गृह » हेमा आलेको कथासङ्ग्रह ‘बिचरा ध्वाँसे’माथि एक दृष्टि
साहित्य

हेमा आलेको कथासङ्ग्रह ‘बिचरा ध्वाँसे’माथि एक दृष्टि

डा. धनपति कोइराला
क) आमुख
हेमा आले २०४२ सालमा नवलपरासीमा जन्मिएकी हुन् । स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हाँसिल गरेकी आले चण्डेश्वरी माध्यमिक विद्यालय नवलपरासीमा कार्यरत छिन् । उनी नेपाल मगर लेखक सङ्घको केन्द्रीय सदस्य तथा नारी साहित्य समाज नवलपरासीकी उपाध्यक्ष पदमा आसीन छिन् । उनले नेपाल मगर लेखक सङ्घ लुम्बिनीको मुखपत्र ‘उदिम’को सम्पादन तथा ‘आरमिट्जेस मिरिक गोम्होक’को अनुवाद गरेकी छन् । वर्तमानसम्म उनका मगर भाषाको गजलसङ्ग्रह ‘रीकमा’ (२०६६), मगर भाषाको कथासङ्ग्रह ‘बोगी’ (२०७०) र मगर भाषाको बालकथासङ्ग्रह ‘बोपरा खुया’ अर्थात् ‘बिचरा ध्वाँसे’ (२०७१) प्रकाशित छन् । मगर भाषासाहित्यको संरक्षण, संवद्र्धन र विकासमा क्रियाशील हेमाका नेपाली भाषामा पनि विभिन्न पत्रपत्रिकाहरुमा थुप्रै फुटकर रचनाहरु प्रकाशित छन् । उनी समसामयिक युगमा देखा परेकी बालकथाकार हुन् ।
वर्तमानमा नेपाली बालसाहित्य पनि निकै उन्नत तहमा पुगेको छ । रमेश विकल, परशु प्रधान, गंगा प्रधान, गोविन्दराज विनोदी, प्रभा भट्टराई आदिले बालसाहित्यको विकासमा विशेष योगदान पु¥याएका छन् । यिनै बालसाहित्यकारहरुले पल्लवित एवम् पुष्पित तुल्याएको बाललेखन परम्परामा देखा परेका छन् ‘बोगी’ र ‘बोपरा खुया’ ।
ख) संरचना 
‘बोपरा खुया’ अर्थात् ‘बिचरा ध्वाँसे’ सामान्यभन्दा अलिक ठूलो आकृतिमा प्रस्तुत छ । यसमा जम्मा ४८ पृष्ठ छन् । आरम्भ भागमा दस र मूलभागमा ३८ पृष्ठ छन् । आरम्भ खण्डमा शुभकामना, लेखकीय र विषयसूचीहरु छन् । यसमा पाँच कथा छन् । हरेक पृष्ठमा पहिले देवनागरी लिपिमा मगर भाषा र पछि त्यसैलाई अर्को पृष्ठमा नेपाली भाषाका माध्यमबाट कथा प्रस्तुत गरिएको छ । सबैभन्दा छोटो कथा ‘बोपरा खुया’ र ‘खुस’ देखिएका छन् । यी दुवैमा छ÷छ पृष्ठ छन् । साथै सबैभन्दा लामो कथा ‘ङा ङाल्लाहाकाट, म ‘बोपरा खुया’ अर्थात् ‘बिचरा ध्वाँसे’ले मोइ’÷‘म एक्लै छैन आमा’ हो । यसमा १० पृृष्ठ छन् । प्रत्येक कथामा कथावस्तुअनुरुपका चित्रहरु पनि छन्, तर ती बालबालिका भन्न पनि नसुहाउने मोटा र ठूला उमेर समूहका जस्ता छन् र अलिक ठूला पनि छन् । बिरालो, मान्छे, बाटुली र डोकोको चित्र पनि नसुहाउँदो गरी अलिक जुम गरेर राखिएको छ ।
ग) विषयवस्तु
‘मोई सेरेङम छाना’ अर्थात् ‘आमा खुशी हुनुभयो’ पहिलो क्रममा रहेको बालकथा हो । यसमा आमा, मामा, निमी र टुगा पात्रहरु छन् । निमी र टुगा बालपात्र हुन् । निमी मुख्य र अरु सहायक पात्रका रुपमा प्रस्तुत छन् । पारिवारिक पृष्ठभूमिमा आधारित यस कथामा दुई दिनको घटनाक्रम रहेको छ । दिदी घरमा आएका मामाले घर फर्कने बेलामा भान्जाभान्जीलाई दिएको एक–एकसय रूपैयाँमध्ये भाइ टुगाले एकदिनको स्कुल खाजामै पचास रूपैयाँ सिध्याउँछ, तर दिदी निमीले चाहिँ बचाएर राख्छे । उसले अरु आफन्त, पाहुना र बाबाआमाले चाडपर्वहरुमा दिएको पैसा पनि बचाएर खुत्रुकेमा राख्ने गरेकी हुन्छे । त्यही पैसाले आपूmलाई चाहिने शैक्षिक सामग्री किन्ने, चाहिएको बेला बाबाआमालाई पनि दिने, यसपटक शैक्षिक भ्रमणका लागि खर्च गर्ने कुरा भाइलाई सुनाउँछे । उसको कुरा सुनेर पहिले हामीलाई चाहिने शैक्षिक सामग्रीहरु त बाबाआमाले किनिदिइहाल्नुहुन्छ नि, आमाले बनाएर पठाएको खाजा त मीठै लाग्दैन भन्ने भाइ पनि पैसा बचाउन राजी हुन्छ । भान्साकोठाबाट दुवैको संवाद सुनिरहेकी आमाले पनि उनीहरुको विवेकशील विचारलाई समर्थन गर्छिन् अनि दुवैलाई धन्यवाद दिन्छिन् ।
‘खुस’ अर्थात् ‘चोर’ दोस्रो क्रममा रहेको कथा हो । यसमा सन्देशभन्दा ज्यादा मनोरञ्जन प्रस्तुत गरिएको छ । नम्सु÷आशीष, मम्मी, बुबा, पारस, गाउँले, सिपाही यसका पात्रहरु हुन् । कालो भालु यसमा प्रस्तुत मानवेतर पात्र हो । नम्सु मुख्य, मम्मी र बुबा सहायक अरु गौण चरित्रहरु हुन् । नम्सु बालपात्र हो । आमाले पटकपटक सुत्न निर्देश गरिरहँदा पनि नटेरीकन ऊ राती अबेरसम्म टिभीमा कार्टुन हेरिरहेको हुन्छ । निकै रात छिप्पिएपछि बारीमा कसैले आलुबारी खोस्रिँदै गरेको आवाज आउँछ । ऊ उठ्छ र भ्mयालनेर गएर हेर्छ । स्पष्ट आकृति नदेखिएकाले उसले बाबालाई उठाउँछ । उसका बाबा चाल मार्दै बारीमा पुग्छन् र आलु खनिरहेको आकृतिलाई बोराले बाँधेर चुट्छन् । हल्लीखल्लीले गाउँलेहरु त्यहाँ आउँछन् र त्यसलाई चुट्न थाल्छन् । नम्सु र उसका आमाको आग्रहमा गाउँलेहरुले चुट्न छोडेर आलु चोर को रहेछ भनेर हेर्न बोराबाट बाहिर निकाल्दा बेहोस भइसकेको भालु देख्छन् । केही मान्छे डराउँछन् । रातभरि कुरेर भोलिपल्ट चितवन निकुञ्जका अधिकारीलाई बोलाएर भालु जिम्मा लगाउँछन् ।
‘बोपरा खुया’ अर्थात् ‘बिचरा ध्वाँसे’ तेस्रो अनुक्रमको कथा हो । यसमा बिरालोलाई मुख्य पात्र बनाइएको छ । मुसा पनि मानवेतर पात्रकै रुपमा प्रस्तुत छ । घमानसिं, उसको आमा र बुबा मानव पात्रका रुपमा प्रस्तुत छन् । पहिले पहिले बिरालोले मुसा मारेर पेटपालो गरे पनि केही समययता दूधभातमा पल्किएर बिरालो अल्छे भएको छ । उसले मुसा मार्न छोडेको छ । बरू, सुटुक्क घरभित्र छिरेर दूध खान थालेको छ । सँगसँगै गाली र झटारो पनि खान थालेको छ । एकदिन घरमा कोही नभएको मौका छोपेर बिरालो भान्साकोठामा छिर्छ । अरु केही फेला नपरेपछि घिउको हर्पेमा टाउको छिराएर घिउ चाट्न थाल्छ । यति नै बेला घाँसको भारी लिएर आइपुगेकी घमानसिंहकी आमाले उसको चोरी देख्छिन् र उसको ठाडमा लठ्ठी बजार्छिन् । हर्पेमा टाउको अड्किएपछि ऊ यताउता ठक्कर खाँदै भाग्ने प्रयत्न गर्दछ तर सक्दैन । ऊ ठोक्किँदै दैलाबाहिर पुग्छ । अझै पनि उसको टाउकोमा हर्पे अड्किएकै हुन्छ ।   ‘मिक राहनाङ’ अर्थात् ‘निदाउँदा’ चौँथो क्रममा रहेको छ । यसमा ड्याँभु थापा मगर, उसका मम्मी र बाबा, हेडसर, आकृति, मौसम, देविना मिस, पियन मामा आदि पात्र रहेका छन् । ड्याँभु यस कथाको मुख्य पात्र हो र ऊ बालपात्र पनि हो । आकृति र मौसम पनि बालपात्रहरु नै हुन् । गर्मी मौसम आरम्भ भएपछि बिहानी सत्रमा पठनपाठन हुन थालेकाले अरु बालबालिकाहरुसँगै ड्याँभु पनि विद्यालय पुग्दछ । टिफिन समयमा आकृतिसँग मिलेर खाजा खान्छ । देविना शिक्षिकाले कथा भनिरहँदा निदाएको ड्याँभु सबै साथी घर गइसक्ता पनि ऊ त्यहीँ निदाइरहेकै हुन्छ । पियन मामाले त्यसदिन बिहानै कोठाको सरसफाइ गरिसकेकाले उनले भित्र राम्ररी नहेरीकनै कोठामा ताला लगाइदिन्छन् । दिउँसो १ वजेतिर बिउँझदा आपूmलाई एक्लो पाएपछि ऊ बिलखबन्दमा पर्दछ । छिमेकका सबै बच्चा घरमा आइपुग्दा पनि ड्याँभु नआएपछि खोजी गर्दा ऊ फेला परी घरमा पुग्न सफल हुन्छ र आइन्दा अब कहिल्यै कक्षामा ननिदाउने प्रण गर्दछ । यसमा विद्यालय र घरलाई मुख्य स्थानगत तथा करिब बिहान ६ बजेदेखि त्यसै दिनको दिउँसो दुई बजेसम्मको समयावधिलाई स्थानगत परिवेश बनाइएको छ ।
‘ङा ङाल्लाहाकाट माले मोइ’ अर्थात् ‘म एक्लै छैन आमा’ यस सङ्ग्रहमा सङ्कलित अन्तिम तथा पाँचौँ कथा हो । यसमा बाटुली मुख्य पात्रका रुपमा रहेकी छे । सहायक चरित्रका रुपमा सौतेनी आमा र गौणपात्रका रुपमा भाइ, वैदेशिक रोजगारीमा गएका बुबा, स्वर्गीय आमा र गाउँले रहेका छन् । बाटुली कलिलै छे तर उसले घरको सारा घरधन्दा एक्लै सम्हालिरहेकी छे । भनेको बेला मीठो खान त के जस्तै भए पनि पेटभरि खान पाउँदिन । भाले डाकसँगै उठेर उसले गाईभैँसीलाई कुँडो पकाउने, खुवाउने, टाढाको धारोमा गएर पानी ल्याउने, डरलाग्दो जंगल गएर घाँस ल्याउने, घरधन्दा गर्ने आदि काम दिनहुँ गर्नुपर्छ । गाउँका अरु केटाकेटी र भाइले झैँ धेरै पढ्ने चाहना उसमा पनि छ । तर, उसलाई बुबा र सौतेनी आमाले पढाइबाट वञ्चित गरिदी घरको बँधुवा मजदुर बनाएर राखेका छन् । एकदिन भोकै घाँस काट्न गएका दिन अजिङ्गरले निल्ने प्रयत्न गर्दछ । आधाजसो निल्दै गर्दा ऊ सँगै भएको हँसियाले साँपको एकतिरको मुख पूरै चिर्दै लैजान्छ । पेटसम्मै चिरिएपछि अजिङ्गर मर्दछ । ऊ बेहोस हुन्छे । दिउँसो जङ्गल गएका गाउँलेले देखेर बोकेर ल्याउँछन् र सबै वृतान्त सुनाउँछन् । यस घटनाबाट उसलाई आपूm एक्लै नभएको बरू भगवान् अनि जन्म दिने आमा पनि आपूmसँगै रहेको विश्वास पैदा हुन्छ ।
घ) सारवस्तु
‘मोई सेरेङम छाना’ अर्थात् ‘आमा खुशी हुनुभयो’ कथा निकै सन्देशमूलक छ । यसमा बालबालिकामा सानैदेखि बचत गर्ने बानीको विकास गर्न खोजिएको छ, साथै बजारमा तयार पारिने अस्वस्थकर खाजा, नास्तादेखि चिजबल, कुरकुरे, चाउचाउजस्ता वस्तु सेवन गर्न नहुने सल्लाह दिइएको छ । घरका सानाठूला समस्याहरुमा संलग्न गराई उनीहरुमा उत्तरदायित्वबोध गर्ने भावनाको विकास गर्न खोजिएको पनि छ । बालबालिकालाई ताडना र गालीगलौज गर्ने तरिकाबाट नभई स्नेहपूर्ण वातावरणमै धेरै कुरा सिकाउन सकिने यथार्थ प्रस्तुत गरिएको छ । ‘खुस’ अर्थात् ‘चोर’ मा एकातिर बालबालिकामा निडरपना, साहस र दयालु भावना विकास गर्न खोजिएको छ भने अर्कोतिर अभिभावकलाई थोरै कठोर बन्न सल्लाह दिइएको पनि छ । निद्रा नपु¥याई अबेरसम्म बस्नु स्वास्थ्यका दृष्टिले अत्यन्त हानिकारक छ । त्यसमा पनि बच्चाले कम्तीमा आठदेखि दस घन्टासम्म सुत्नु अनिवार्य छ । धेरै टेलिभिजन हेर्नाले बच्चाको आँखामा निकै हानि पु¥याउँछ । यसतर्फ सचेत रहन परोक्ष रुपमा सल्लाह दिइएको पनि छ । निकुञ्ज क्षेत्रमा वन्यजन्तुले भौतिक तथा आर्थिक रुपमा पु¥याइरहेको क्षतितर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।
प्रस्तुत कथा मनोरञ्जनभन्दा पनि सन्देशप्रधान रहेको देखिन्छ । यसले जस्तो कर्म गरिन्छ त्यस्तै फल प्राप्त हुन्छ भन्ने सन्देश प्रवाह गरेको छ । कसैलै देख्दैनन् र थाहा पनि पाउँदैनन् भनेर नराम्रो काम गर्नेहरु कुनै न कुनै दिन पक्राउ पर्छन् भन्ने यथार्थ प्रस्तुत गरी कहिल्यै पनि नराम्रो काम नगर्न सल्लाह दिएको छ । साथै, यसले परिश्रमकै फल मीठो र न्यायसङ्गत पनि भएकाले आआफ्नो जातधर्म र संस्कारअनुरुप कर्म गरी जिउन आग्रह गरेको पनि छ । ‘मिक राहनाङ’ अर्थात् ‘निदाउँदा’मा सानो असावधानीबाट घट्नसक्ने भयानक दुर्घटनाको सङ्केत गरिएको छ । यसमा कक्षा भइरहेकै समयमा बालक निदाएको नदेख्नु शिक्षकको गम्मीर कमजोरी हो । पियन मामाले पनि कक्षामा कसैको सामान छुटे नछुटेको, केही रहे नरहेको आदि सबै निगरानी गरी ढोका बन्द गर्नुपर्नेमा त्यसको पर्वाहै नगरी ढोका बन्द गर्नुलाई सामान्य कमजोरी मात्र मान्ने परिस्थिति देखिन्न । यसले विद्यालय प्रशासनदेखि पूरै यस क्षेत्रलाई नै छुने हुनाले सम्बन्धित सबैलाई सचेत गराएको छ । ड्याँभुले आइन्दा ननिदाउने प्रण गरे पनि शरीर र यसका सारा गतिविधि चेतनको मात्र नियन्त्रणमा नरहने हुनाले फेरि पनि ऊ निदाउन सक्तछ । गर्मी मौसम भएकाले अर्को अर्को पनि निदाइरहन सक्तछ । यस तथ्यलाई सम्बन्धित उच्च ज्योति प्राथमिक विद्यालयले मात्र नभई देशभरिका सबै शिक्षालयले यो रचना पढी यस्तो सावधानी अपनाउन सल्लाह दिइएको छ ।
‘ङा ङाल्लाहाकाट माले मोइ’ अर्थात् ‘म एक्लै छैन आमा’मा जसको कोही छैनन् उसलाई हेर्ने र संरक्षण दिने भगवान् हुन्छन् भन्ने सन्देश प्रवाह गरेको छ । सही र कर्तव्यको मार्गमा लाग्नेमाथि अनेकौँ समस्या आइपर्छन्, तर ती क्रमशः समाधान हुन्छन् । धैर्य नगुमाईकन आइपर्ने समस्याको मुकाबिला गरिरहे विजय अवश्य प्राप्त हुन्छ भन्ने शिक्षा दिएको पनि छ । यसमा सरल र सज्जन मन भएका मानिसलाई सताउनेहरुमाथि कुनै दण्ड दिएको वा सामाजिक बहिष्कार गर्नेजस्ता व्यवहार प्रस्तुत गर्न सकिएको भए कथा अझै प्रभावकारी हुने अपेक्षा राख्न सकिन्छ ।
ङ) शैलीशिल्प
‘मोई सेरेङम छाना’ अर्थात् ‘आमा खुशी हुनुभयो’मा बाह्यअन्तर्गत सर्वदर्शी दृष्टिविन्दु रहेको छ । आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित यस कथामा वर्णनात्मकभन्दा संवादात्मक शैली प्रस्तुत छ । शीर्षक, विषय र कथ्यका बीच अन्तरसम्बन्ध रहेकाले यसको शीर्षक सार्थक रहेको छ । ‘खुस’ अर्थात् ‘चोर’ मा एकनिद्रा पु¥याएर बिउँझदा पनि राति अबेरसम्म बच्चालाई टेलिभिजन हेरिरहेकोमा अभिभावकले दिएको निर्देशन त्यति सुहाउँदो देखिन्न भने सानो कक्षामा अध्ययनरत बच्चाले नसुतेर टिभी हेरिरहने कुरा पनि त्यति जँच्दैन । विश्वसनीयताका दृष्टिले घरबाहिरबाट आएको आवाज सुनेर भयभीत नहुनु, बुबासँगै आमाछोरा दुवै चोर पक्रन बारीतिर जानु पनि त्यति जँच्दैन । भालुले आलु खन्दै बोरामा हाल्दै गरेको कथन पनि त्यति विश्वसनीय लाग्दैन । यसर्थ, यसमा थोरै अतिरञ्जनाको प्रयोग गरिएको प्रतीत हुन्छ । बाह्यअन्तर्गत सर्वदर्शी दृष्टिविन्दु उपयोग गरिएको यस कथामा वर्णनात्मक तथा सरल रैखिक विधिकै उपयोग गरिएको छ । ‘बोपरा खुया’ अर्थात् ‘बिचरा ध्वाँसे’मा बाह्यअन्तर्गत सर्वज्ञ दृष्टिविन्दुको उपयोग गरिएको यस कथामा सरल रैखिक पद्धति रहेको छ । संवादभन्दा वर्णनात्मक शैलीको रहेको यस कथामा कौतूहलता रहेको छ । ‘मिक राहनाङ’ अर्थात् ‘निदाउँदा’मा पनि बाह्यअन्तर्गत सर्वज्ञ नै दृष्टिविन्दु रहेको यस कथामा सरल रैखिक कथनपद्धति तथा वर्णनात्मक विधि अनुशरण गरिएको छ । ‘ङा ङाल्लाहाकाट माले मोइ’ अर्थात् ‘म एक्लै छैन आमा’मा पनि बाह्यअन्तर्गत सर्वज्ञ नै दृष्टिविन्दु रहेको छ । यसमा पनि सरलरैखिक कथनपद्धति तथा वर्णनात्मक विधिकै अनुशरण गरिएको छ ।
च) भाषा
यस सङ्ग्रहमा एकातिरको पृष्ठमा मगर र अर्कोतिरको पृष्ठमा नेपाली भाषाको प्रयोग गरिएको छ । वर्णविन्यासगत त्रुटि नरहोस् भनी निकै हेक्का पु¥याइएको भए पनि कताकति त्रुटि रहन गएको देखिन्छ । भाषामा मगरमातृभाषाको प्रभाव देखिए पनि त्यो स्वाभाविक रहेको छ र भावानुकूल छ । भाषिक तथा वाक्यगठनका दृष्टिले सक्दो प्रयत्न गरिएको छ, तापनि यसमा अझै परिष्कृति अपेक्षित छ । छ) निष्कर्ष  ‘बोपरा खुया’ मूलतः बालकथासङ्ग्रह हो । नैतिक सन्देश प्रदान गर्नु यसको सारवस्तु हो । यसमा यो सफल पनि छ । यसले बालमनोरञ्जनलाई पनि उत्तिकै मह¤व दिएको छ । द्विभाषिकता यस कृतिको विशेषता हो । पारिवारिक, सामाजिक, शैक्षिक परिवेशलाई यसमा आधार बनाइएको छ । बाह्यअन्तर्गत सर्वज्ञ दृष्टिविन्दु, सरलरैखिक कथन पद्धति, संवादभन्दा ज्यादा वर्णनात्मक पद्धति तथा मगरमातृभाषाको लवज पनि यसका विशेषता हुन् । भावानुकूल भाषिक प्रयोग तथा अतिरञ्जना पनि यसका वैशिष्ट्यभित्रै पर्दछन् । बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्न सफल प्रस्तुत कृति सङ्ग्रहणीय, पठनीय तथा आस्वाद्य रहेको छ ।
ब्रेकिङ ःद्विभाषिकता यस कृतिको विशेषता हो । पारिवारिक, सामाजिक, शैक्षिक परिवेशलाई यसमा आधार बनाइएको छ । बाह्यअन्तर्गत सर्वज्ञ दृष्टिविन्दु, सरलरैखिक कथन पद्धति, संवादभन्दा ज्यादा वर्णनात्मक पद्धति तथा मगरमातृभाषाको लवज पनि यसका विशेषता हुन् । भावानुकूल भाषिक प्रयोग तथा अतिरञ्जना पनि यसका वैशिष्ट्यभित्रै पर्दछन् । बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्न सफल प्रस्तुत कृति सङ्ग्रहणीय, पठनीय तथा आस्वाद्य रहेको छ ।

Comments

About the author

चितवन पोष्ट