गृह » अक्सफोर्ड कलेज राजधानी बाहिरको उत्कृष्ट : ई. हरि भण्डारी
अन्तर्वार्ता

अक्सफोर्ड कलेज राजधानी बाहिरको उत्कृष्ट : ई. हरि भण्डारी

अक्सफोर्ड कलेज अफ इन्जिनियररिङ एण्ड म्यानेजमेन्ट तथा अक्सफोर्ड माध्यमिक विद्यालयका सञ्चालक तथा संस्थापक प्रिन्सिपल इन्जिनियर हरि भण्डारी नेपाल इन्जिनियर एसोसिएसन क्षेत्रीय केन्द्र भरतपुरका अध्यक्ष हुन् । उनी हालै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) नवलपरासी जिल्ला अध्यक्षसमेत भएका छन् । प्रिन्सिपल भण्डारी इण्डियाबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा इन्जिनियरको उपाधि पाएका व्यक्ति हुन् । उनले एमबीए, एमबीएस र कम्प्युटरमा पीजी डीसीए गरेका छन् । हालसालै उनले मेवार युनिभर्ससिटी इण्डियाबाट पीएचडी गर्दैछन् ।

नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको अक्सफोर्ड मावि तथा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले २०५७ सालदेखि राजधानी बाहिर एउटा छुट्टै पहिचान बनाइरहेको छ । तत्काल पोखरा विश्व–विद्यालयबाट सम्बन्धन प्राप्त गरी बीसीए कार्यक्रम चलाएको यस कलेजले २०५९ सालमा विज्ञान संकायमा कम्प्युटर ल्याएको थियो । २०६० मा यस कलेजले होटल म्यानेजमेन्टसँग कम्प्युटर साइन्स थपेको थियो । एकपछि अर्को संकाय थप्दै गएको यस कलेजले २०६१ सालमा पोखरा विश्वविद्यालयबाट बीबीए कार्यक्रम र २०६५ सालमा बीई (सिभिल) र २०६६ सालमा बीई (इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स) जस्ता प्राविधिक तथा व्यावसायिक विषयहरुको सम्बन्धन लिएर राजधानी बाहिर उज्यालो शैक्षिक दियो बनेको छ ।
भर्खरैमात्र भएको विज्ञान संकायको १२ कक्षामा अक्सफोर्डमा पढेका विद्यार्थी पवन शर्मा पौडेल नेपालकै तेस्रो र राजधानी बाहिर पहिलो भएका छन् । यसअघि पनि यस कलेजबाट ७२ जना विद्यार्थीहरुले डिन लिष्ट पदवी पाएका छन् भने ५/५ वटा गोल्ड मेडल प्राप्त गरेको छ । राजधानी बाहिर उत्कृष्ट कलेज बनिरहेको अक्सफोर्डले यहाँसम्म आइपुग्दा कसरी सफलता हासिल गरेको छ ? यसै विषयमा केन्द्रित रहेर चितवन पोष्टका पत्रकार किशोर खनालले कलेजका सञ्चालक तथा संस्थापक  प्रिन्सिपल हरि भण्डारीसँग गरेको कुराकानी :

प्रश्न : भर्खरै भएको विज्ञान संकायको १२ कक्षाको नतिजामा अक्सफोर्ड कलेज राजधानी बाहिर पहिलो र देशभर तेस्रो भयो, कलेजलाई यो सफलता मिल्नुको कारणहरु केके छन् ? 
– म ३१ वर्षदेखि शिक्षा क्षेत्रमा लागिरहेको छु । अक्सफोर्डले १७ वर्षदेखि लगातार उत्कृष्ट विद्यार्थी उत्पादन गरिरहेको छ । यही वर्ष विज्ञान संकायतर्फ १२ कक्षाको अन्तिम परीक्षामा छात्र पवन शर्मा पौडेल नेपाल तेस्रो र राजधानी बाहिर पहिलो भए । उनले ८८.६० प्रतिशत अंक ल्याए । यसअघि पनि प्लस टुमा व्यवस्थापनतर्फ पवन कँडेलले ८८.६० प्रतिशत अंक ल्याएर नेपाल तेस्रो र राजधानी बाहिर पहिलो भएका थिए । यस्तो सफलता अक्सफोर्ड कलेजलाई लगातार मिलिरहेको छ । यो सफलता पाउन हामीले धेरै मिहिनेत गरेका छौँ । शिक्षा क्षेत्रमा सफलता पाउन धेरै पक्षहरु सुन्दर हुनुपर्छ । पहिलो कारण त यहाँको (अक्सफोर्ड) व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै यो सफलता मिलेको हो । दोस्रो शिक्षकहरुको लगाव र आत्मबल बलियो हुनु हो । तेस्रो शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण हुनु हो । त्यसपछि विद्यार्थीको कडा मिहिनेत पनि हो । उनीहरुलाई उत्प्रेरणा जगाउन सक्नु प्रशासनको पनि ठूलो भूमिका छ । अर्को कारण समाजले अक्सफोर्डप्रति गरेको विश्वास हो । यस्ता विविध पक्ष सुन्दर भएका कारण अक्सफोडलाई यो सफलता मिलेको हो । अबका वर्षहरुमा पनि यो सफलता मिल्ने हामीले आशा गरेका छौँ ।
प्रश्न : वर्षैपिच्छे अक्सफोर्डको नतिजा उत्कृष्ट आइरहेको छ । यसको कारण त राम्रा विद्यार्थीमात्र लिएर पनि होला नि ?
– अक्सफोर्डमा कुनै पनि विद्यार्थी भर्ना हुन आउँछ भने उसको लागि कुनै मापदण्ड तोकिएको हुँदैन । प्रवेश परीक्षा त लिने गरिएको छ । एसएलसीमा कम अंक ल्याएका विद्यार्थीलाई प्रवेश परीक्षा पास गर्न सक्छन् भने उनीहरुलाई अक्सफोर्डको ढोका खुला हुन्छ । राम्रा विद्यार्थी मात्र होइन, कम अंक ल्याएका विद्यार्थी लिएर पनि हामीले उत्कृष्ट नतिजा निकालिरहेका छौँ । यसअघि म्यानेजमेन्टतर्फ प्लस टुमा नेपाल तेस्रो भएका विद्यार्थी पवन कँडेल राजधानीबाहिर पहिलो भएका हुन् । उनको एसएलसीमा दोस्रो श्रेणी मात्र आएको थियो, तर उनी नेपाल तेस्रो र राजधानीबाहिर पहिलो बनाउन हामी सफल भयौँ । त्यसैले हामीले कमजोर विद्यार्थीलाई पनि भर्ना लिन्छौँ र उत्कृष्ट बनाएर पठाउँछौँ । दोस्रो श्रेणीका धेरै विद्यार्थीहरुलाई भर्ना लिएर पहिलो श्रेणीमा पास गरेका थुप्रै उदाहरणहरु हामीसँग छन् ।
प्रश्न : अक्सफोर्डको यसअघिको नतिजा त राम्रो थिएन, पछिल्लो पटक राम्रो हुँदै आएको हो, यसमा केही कारण छन् र ?
– यसअघिको नतिजा पनि अक्सफोर्डको राम्रो थियो । यस वर्ष विज्ञान संकायको १२ कक्षामा ९१ प्रतिशत विद्यार्थी पास भएका छन् । कुनै वर्ष पनि अक्सफोर्डको ७० प्रतिशतभन्दा कम नतिजा छैन । गत वर्ष पनि ८८ प्रतिशत विद्यार्थी पास भएका थिए ।
स्नातकमा ५/५ वटा गोल्डमेडल प्राप्त भएको छ । २०५७ सालदेखि नै अक्सफोर्डको नतिजा राम्रो छ । कुनै वर्ष पनि अक्सफोर्डको नतिजा खस्केको छैन, खस्कन दिने पनि छैनौँ । लेखेर राख्नूस् आउने सालहरुको नतिजा अझ राम्रो आउनेछ । अक्सफोर्डका विद्यार्थी नेपाल टप भएका समाचार पनि तपाइँले लेख्नुपर्ने दिन आउँछ ।
प्रश्न : २०५७ सालदेखि उत्कृष्ट नतिजा आइरहेको बताइरहँदा यहाँबाट उत्पादन भएका विद्यार्थी राज्य उच्च तहसम्म पुग्न सकेका छन् त ? 
– छन्, अवश्य छन् । अक्सफोर्डमा पढ्ने विद्यार्थी सर्वोच्च अदालतमा विशिष्ट आइटी अफिसर बनेका छन् । ‘क’ श्रेणीको बैंकको प्रबन्धकसमेत भएका छन् । स्कुलका प्रिन्सिपल र कलेजका प्राध्यापक भएका थुप्रै छन् । प्रहरीमा डीएसपीसम्म भएका छन् । विदेशमा गएर गोलमेडल पाएका छन् । अक्सफोर्डमै पढेका प्रदीप बास्तोला पिएचडी गर्दैछन् । व्याचलर पास गरेका कुनै पनि विद्यार्थी बेरोजगार भएको हामीले पाएका छैनौँ ।

अक्सफोर्ड कलेज अफ इन्जिनियररिङ एण्ड म्यानेजमेन्ट तथा अक्सफोर्ड माध्यमिक विद्यालयका सञ्चालक तथा संस्थापक प्रिन्सिपल इन्जिनियर हरि भण्डारी नेपाल इन्जिनियर एसोसिएसन क्षेत्रीय केन्द्र भरतपुरका अध्यक्ष हुन् । उनी हालै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) नवलपरासी जिल्ला अध्यक्षसमेत भएका छन् । प्रिन्सिपल भण्डारी इण्डियाबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा इन्जिनियरको उपाधि पाएका व्यक्ति हुन् । उनले एमबीए, एमबीएस र कम्प्युटरमा पीजी डीसीए गरेका छन् । हालसालै उनले मेवार युनिभर्ससिटी इण्डियाबाट पीएचडी गर्दैछन् ।

प्रश्न : अक्सफोर्डमा हाल कुनकुन संकायको अध्यापन भइरहेको छ ? गुणस्तरको लागि काठमाडौँ गएर पढ्नुपर्ने बाध्यता अब अक्सफोर्डले हटाएको हो त ?
– अक्सफोर्डमा प्लस टुतर्फ विज्ञान, विज्ञानसँग कम्प्युटर, व्यवस्थापनसँग कम्प्युटर साइन्स, होटल म्यानेजमेन्टसँग कम्प्युटर साइन्स अध्यापन भइरहेको छ । स्नातकमा बीसीए, बीबीए, बीई (सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स) अध्यापन भइरहेको छ । त्यस्तै मास्टर्समा एमबीए, एमसीए, एमटीटीएम र एमए अध्यापन भइरहेको छ । जहाँसम्म अब शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारको लागि अक्सफोर्ड काफी छ । काठमाडौँ जानैपर्दैन । हाम्रो नतिजाले यसको पुष्टि गरेको छ । हामीले दिएको शैक्षिक गुणस्तरले यसलाई प्रमाणित गरिसकेको छ ।
प्रश्न : अक्सफोर्डमा पढेका विद्यार्थीहरुले काठमाडौँ र पोखरामा पढेका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन् त ? 
– सक्छन् । यसमा दुई मत छैन । यहाँ पढेका विद्यार्थीहरु काठमाडौँ तथा पोखराका विद्यार्थीसँग प्रतिस्पर्धा गरेर उच्च ठाउँमा पुगिसकेका छन् । हाम्रो शैक्षिक अवस्था काठमाडौँ र पोखराभन्दा पनि माथि छ । यहाँ पढाउने शिक्षकहरु दक्ष तथा अनुभवी छन् । विद्यार्थीहरुलाई नैतिक शिक्षामा विशेष प्रकारले जोड दिइएको छ । व्यवहारिक र वैज्ञानिक शिक्षा प्रदान गरिएको छ । कोर्समा मात्र सीमित नराखी हरेक किसिमको ज्ञान दिइएको छ । प्लस टुमा कम्प्युटर साइन्सका विद्यार्थीहरुले स्वचालित सोलार सिप बनाएर राष्ट्रिय पुस्कार जितेका छन् । इन्जिनियरका विद्यार्थीहरुले रोबट तयार गरी देशमै दोस्रो स्थान प्राप्त गरेका छन् । बम्ब डिस्पोजल रोबट बनाएर आर्मी हेडक्वाटरको बम डिस्पोजल प्रतिस्पर्धामा यहाँका विद्यार्थी देशमै पहिलो भएका छन् । बिई (इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स) तेस्रो सेमस्टरका विद्यार्थीहरुले भूकम्प सूचक यन्त्र बनाई विश्व इतिहासमै नौलो आयाम थपेका छन् । कक्षा ११ मा अध्ययनरत जुम्ल्याहा दाजुभाइ विदुर र विमल पौडेलले मानव रोबट बनाएका थिए । जसले धेरैको मन तानेको थियो । यस्ता आविस्कार गर्न सक्ने अक्सफोर्डका विद्यार्थीहरुले काठमाडौँ र पोखराका मात्र होइन, विदेशमा पढेका विद्यार्थीसँग पनि सजिलै प्रतिस्पर्धा गर्न सक्छन् ।
प्रश्न : खेलकुदका पूर्वाधारमा अक्सफोर्ड कमजोर छ, भनिन्छ । यस विषयमा सञ्चालक तथा संस्थापक प्रिन्सिपलको भनाइ के छ ?
– पढाइको अलबा अतिरिक्त क्रियाकलापमा पनि अक्सफोर्ड अगाडि छ । खेलकुदको पूर्वाधारमा कुनै कमी छैन । हामी हरेक वर्ष खेलकुदका कार्यक्रम चलाउँछौँ । विद्यार्थीहरुलाई कलेजभित्र हामीले बास्केटबल, भलिबल, चेस, व्याडमिन्टन, टेबलटेनिसलगायतका खेल खेलाउँछौँ । राष्ट्रियस्तरको प्रतियोगिता गर्छौँ । अक्सफोर्डको जति भौतिक संरचना अरुको सायदै छ । फुटबल र क्रिकेट खेल हामीले गैंडाकोट खेल मैदानमा लगेर खलाइन्छ । खेलकुदको पूर्वाधारमा कुनै कमी छैन । यहाँ पढेका विद्यार्थीहरु खेलाडी भएर पनि निस्केका छन् ।
प्रश्न : अक्सफोर्डमा पढेका विद्यार्थीहरुले स्वदेश तथा विदेशमा गएर केकति पुरस्कार जित्न सकेका छन् ? 
– मास्टर्स डिग्रीमा कमल पाठक र रामविनय गुप्ताले भारत गएर गोलमेडल जितेका छन् । किसान श्रेष्ठले क्यानडा गएर राष्ट्रपति पदक जिते । यसैगरी वैज्ञानिक तथा विविध विषयमा प्रतिस्पर्धा गरी थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जितेका छन् । गोलमेडल, डिन लिष्ट पदक जितेका छन् ।
प्रश्न : अक्सफोर्डमा पढ्न देशका कुन कुन भागबाट रुचि देखाएर आएका छन् ? अक्सफोर्डको स्थानीय समाजसँग कस्तो सम्बन्ध रहेको छ ?
– अक्सफोर्डमा पढ्न देशभरका विद्यार्थीहरुको आकर्षण छ । नवलपरासी, चितवनलगायत यस आसपासका गोर्खा, तनहुँ, धादिङ, रुपन्देही, मकवानपुर, पर्वत, स्याङजा, बागलुङ ८ जिल्लाका विद्यार्थीहरु अक्सफोर्डमा बढी छन् ।
यसको अलवा पूर्वका झापा, इलाम, सिरहा, रौतहट, सुनसरीलगायतका विद्यार्थी पनि यहाँ अध्ययन गरिरहेका छन् । त्यस्तै पश्चिमका बाँके, बर्दिया, कैलाली, गुल्मी, रोल्पा, दाङ, जुम्ला, हुम्लाका विद्यार्थी पनि अक्सफोर्डमा छन् । अहिले अक्सफोर्डमा देशभरका २७ सयभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
प्रश्न : तपाइँ ३१ वर्षदेखि शिक्षा क्षेत्रमा आबद्ध रहनुभएको छ, तपाइँको अनुभवले भन्नूस्– शिक्षामा राजनीति गर्न कति उपयुक्त छ ? अक्सफोर्ड कलेजले राजनीतिलाई कुन रुपमा हेरेको छ ? 
– राजनीति जोकोही नागरिकको नैसर्गिक अधिकार हो । राजनीति गर्न पाउने र त्यसमा आफ्ना निजी विचार राख्नु आफैँमा स्वागतयोग्य कुरा हो । तर, नेपालको राजनीति इमान्दारी, उद्देश्य, चाहना, कर्तव्य र दायित्वभन्दा बाहिर गएको मैले पाएको छु ।
शैक्षिक क्षेत्रमा जति राजनीति भए, त्यो हिजो पनि आज पनि कलेज र स्कुलमा यसले नकारात्मक सन्देशमात्र प्रवाह ग¥यो । त्यसैले अक्सफोर्डमा पढाउने शिक्षक, पढ्ने विद्यार्थी र काम गर्ने कर्मचारी नकारात्मक सन्देश प्रवाह गर्ने राजनीति गर्न रुची देखाउँदैनन् । मेरो विचारमा शिक्षामा राजनीति घुस्नु हुँदैन भन्ने नै हो । शिक्षामा राजनीतिले प्रवेश पाएका कलेजहरुको परिणाम हेरौँ त ! राम्रो नतिजा नआएको त जगजाहेर छ । कलेजभित्र राजनीति नघुसाएर अक्सफोर्ड कलेजले आजको यो सफलता पाएको हो ।
प्रश्न : अक्सफोर्ड कलेजको शिक्षा र अन्तर्राष्ट्रियस्तरका कलेजको शिक्षामा केके फरक छ ? अन्तर्राष्ट्रिय लेभलको शिक्षा अक्सफोर्डले दिन सक्छ त ? 
– नेपालको शिक्षालाई अन्तराष्ट्रिय शिक्षाको रुपमा तुलना गर्न सकिन्छ । तर कतिपय कलेजमा बढ्दो राजनीतिले त्यहाँको नतिजा खस्कँदो छ । तर अक्सफोर्डमा नतिजा खस्काउने कुनै राजनीतिका जरो छैन । हामीले दिने शिक्षा विश्वको शिक्षाभन्दा कम छैन ।
यहाँबाट उत्पादन भएका विद्यार्थीहरुले विदेशमा गएर गोलमेडल प्राप्त गरेको कारणले पनि हाम्रो शिक्षा विश्वको भन्दा कम नभएको पुष्टि हुन्छ । राजधानीबाहिर अक्सफोर्ड सबैभन्दा ठूलो शैक्षिक संस्थाको रुपमा विकास भइरहेको छ । हाम्रा विद्यार्थी विदेशमा गएर आफ्नो क्षमता देखाएर पुरस्कार जितेका कारणले हामी भन्न सक्छौँ, हाम्रो शिक्षा अन्तर्राष्ट्रिय लेभलको छ । हामी एक वर्षभित्रै अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला, भौतिक पूर्वाधारले देशकै अव्बल कलेजको रुपमा विकास गर्ने सोचमा छौँ ।
प्रश्न : तपाइँ भर्खरै नवलपरासी जिल्लाको हिसान अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । अब नवलपरासी जिल्लाको शैक्षिक अवस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ? 
– साउन २१ गते हिसान नवलपरासीको भेलाले मेरो अध्यक्षतामा ९ जनाको कार्यसमिति निर्विरोध चयन गरेको छ । म हिसानसँग आबद्ध भएका सबै कलेजहरुलाई धन्यवाद दिन चाहन्छु । नवलपरासी जिल्ला पनि गुणस्तरीय शिक्षा दिने जिल्लामध्ये एक हो ।
म मेरो कार्यकालभर दाउन्ने पारीका र दाउन्ने वारीका कलेजहरुको बिचमा ज्यादै समन्वयकारी भूमिका खेल्नेछु । कक्षा ११ र १२ पढाउने कलेजहरुसँग राम्रो सम्बन्ध राखी कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा म बहस चलाउनेछु ।
यहाँ रहेका २५ वटा कलेजहरु नै हिसानमा आबद्ध छन् । म प्रत्येक कलेजमा पुगेर स्थलगत भ्रमण गरी समस्याको निराकरण गर्न हमेसा लाग्नेछु । गुणस्तरीय शिक्षा दिन म कटिबद्ध हुनेछु र अरु कलेजलाई पनि कटिबद्ध बनाउनेछु ।
शिक्षाका हरेक समस्याको समाधान गर्न म लगातार लाग्नेछु । समग्रमा नवलपरासी जिल्लालाई शिक्षा क्षेत्रमा देशभरमै अग्रपंक्तिमा राख्न म सदैव पहल गर्नेछु । यसमा सबैको सहयोगको अपेक्षा पनि गर्दछु ।
प्रश्न : देश संघीयतामा गएको छ, संघीय शिक्षा आइसकेको छैन । तपाइँको विचारमा संघीय शिक्षा नीति कस्तो बनाइनुपर्छ ?
– संविधानमा आधारभूत शिक्षादेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराइने भनेर उल्लेख गरिएको छ । यो स्वागतयोग्य छ । तर जुन रुपबाट शिक्षानीति र कार्यनीति बनाइनुपर्ने हो, त्यो अझैसम्म बन्न सकेको छैन । संविधानमा यतिसम्म उल्लेख गरिएको छ कि, स्थानीय निकायले आवश्यकता हेरी आआफ्नो क्षेत्र तथा प्रदेशको रहनसहन, भेषभुषा संस्कृति विकास निर्माणको आधारमा पाठ्यक्रम निर्माण गरी आफ्नै आर्थिक धरातलमा रहेर शिक्षा दिने भनिएको छ, तर यो आफैँमा धेरै नै गहन र कठिनपूर्ण कार्य भएको मलाई लाग्छ ।
स्थानीय निकायमा शिक्षा क्षेत्रमा छुट्टाइएको बजेट आवश्यक पर्ने बजेटभन्दा कम हुनुहुँदैन । यस्तो अवस्थामा स्थानीय निकायले शिक्षालाई गुणस्तर बनाइ अन्तर्राष्ट्रिय स्तरमा प्रनिस्पर्धी बनाउन निकै कठिन हुने मैले देखेको छु । त्यसैले स्थानीय निकायको शैक्षिक कार्याविधि तथा नियम विनियम तर्जुमा गर्दा शिक्षासँगका विज्ञहरु अर्थसँगका विज्ञहरु, शिक्षाका अन्तर्राष्ट्रिय विज्ञहरु र राजनीतिककर्मीहरुसँग ठूलो बहस हुन जरुरी छ ।
प्रश्न : ३१ वर्षदेखि शिक्षा क्षेत्रमा रहनुभएको छ ? तपाइँको विचारमा संघीय शिक्षा नीति कस्तो हुनुपर्छ ? 
सबैभन्दा पहिला त शिक्षा नीति तय गर्दा स्थानीय निकायमा ठूलठूला बहस, गोष्ठी तथा सेमिनार हुन जरुरी छ । जसले जे कुरा भोगेको छ, जुन समय र जुन ठाउँमा भोगेको छ, उनीहरुबाटै शिक्षाको आधार तय गर्न जरुरी छ । त्यसैले म के भन्न चाहन्छु भने कुनै पनि नीति नियम निर्माण गर्दा भूत, वर्तमान र भविष्यको विश्लेषण गरी अगाडि बढ्नुपर्छ । यदी शिक्षाको क्षेत्रमा कहीँकतै मेरो भूमिका आवश्यक परेको महसुुस भएमा मेरो सहयोग अवश्य रहनेछ ।
प्रश्न : नेपालका धेरै युवाहरु पढ्नको लागि विदेशी भूमिमा गइरहेका छन् । यसलाई कसरी हेर्नुभएको छ ? 
यो ज्यादै मह¤वपूर्ण प्रश्न हो । यदी राष्ट्रलाई सक्षम, सबल र समृद्ध बनाउन चाहने हो भने युर्वा वर्गलाई स्वदेशमै रहने वातावरण बनाइनुपर्छ । ११ र १२ कक्षा पास गरेर विदेश जाने प्रचलनलाई राज्यले नीति बनाएर रोक्न जरुरी छ । विदेश पलायन हुने जुन संस्कार चलेको छ, अहिले त्यो ज्यादै कहालीलाग्दो छ । यसलाई रोक्न राज्यलाई सही नीति बनाएर कार्यान्वयन गर्न लाग्नुपर्ने मलाई लाग्छ । यसलाई जतिसक्दो चाँडो नीति बनाएर भयभित अवस्थाबाट देशलाई मुक्त बनाउनुपर्छ । मास्टर्स डिग्री भ्याएर बाहिर जाने वातावरण मिलाइनुपर्छ । १२ कक्षा सक्नेवित्तिकै बाहिर जाने वातावरणलाई रोक्न राज्यले सही नीति बनाएर अबलम्बन गर्नुपर्छ ।

Comments

About the author

चितवन पोष्ट