गृह » पशुपति आमा (कथा)
साहित्य

पशुपति आमा (कथा)

सिमाना आत्रेय
बिहानको चिसो मौसममा म सबेरै पशुपति जान हिडेँ नुवाइधुवाइ गरेर । घडीले पाँच ठोक्दै थियो । लामो दिन भएर हो कि छिट्टै बिहान हुन्छ आजकाल । ‘नानी ए नानी, म गएँ पूजा गरेर आउँछु । उठेर कसेर लगाएस् नि । घरमा लच्छिन बस्छन्’, म हातमा पूजाको थाली समातेर ममीले जस्तै गरी बहिनीलाई झक्झकाउँदै भने । सपनामा बोली या बिपनामा उसले हुन्छ भनी । म सरासर भ¥याङ ओर्लिएँ, र पिच बाटो पछ्याउँदै हिडिरहेँ ।मेरो विचार हिँडेरै पशुपति पुग्नु थियो, किनकी पहिलो कुरो त म मोटी थिएँ र अर्को कुरा ममीले भनिरहनुहुन्छ कि खाली पेटमा पैँतालाले टेकेर पुगियो भने जेजे माग्यो त्यहीत्यही पुग्छ । मलाई माग्नु थियो, ब्याचलर पास भएको सर्टिफिकेट ।
पिँ पिँ पिँ… गाडीको चर्को आवाज कानै खाने । पछाडि फर्केर हेरेँ । अधबैँसे मान्छे, अति सभ्य र सुशिक्षित अनुहार । भर्खरै चट्ट पारेर आएका कपाल र दाह्री । मुसुक्क हाँस्दै त्यो मान्छे बोल्यो– ‘ए नानी, तिमी तरूनी भइछौ । ‘तिमी हरिहरकी छोरी होइनौ ?’
मन नलागेरै भए नि हो भनेँ । उताबाट अरु पनि सुन्दै गएँ– ‘मलाई चिनिनौ नानी ? के चिन्थ्यौ ! सानी थियौ, अचेल चिनिनै नसकिने भइछ्यौ । म ममताको ड्याडी ।’
‘ए, काका पो हुनुहुँदो रै’छ । नमस्कार काका ! अनि ममताको के छ नि खवर ?’ मैले सोधेँ ।
काका बोल्नुभो, ‘ठीक छ, तिमीलाई सम्झिराख्छे । पूजाको थाली लिएर कुन मन्दिर जान लाग्यौ ?’ ‘पशुपति जान लागेको काका’, मैले भनेँ । ‘त्यत्ति टाढा जान्छ्यौ ? बस गाडीमा म पु¥याइदिन्छु’, काकाले भन्नुभो । साथीको बुबाले भनेपछि मान्नैप¥यो ।
‘अनि नानी, आज सोमबार । राम्रो पति पाऊँ भनेर माग्न लाग्यौ कि ?’ काकाले यति भनेपछि लजाएँ म ।
ममता, मेरो मिल्ने साथी गाउँमा हुँदा । उसको बुबा गाउँकै एक प्रतिष्ठित व्यक्ति । गाउँमा सबैका देवता । समाजसेवी र राजनीतिक पार्टीका नेता स्थानीयस्तरमा । उहाँप्रति ठूलो श्रद्धा र विश्वास थियो गाउँलेहरुको । गरिबी, अज्ञानता हटाउन उहाँले गरेका संघर्षहरु पनि बेलाबखत सुनाइरहनुहुन्छ मलाई बुबाले । मलाई याद छ, गाउँमा एक जना विधुवा हुनुहुन्थ्यो । सबैले उहाँलाई छिःछिः र दूरदूर गर्थे, तर उहाँ सधैँ सहारविहीनकै पक्षमा बोल्नुहुन्थ्यो । उहाँको विरूद्धमा बोल्ने आँट कसैले गर्दैनथ्यो । काकाको नाम राजाकृष्ण घिमिरे । श्रद्धाले सबैले राज दाइ भन्थे । उहाँको एकमात्र सन्तान हो ममता । परिवर्तन आफैँबाट सुरू गनुपर्छ भनेर उहाँले दोस्रो सन्तानको इच्छा नराखेको कुरा ममताको ममी र मेरो ममी पिँढीमा बसेर कुरा गर्दै गर्दा सुनेको थिएँ । छोरा र छोरी समान हुन् भनेर उहाँले नै समाजलाई पाठ सिकाउनुभयो । ममता पनि त्यहीअनुसार पढाइमा अति नै ट्यालेन्ट थिई ।‘नानी के छ बाबाको खबर ?’ गाडीमा बसिसकेपछि राज काकाले सोध्नुभयो । ‘ठिकै छ काका, बरू हजुरको के छ ? गाउँमै हुनुहुन्छ कि  यतै काठमाडौँतिर ? ममतासँग भेट नभएको नि १० वर्ष भयो । उसले चिन्ली र काका मलाई ?’ काका मुसुक्क हाँस्नुभयो । ‘लाटी, किन नचिन्नु ! सानोमा कुवाअगाडि खिचेको फोटो हेरेर म गाउँ जाँदा सोधिराख्छे ।’ ‘काका, तपाईं काठमाडौँमा अनि काकी र ममता गाउँमा ?’ काकाले टाउको मात्रै हल्लाउनुभयो ।
‘ल नानी, पशुपति आइपुग्यो ।’
‘हस् काका’, म गाडीबाट झरेँ । ‘बाई काका’, उहाँले बाई भन्नुभयो या भन्नुभएन, गाडी तेज रफ्तारले कुद्यो । ओझेल नपरून्जेल हेरिराखेँ । बिहानीपख भएर हो कि वातावरण सुनसान र शान्त थियो । पशुपति परिसरमा धेरै मान्छेहरुको आवतजावत देखिन्थ्यो । पशुपतिनाथको मूलगेट पुग्नुभन्दाअघि दायाँपट्टि भत्किनै लागेको पाटीमा असह्य खोकीको आवाज आयो । हेरेँ, ती बूढी आइमाईको अनुहार । मुजैमुजा परेका सेता छाला आइरन लगाएर तिनिक्क तन्काउनु पर्नेजस्ता देखिन्थे । कपाल जोगीका जस्ता लट्टे परेका, मयलले होला सायद ! घाँटीबाटै छुट्टिन्थ्यो उनले सास फेरे नफेरेको । फेरि गाह्रो गरी बल्लतल्ल खोकिन् ती बूढीआमाले । अलि राम्ररी नियालेँ । आँखा त ममताकी हजुरआमाको जस्तो । एकचोटि आँखा मिचेर फेरि हेरेँ, ममताकी हजुरआमा अगाडि कचौरा लिएर हात फैलाउनुभएको । हाय, के देख्नुप¥यो ! विश्वास गर्न मन मानेकै थिएन ।
‘आमा !’ उनले मतिर दृष्टि फ्याँकिन् । ‘आमा, म ममताकी साथी’, म बिस्तारै बोलेँ । बल्ल उहाँका आँखामा आत्मीयता पाएँ । ‘सन्चो बिसन्चो के छ ? म ठीक छु आमा । तपाईं यहाँ किन आउनुभयो ?’ मैले सोधेँ ।
‘नानी, भाग्यले जहाँ डो¥यायो त्यहीँ जानुपर्छ । मेरो भाग्य नै उस्तो, अभागी म । साथमा न छोराछोरी, न पति नै । मलाई छोडेर स्वर्गमा जानुभयो पतिदेव । मलाई काल झट्टै लिन आइज ।’ उहाँको आँखाभरि आँसु थियो । ‘आमा, के भन्नुभाको ? कसरी यहाँ आइपुग्नुभयो ?’, मैले सोधेँ । उहाँ केही बोल्नुभएन । मैले व्यर्थै सोधेछु, मन दुखाएँ उहाँको । उहाँको आँखा हेरे । आँसुको पोखरीको बाँध फुट्नै लागेझैँ देखिन्थे । मसँग आँट रहेन बोल्ने । उठेँ गह्रौ मन लिएर । ‘बाबै ! कहिलेकाहीँ पशुपति दर्शन गर्न आउँदा भेटेस् है । नमरून्जेल म यहीँ हुन्छु’, आमाको कुरामा पीडा छचल्किएको थियो । गला अवरूद्ध भएको स्वरले सानो आवाजले बोलेँ, ‘आमा, काल कुरेरै बस्न आउनुभएको ?’
‘बाबै के गर्नु ! लोकले भगवान् ठान्छ मेरो छोरोलाई । बुहारी त असल छे, तर के गर्नु बाबै ! ममताको बाउले गाउँकै विधुवालाई भगाएर काठमाडौँमा उसलाई भाँडा माझ्न लगाएको छ रे ! बिचरी, लोग्ने मरिगो । राजको पछि लागेर केके न सुख पाउँछु भनेर भागी । आइमाईको चोला, कहाँ सुख लेखेको छ र नानी ! कुन्नि के जाति हो, सभासद् भाछ छोरो । मलाई घरबाट पशुपति घुम्न जाऊँ आमा भनेर काठमाडौँमा ल्यार अलपत्र पार्दियो’, आमाले रूँदैँ भन्नुभयो ।
‘आमा, ममताकी ममी त असल हुनुहुन्छ नि, घर फर्किनुहुन्न ?’ ‘जान्नँ बाबै जान्नँ । म गए बिचरीले कति वचन खानुपर्छ । नभनेस् है बाबै कसैलाई । म काहीँ जान्नँ । बाबै, ठूलो हैन असल बन्नू है’, आमाले यत्ति भन्दा मैले मुन्टो हल्लाएँ हुन्छ भनेर । ‘आमा, म जान्छु पूजा गरेर, बरू हजुर हिँड्नू न आमा ।’ ‘होइन बाबै, म काहीँ जान्नँ । आखिर, पोल्न यहीँ लिएर आउनुपर्छ । म मर्ने बेलामा पशुपतिमा काल कुर्नुपर्ने भाग्य रैछ र त बाबै न्वारानमा पण्डितले पशुपति जुराइदिएका थिए नाम’, मजेत्रोले आँसु पुछ्दै आमाले भन्नुभयो । ‘आमा, म हजुरलाई के लिएर आऊँ ? मच्छेड धेरै लाग्छन् आमा, म झूल लिएर आउँछु है ।’
‘पर्दैन बाबै, बरू काल लिएर आएस् नानी । म मर्नेलाई किन चाहियो झूल ? बाबै, कन्ये केटीले मागेको पुग्छ भन्छन्, मेरो लागि काल मागी दे न ।’ म टाउको हल्लाएर हिडेँ, पूजाको थाली बोकेर । पूजा गरेर मनमनै भनेँ– ए पशुपतिनाथ ! आफ्नी आमा पाल्नसक्ने सुपुत्र देऊ । रून नपरोस् कुनै पनि आमा सन्तानको कारणले । समाजमा ठूला भनाउँदाहरुको बुद्धि देखेर रिस उठ्यो । ममताका बुबा अर्थात् राज काकाले किन त्यसो गरे होलान् ! उनलाई थाहा होला कि नहोला, आमाको यो हविगत । हराइन् आमा भनेर खोज्दै भौँतारिँदै हिड्छन् कि ? गाडी चढ्ने ठाउँसम्म आइपुगेँ अनि झल्याँस्स सम्झिएँ । ला, भोलि ब्याचलरको रिजल्ट आउने दिन । भगवान् पास गराइदेऊ भन्न भुसुक्कै बिर्सेछु । मुटु ढुकढुक भइराख्यो, फेल हुने हो कि भनेर । 

 

Comments

About the author

चितवन पोष्ट