गृह » दाउन्नेमा सडक भासिँदा यात्रुलाई सास्ती
प्रमुख समाचार

दाउन्नेमा सडक भासिँदा यात्रुलाई सास्ती

रामकुमार श्रेष्ठ
कावासोती । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि पूर्वपश्चिम राजमार्ग नै ठप्प हुने अवस्था आएको छ ।
गएराति साढे १० बजेको समयमा पहिरो गएपछि २० घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । शनिबार दिउँसो दाउन्नेको एस मोड क्षेत्र र खुर्सानी खोलाको बीच भागमा सडक भासिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिए ।
१५ मिटर जति सडक भासिएको उनले बताए । राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको उनले बताएका छन् । यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत उनले आग्रह गरेका छन् ।
यसैबीच जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख धमेन्द्र रावलले दाउन्ने पूर्वका पहिरो हटाउने काम सकिएको बताए । उनले दाउन्ने पश्चिमका पहिरो हटाउने क्रम सुरू भएको र शनिबार अबेरसम्ममा पहिरो पन्छाउने काम भने सकिने जानकारी दिए ।
सडक भासिएपछि पूर्वबाट आएका यात्रुहरुलाई पैदलै बर्दघाटतर्फ पठाइएको र पश्चिमबाट आएका यात्रुहरुलाई पैदैल पश्चिमतर्फ पठाइएको उनले बताए । उनका अनुसार १५ मिटर जति सडक भासिएकोले तत्काल चार पाङ्ग्रे सवारी साधन पास हुने अवस्था नरहेको बताए । अहिले पैदल र मोटरसाइकलमा यात्रुहरु ओहोरदोहोर गर्न सुरू गरेपनि मोटरसाइकल भन्दा ठूला सवारी साधन भने सञ्चालनमा आउन सकेको छैन ।
उनले भासिएको सडक निर्माण कार्य ट्राफिक प्रहरीको क्षमता भन्दा बाहिर रहेको बताए । उनले यसका लागि सडक डिभिजन कार्यालयमा जानकारी गराएको बताए । उनले पहिरो पन्छ्याएर सडक सञ्चालनमा आए पनि ठूला तथा चार पाङ्ग्रे सवारी साधन भने सञ्चालन गर्न नसकिने बताए ।
यसैबीच सडक डिभिजन कार्यालय बुटवलले अवरुद्ध सडक खुलाउनका लागि प्रयास सुरू गरेको छ । इन्जिनियर युवराज पाण्डेले त्यसका लागि सडक भासिएको क्षेत्रको भित्ता काटेर डाइभर्सन निर्माण गर्ने काम भइरहेको बताए ।
उनले शनिबार मध्यरातसम्म सवारी साधन सञ्चालनमा आउने बताए । त्यसका लागि एक्साभेटर, रोडर, टिप्परलगायतका उपकरणहरु ल्याएर काम सुरू गरिसकेको बताए । भासिएको सडकलाई भने जस्ताको तस्तै रुपमा ल्याउने १५–२० दिन लाग्न सक्ने बताए ।
बाटो अवरुद्ध भएपछि मध्यरातसम्म सवारीको लामो लाइन लागेको थियो । दाउन्ने पूर्व र पश्चिम करिब १० किलोमिटरसम्म सवारीको लाम लागेको इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ती पाएका छन् । दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर पहिरो खस्न नरोकिने गर्दा गाह्रो भइहरेको प्रहरीले जनाएको प्रहरीले जनाएको छ ।
अधिकांश क्षेत्र जलमग्न
यसैबीच शुक्रबार दिउँसोबाट परेको अविरल वर्षका जिल्लाको परासी क्षेत्र फेरी डुबानमा परेको छ । बर्दघाट, बासा, सुनवल, भुमही, परासी बजार सरावल, क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
राजमार्ग माथिबाटै पानी बगेपछि सवारी र पैदलयात्रीलाई समेत आवतजावतमा समस्या भएको छ । यस्तै जिल्लाको दक्षिणी क्षेत्र गण्डक क्षेत्र पनि पूरै डुबानमा परेको छ । सुस्ता , नर्सही , पक्लिहवा, कुडियालगायतका क्षेत्र पूरै डुबानमा परेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
घरभित्रै पानी परेपछि सर्वसाधारण सुरक्षित ठाउमा बसेका छन । डुबान परेको स्थानहरुमा सुरक्षाकर्मीको टोली र दैवी प्रकोप उद्धार समिती लगायतको टोलीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी उदयबहादर रानाले जानकारी दिएका छन् ।
त्यसैगरी लगातारको वर्षाले बर्दघाट नगरपालिकाका अधिकांश भागहरु डुवानमा परेका छन् ।
बाढीका कारण सबैभन्दा बढी बर्दघाट नगरपालिका वार्ड नं. ६ वेताहानीमा मा क्षति पुयाएको छ भने बार्ड नं. ४ मा पनि असर पु¥याएको छ । वेताहानी क्षेत्रमा करिब १०० घरधुरीमा खाना पकाएर खाने अवस्था नरहेको छ भने २० देखि २५ घर विस्थापित भएको वडाअध्यक्ष रोहित चौधरीले जानकारी दिए ।
त्यसैगरी वार्ड नं. ४ मा भने बाढीपीडित र स्मृती नगरमा करिब १० घरपरिवार विस्थापित भएका छन् भने करिब ८० घरपरिवार खानापकाएर खान नसकिने अवस्थामा रहेका छन् । काठेपुल छेउमा रहेको एउटा घर बिषय घोलले बगाएर केही भाग मात्र बाँकी रहेको छ । त्यस्तै मुसहर बस्ती पनि निकै जोखिममा रहेको छ । पञ्चनगर, जितपुर, लण्डन ब्रिजलगायतका ठाउहरु पनि जलमग्न रहेका छन् ।
यसैबीच खानापकाएर खाने अवस्था नभएपछि बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखा, उद्योग वाणिज्य संघ र केही व्यक्तिको सहयोगमा राहत वितरण गरेको छ । बर्दघाट नगरपालिका वाड नम्बर ६ बेताहानी , विद्युत् , वाड नम्बर ४ र ५ गरि २०० घरपरिवारलाई शनिबार प्रतिव्यक्ति आधा किलो चिउरा , भूजा बिस्कुट र चाउचाउ वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखा सभापति नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
पीडामाथि थप पीडा
एक हप्ता अगाडि नै गएको बाढीले प्रतापपुर, सरावल, सुस्ता, पाल्हीनन्दन, रामग्राम नगरपालिका, विस्थापित र प्रभावित घरपरिवार पुनस्र्थापित हुन नपाउँदै फेरि यस क्षेत्रमा बाढी पसेर हराजांै घरहरु डुबानमा परेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले बताएका छन् ।
शर्माका अनुसार खजुरा खोलाको ठाउँठाउँमा बाँध फुटेर गाउँगाउँमा बाढी पसेको बताए । बाढीले प्रतापपुर गाउँपालिकाको वार्ड नम्बर ३ को बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी टोलहरु पुनः बाढीको डुबानमा परेका छन् । त्यस्तै वार्ड नं. ४ को ठूलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था वार्ड नं. ८ को फटकी टोला र ९ को माधवपुर, गोबरकटवा टोलहरु डुबानमा परेका छन् ।
त्यस्तै बाढीले सुुस्ता गाउँपालिकाको वार्ड नं. ३ का सेखुवानी, फेनहरा, रडवारेता गाउँहरु डुबानमा परेका छन् । यता सरावल गाउँपालिकाको वार्ड नं. ६ रामपुर खडौना, पुसौली, र वार्ड नं. ७ को भुजहवा गाउँहरु बाढीको डुबानमा परेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । यी गाउँटोलहरु गएको साता पनि डुबानमा परेका थिए । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको वार्ड नंं १ का रमपुरवा, शंकरपुर, चम्कीपुर, वार्ड नंं ३ पर्सीया, बेलासपुर, वार्ड ४ को पाल्ही, ५ को गेरमी र ६ को सनई गाउाँहरु बाढीको लेभल बढ्दै जाँदा बाढी पस्ने सम्भावना देखिएको छ । यता बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका र सुनवल नगरपालिका केही वडाहरुमा पनि बाढी पस्ने सम्भावना बढेको पाइएको छ ।
कांग्रेस नवलपरासीबाट दुःख व्यक्त
बाढी पहिरोबाट जिल्लाका विभिन्न भागमा क्षति पु¥याएकोमा नेपाली कांग्रेस नवलपरासीले दुःख व्यक्त गरेको छ ।
कांग्रेस जिल्ला सभापति विष्णु लामिछानेले शनिबार विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितको उद्धारमा लाग्नका लागि पार्टीका सबै भातृ संगठन एवम् कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबारदेखिको झरीका कारण परासी क्षेत्रका प्रतापपुर, सरावल, सुस्ता, पाल्हीनन्दन , वर्दघाटलगायतमा बाढी पसेको र कैयौ परिवार विस्थापित हुने अवस्थामा पुगेको भन्दै नेपाली कांग्रेसले राहत र उद्धार कार्यमा खटिनका लागि आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ ।

Comments

About the author

चितवन पोष्ट