गृह » जिसस गठनको बाटो खुल्यो  मतदाता छन्, उम्मेदवार छैनन्
राजनीति समाचार समाज

जिसस गठनको बाटो खुल्यो  मतदाता छन्, उम्मेदवार छैनन्

दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर महानगरपालिकाको चुनावी परिणामसँगै जिल्लामा जिल्ला समन्वय समिति गठनको गाँठो फुकेको छ ।
पहिलो चरण र दोस्रो चरणको चुनाव भएको अधिकांश ठाउँमा समन्वय समिति गठन भइसकेको छ । पुनःमतदानका कारण ढिला भएको चितवनमा पनि गठनको लागि बाटो खुलेको छ । तर, दलहरुले हालसम्म कुनै पनि उम्मेदवार तयार पारेका छैनन् ।
जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका, एक गाउँपालिकामा जनप्रतिनिधि चुनिएसँगै अब जिल्ला समन्वय समिति गठनको विषयमा पनि बहस हुन थालेको छ । चितवनको भरतपुर महानगरपालिकाको नतिजा अघि नै एमालेले बहुमत ल्याइसकेको थियो । चितवनका सात तहका १४ पदमा एमाले एक्लैले नौं पद हासिल गरेको छ । जिल्ला समन्वय समितिको गठनका लागि एमाले एक्लैको बहुमत पुगेको छ ।
रत्ननगर, कालिका, खैरहनी, राप्तीमा प्रमुख र उप्रमुख तथा माडी नगरपालिकामा उपप्रमुख पदमा एमाले उम्मेदवार विजयी भएका छन् । कांगे्रसको हालसम्म ३ ठाउँमा विजयी भएको छ । माओवादी केन्द्रले माडी र भरतपुरमा प्रमुख पद जितेको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले समन्वय समितिमा बहुमत नभए पनि पार्टीको तर्फबाट उम्मेदवार रहने बताए । उम्मेदवारको विषयमा भने निर्वाचन तोकिएपछि मात्र छलफल हुने उनले बताए । त्यस्तै नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखका लागि छलफल भइरहेको बताए । ‘को बन्ने भन्ने पक्का भएको छैन, उनले भने, ‘पार्टीभित्र छलफल भइरहेको छ केही दिनमै टुंगो लाग्छ ।’
सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भरतपुरका दुई वडा अध्यक्षको मुद्दा टुंगिएपछि नगरसभा गठन हुने र त्यसपछि मात्र जिल्ला समन्वय समितिको चुनाव गरिने बताए । जिल्ला समन्वय समिति गठनका लागि मतदाता संख्या पुगे पनि आयोगबाट निर्देशनात्मक आदेश नआएकाले आफूहरु प्रक्रियागत ढंगले नगर सभा र त्यसपछि जिससको चुनावमा लाग्ने तयारीमा रहेको बताए ।
स्थानीय तह निर्वाचन ऐन–७३ अनुसार निर्वाचित प्रमुख, उपप्रमुखहरु सदस्य रहेको जिल्लासभा बन्दछ । सोही सभाले जिल्ला समन्वय समितिमा रहनेहरुलाई निर्वाचित गर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख चुनिनका लागि मतदान भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखले मात्रै गर्न पाउने नियममा व्यवस्था रहेको छ ।
जिल्ला समन्वय समितिमा उम्मेदवार बन्न भने गाउँपालिका र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यसमेतले पाउनेछन् । जिल्ला समन्वय समिति कार्यकारी हुनेछ भने जिल्लासभा वर्षको एकपटक बस्ने ऐनमा व्यवस्था छ । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख र बढीमा नौं सदस्य निर्वाचित हुनेछन् । समितिमा तीनजना महिला सदस्य अनिवार्य हुनुपर्नेछ भने दलित र अल्पसंख्यकबाट पनि सदस्य निर्वाचित गर्नुपर्नेछ ।

 

Comments

About the author

चितवन पोष्ट