गृह » नारायणगढमा मोतीरामको सम्झना  ‘थोरै लेखेर पनि सफल भए मोती’
समाचार समाज साहित्य

नारायणगढमा मोतीरामको सम्झना  ‘थोरै लेखेर पनि सफल भए मोती’

–तुलमान गुरूङ
नारायणगढ । मोती जयन्तीको पूर्वसन्ध्यामा यूराशिया रेयुकाई समाज विकास केन्द्र नारायणगढले गजल वाचन कार्यक्रम आयोजना गरेर मोतीराम भट्टलाई सम्झेको छ ।
नेपाली गजल साहित्यका सशक्त व्यक्तित्वको रूपमा ख्याती कमाएका युवा कवि एवम् गजलकार मोतीराम भट्टको १५२ औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा केन्द्रले गजल वाचन कार्यक्रम गरेको हो । नेपाली साहित्य विधामा मोतीराम भट्टको परिचय पृथक भएकोले केन्द्रले उनको सम्झनामा यसवर्ष गजल वाचन कार्यक्रम आयोजना गरेको केन्द्रका सचिव बद्रीनाथ पोख्रेलले बताए । नेपाली साहित्यको विकास र उन्नयनमा उनको भूमिकाबारे जति नै प्रशंसा गरे पनि कम हुने उनको भनाइ थियो ।
सबै उमेर समूहका करिब २० भन्दा बढी गजलकारहरूले मोतीराम भट्टको सम्झनामा एक÷एकवटा गजल सुनाएका थिए । कार्यक्रममा गजल वाचनसँगै गजलकार भट्टको विषयमा चर्चा परिचर्चासमेत गरियो । वरिष्ठ गीतकार तथा साहित्यकार प्रेमविनोद नन्दनले सानै उमेरमा मोतीराम भट्टले नेपाली साहित्यका लगभग सबै विधामा कलम चलाएर सफलता प्राप्त गरेको स्मरण गराए ।
अहिले मोतीरामको बाटोमा धेरै युवापुस्ता हिँडिरहेको भन्दै उनले भने, ‘व्यक्ति चर्चामा आउनका लागि धेरै लेखेर मात्रै हुँदैन । थोरै लेखेर पनि पृथक र सशक्त भएमा उसले सफलता पाउन सक्छ । जुन मोतीराम भट्टले गरे र सफलता पनि पाए ।’ कवि एवम् गजलकार कपिल अज्ञातले पनि मोतीराम भट्टबाट साहित्यको धेरै कुराहरू सिक्न सकिने उदाहरण दिए । ‘सानै उमेरमा नेपाली गजल विधाका सबैजसो क्षेत्रमा सफलता पाउनु भनेको चानचुने कुरा होइन,’ उनले भने । थोरै समयमा पनि धेरै ठूलो योगदान दिएकोले अहिलेसम्म पनि नेपालमा उनको सम्मानजनक स्थान रहेको उनको भनाइ छ ।
कार्यक्रममा धनराज गिरी, लकाश पौडेल, द्वारिका नेपाल, पुष्प अधिकारी ‘अञ्जली’, विनोद अनुज, लेखराम सापकोटा, सरला जोशी, बालकृष्ण थपलिया, गोर्खे साइँलो, मुकुन्द खलपात्र, विमर्श कँडेललगायतका गजलकारहरूले पनि आ–आफ्ना गजल सुनाएका थिए । नेपालको राष्ट्रिय विभूतिको उपाधि पाएका भट्टको ३० वर्षकै अल्पायुमा निधन भएका हो । विसं १९२३ साल भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्मेका भट्टलाई विशेष गरी श्रृङ्गार रसलाई केन्द्रबिन्दुमा राखेर गजल लेख्ने गजलकारकोरूपमा लिइन्छ ।
जीवनको छोटो समयमै कथा, नाटक र निबन्धसमेत रचना गरिसकेकाले उनलाई भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेताको रूपमा समेत लिने गरिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई भिœयाएको मानिन्छ ।

 

Comments

About the author

चितवन पोष्ट