गृह » चितवनमा चार सहकारी एकीकरण हुँदै संस्था एकीकरण आजको आवश्यकता
अर्थ समाचार समाज

चितवनमा चार सहकारी एकीकरण हुँदै संस्था एकीकरण आजको आवश्यकता

भरतपुर । यतिबेला चितवनमा सहकारी संस्थाहरू एकीकरण गर्ने क्रम तीव्ररूपले बढिरहेका छन् ।
सहकारी संस्थाको संख्या धेरै भइरहेको बेला नेपाल सरकारले पनि एकीकरणका लागि प्रोत्साहन गरिरहेको छ । सोहीअनुरूप विभिन्न सहकारी संस्थाहरूले एकीकरणका प्रयासहरू गरिरहेका छन् । यही क्रममा भरतपुरका चार सहकारीले आउँदो असोजमा एकीकरण गर्ने भएको छ । भरपुरमा रहेको स्याउली बजार बचत तथा ऋण सहकारी, चिनारी बचत तथा ऋण सहकारी, गतिशील बचत तथा ऋण सहकारी र मालिका बचत तथा ऋण सहकारी एकीकरणको तयारीमा छन् ।
संस्था एकीकरण गर्ने निर्णय भएपछि स्याउली बजार बचत तथा ऋण सहकारीले शनिबार भरतपुरमा ८ औँ साधारण सभा ग¥यो । असोजमा एकीकरण गर्ने भएपछि दुई महिना अघि नै शनिबार साधारण सभा आयोजना गरिएको संस्थाले जनाएको छ । ‘संस्थाको क्यालेण्डरअनुसार हामीले तोकेकोभन्दा दुई महिनाअघि नै साधारण सभा गरेका छौँ,’ संस्थाका अध्यक्ष ऋषिराम देवकोटाले भने, ‘हामीले चारवटै सहकारी संस्थाको सह–अस्तित्व रहने गरी एकीकरण गर्ने निर्णयमा पुगेपछि निर्धारित समयभन्दा अघि नै साधारण सभा गर्नु परेको हो ।’
आजभन्दा ८ वर्षअघि ४५ जना सेयर सदस्यहरूबाट स्थापना गरिएको स्याउली बजार बचत तथा ऋण सहकारीमा अहिले ९३० जना सेयर सदस्य र १५९ जना बाल बचतकर्ता सदस्य रहेका छन् । हाल ६ करोडभन्दा बढी पूँजी रहेको सहकारीले सहकारी संस्थाहरूमा भएको बढ्दो विकृतिलाई अन्त्य गर्नका लागि पनि एकीकरण गर्न लागेको संस्थाका अध्यक्ष देवकोटाले बताए । ‘सहकारीभित्र भएका विकृति फुटेर होइन, जुटेर समाधान गर्नुपर्छ भनेरै हामी एकीकरणको बाटो रोजेका हौँ,’ उनले भने, यसको लागि पनि सहकारी एकीकरण आजको आवश्यकता बनेको छ ।’ एउटै व्यक्तिले धेरै सहकारी संस्थामा सेयर लगानी गरेकोले पनि एकै ठाउँमा ल्याउने प्रयास गरिएको उनले बताए ।
संस्था एकीकरणको अन्तिम चरणमा रहँदै गर्दा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघले खुसी व्यक्त गरेको छ । संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले नेपालमा साना सहकारी संस्थाको संख्या धेरै भएकोले एकीकरणको आवश्यकता भएको बताए । संस्थालाई बलियो बनाउनका लागि पनि संस्था एकीकरण आवश्यक रहेको उनको भनाइ छ । ‘सहकारी बलियो बनाउनका लागि कि त पूँजी वृद्धि गर्नुप¥यो, कि त एकीकरण गर्नुप¥यो,’ उनले भने । संस्था एकीकरण गरेपछि स्वत संस्थाको पूँजी पनि वृद्धि हुने भएकोले संस्था दरिलो हुने उनको भनाइ छ ।
सहकारी संस्थामा पैसा जम्मा गर्ने बचतकर्ताहरूका लागि सरकारले देशभरको सहकारी संस्थाहरूमा नेटवर्किङको तयारी गरिरहेको उनले बताए । ‘चितवनको कुनै एउटा सहकारी संस्थामा जम्मा गरेको पैसा देशभरका जुनसुकै जिल्लाबाट निकाल्न सक्ने तरिकाले नेटवर्किङको व्यवस्था मिलाउने सरकारले तयारी थालेको छ,’ उनले भने ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका प्राचार्य ऋषिराम भुसालले पनि संस्था बलियो बनाउने विकल्प नै एकीकरण भएको बताए । संस्था एकीकरण गर्दा जति धेरै संस्था उति धेरै विकृति हुने समस्या हट्ने उनको भनाइ छ । सरकारले पनि सहकारी संस्थाको विकासका लागि सहकारी ऐन–२०४८ लाई संशोधन गर्ने तयारी गरेको जानकारी गराए । उनका अनुसार उक्त ऐनले छिमेकी सहकारीका साथै दूरीका हिसाबले केही परसम्मको सहकारीलाई पनि एकीकरण गर्न मिल्ने व्यवस्था गर्नेछ ।

संस्था एकीकरणका लागि समिति गठन
चार सहकारी संस्था एकीकरण हुने भएपछि स्याउली बजार बचत तथा ऋण सहकारीले शनिबार एकीकरणको लागि ६ सदस्यीय छनौट समिति गठन गरेको छ । समितिको अध्यक्षमा ऋषिराम देवकोटा, उपाध्यक्षमा लीलाधर आचार्य, सचिवमा श्रीकान्त सापकोटा, कोषाध्यक्षमा ओझराज घिमिरे, महिला सदस्यमा साबित्री न्यौपाने र लेखा सदस्यमा गुरूदत्त अधिकारीलाई चयन गरिएको छ ।

१४ जना सम्मानित
स्याउली बजार बचत तथा ऋण सहकारीले शनिबार १४ जनालाई सम्मान गरेको छ । संस्थाको ८ औँ साधारण सभाको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । संस्थामा आवद्ध ५ ज्येष्ठ नागरिक, ४ जना सेयर सदस्य बढाउन सफल व्यक्तित्वहरूका साथै विद्यार्थी, नियमित बचतकर्ता, बालबचतकर्ता, असल ऋणी र सरल बचतकर्तातर्फका १/१ जनालाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष लीलाधर आचार्यले जानकारी दिए । उनीहरूलाई नगद, कदरपत्र, मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरिएको उनले बताए ।

Comments

About the author

चितवन पोष्ट