई गरिने कुनै पनि प्रकारको विभेद छोड्न तयार हुन आवश्यक रहेको महिला अधिकारकर्मीहरुले औल्याएका छन् ।
धर्म, संस्कार सामाजिक र मानसिक मूल्यमान्यताको जड भएको टिप्पणी गर्दै व्यवहारिक बन्न सक्नुपर्ने उनीहरुले तर्क गरे । परिचय संस्था र आशा अस्पताल भरतपुरको संयुक्त आयोजनामा भएको महिला र ऋषि पञ्चमी विषयक अन्तक्र्रियामा सहभागी महिलाले रज्वदोषको पाप मुक्तिका लागि गरिने पूजा विधिको चर्को विरोध गरे । सृष्टिलाई निरन्तरता दिने जैविक प्रक्रियालाई पाप र धर्मसँग तुलना गर्नु न्यायोचित नभएको उनीहरुको ठम्याई छ । यद्यपि हिन्दूधर्मका सकारात्मक पक्षलाई निरन्तरता दिन भने आवश्यक रहेको उनीहरुले बताए ।
कार्यक्रममा जिल्ला महिला समन्वय समितिकी उपाध्यक्ष सुशीला उप्रेतीले मानव समुदायको पहिलो पुस्ता मानिने सप्त ऋषिलाई पुज्ने कार्य गलत नभएको बताइन् । सप्त ऋषिसँगै उनीहरुका पत्नीको समेत नामसँगै उच्चारण गरेर महिला र पुरुषको समान अस्तित्व बयान गर्ने ऋषि पञ्चमी आफैमा गलत नभए पनि गलत व्याख्या गरिँदै आएको उनको भनाइ छ । रज्वदोष मुक्तिका लागि भन्दै गरिने स्नान विधि तथा पूजा विधि भने गलत रहेको उनले बताइन् । यस्तै अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष गौरी अधिकारीले परम्पराको निरन्तरताको नाममा गलत अभ्यासलाई प्रश्रय दिनु उचित नहुने बताइन् । अन्तर पार्टी महिला सञ्जालकी निवर्तमान अध्यक्ष संगिता भट्टराईले महिनावारीलाई प्राकृतिक प्रक्रियाका रुपमा सहज स्वीकार्न नसक्दा समाजमा दुर्घटना भइरहेको बताइन् । धर्म र संस्कार मानसिक नशाका रुपमा प्रत्येक व्यक्ति भित्र लुकेकाले परिवर्तनका लागि कठोर निर्णय शक्ति जरुरी रहेको उनको तर्क छ । कार्यक्रममा नेफ्सकूनकी केन्द्रीय सञ्चालक शान्ति अधिकारीले व्यवहारिक रुपमा विभेदको अन्त्य गर्न सुरूवात आफैबाट गर्नुपर्ने बताइन् । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरकी सहायक डिन डा कल्याणी मिश्र, परिचय संस्थाकी शारदाशर्मा पौडेलले सामाजिक मूल्य मान्यतालाई व्यवहारिक परिवर्तन गर्न सचेतना आवश्यक रहेको बताए ।
यस्तै डा शारदा कँुवरले सृष्टिको निरन्तरताका लागि आवश्यक जैविक प्रक्रियालाई सहज मान्न सक्नुपर्ने बताइन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा सचेतना बढे यस्ता कूरीति आफै हट्दै जाने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको महिला विभागको समन्वयमा भएको कार्यक्रममा विभिन्न जाति र समुदायका प्रतिनिधि महिलाले महिनावारीको समयमा समुदाय र परिवारमा गर्ने अभ्यासबारे जानकारी गराए । हिन्दू व्राम्हण परिवारमा जस्तो विभेद आफ्नो समुदायमा नरहेको भरतपुर वडा नम्बर २९ की वडा सचिव पञ्चमाया तामाङले बताइन् ।

Comments

About the author

चितवन पोष्ट