गृह » कालीगण्डकीमा निर्माणधीन पुल अन्तिम चरणमा
समाचार समाज

कालीगण्डकीमा निर्माणधीन पुल अन्तिम चरणमा

कावासोती । नवलपरासीको नवलपुर र तनहुँहुँदै पोखरासम्म जोड्ने कालीगण्डकी नदीमा निर्माणधीन पुल अन्तिम चरणमा पुगेको छ ।
नवलपरासीको बौदीकाली गाउँपालिका–२ खर्सानघाट र तनहँुको घिरिङमा पर्ने कालीगण्डकीमा निर्माणाधीन सो पुलको करिब ९० प्रतिशत काम पूरा भएको साइड इन्चार्ज कुमार गुरूङले बताए ।
निर्माणधीन उक्त पुलको लम्बाई १७० मिटर र रहेको छ । रसुवा हिमदुुङ निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जेभी प्रालिले १६ करोड रूपैयाँमा पुलको निर्माणको जिम्मा लिएको छ । सो पुलमा एकतर्फी मात्रै गाडी हिड्ने मिल्नेछ । साइटमा फुटपाथका लागि १÷१ मिटर राखिएको छ ।
पुलको ढलाइको काम सबै पूरा भएको गुरुङले बताए । असोजसम्म सबै काम पूरा हुने र सञ्चालनमा आउने जनाइएको छ । साइडमा गेभिन बाध्ने काम मात्रै बाँकी रहेकाले छिट्टै सकिने उनले बताए ।
सो पुलको निर्माण आर्थिक वर्ष ०६७/०६८ सुरू गरिएको थियो । २०७२ सालको असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको भए पनि एक वर्ष म्याद थप गरेर २०७३ सालको असार मसान्तसम्म भ्याउने गरी समय थप गरिएको थियो । तर, गत वर्षको असार १८ गते कालीगण्डकी नदीमा ठूलो बाढी आउँदा पुलको एक तिहाई भाग बगाएपछि फेरि एक वर्ष समय थप भएको थियो ।
सो पुल सञ्चालनमा आएपछि नवलपरासी पहाडी भेगका बासिन्दाले पोखरा आउजाउमा सजिलो हुने भन्दै खुसी व्यक्त गरेका छन् । डेढगाउँबाट ५२ किलोमिटर यात्रा गरेपछि पोखरा पुग्न सकिन्छ । पुल नहुँदा बसमा यात्रा गर्न नारायणघाट आएर फेरि पोखरा पुग्नुपर्ने अवस्था पहाडी भेगका बासिन्दालाई छ ।
तनहँु र नवलपरासी जोड्ने गरी बनाएको उक्त पुल निर्माण सम्पन्न भएपछि नवलपरासीको दलदलेबाट डेढगाउँहुँदै तनहुँको खैरेनीटार हँुुदै पोखरा जोड्ने पहाडी मार्ग पूर्णरुपमा सञ्चालनमा आउने छ । उक्त क्षेत्रमा नदी वारपार गर्नका लागि अहिले झलुङ्गे पुलको साहारामा स्थानीयले नदी वारपार गर्ने गर्दछन् ।

Comments

About the author

चितवन पोष्ट