गृह » साउनको दर्कदो झरीमा काव्य मेलाको रौनक
समाचार समाज साहित्य

साउनको दर्कदो झरीमा काव्य मेलाको रौनक

तुलमान गुरूङ
नारायणगढ । शनिबार नारायणगढमा काव्य मेला आयोजना गरिएको छ । अराजक अक्षर समूह चितवन र कर्मी नाट्य समूह चितवनले संयुक्तरूपमा आयोजना गरेको काव्य मेलामा तीन कविहरूले कविता सुनाए ।
त्यो अनुहार ठ्याक्कै
कुनै घरको जस्तै छ
जसको आगनबाट आफ्नाहरू
बसाइ सरेका छन्
र बाँकी छन् भत्किँदै गरेका भित्ताहरू
जहाँ बर्षात्ले आफ्नो चिनोहरू छोडेको छ
इटहरीका युवा कवि विनय सरगमको ‘एउटा चित्र’ शीर्षकको यो कविता वाचनबाट सुरूवात गरिएको मेलामा तीजना कविहरूले उत्कृष्ट कविता सुनाएका थिए । कवि सरगमले ‘सिम्मा’, ‘म कवि हैन’ र ‘एउटा पहाड’ गरी चार कविता सुनाउन भ्याए । त्यसपछि रोल्पाका कवि विष्णु सन्यासले ‘आन्दोलनका ईश्वरहरू’ शीर्षकको कविता सुनाए ।
ईश्वरहरू भन्नु
संसारकै सबैभन्दा खतरनाक शासक न रहेछन्
कि थोपाथोपा पसिनाले उमारेका धानका
अक्षेता–अक्षेताहरूले उनीहरूको पोल्टा भरिदिनुपर्ने
कि घर भत्किँदा मुस्किलले सम्हालिराखेको
एकथान कात्रो पनि च्यातेर धजा बनाइ
उनीहरूकै नाममा चढाइदिनुपर्ने
त्यसपछि उनले अर्को कविता ‘सीसा’, ‘एउटा ज्युँदो मानिसको कथा’, ‘परिकल्पनामा बाँचिरहेको प्रेम’ र ‘पागल प्रश्नहरू’ शीर्षकका कविता सुनाए । दुई युवाहरूको कविता वाचनपछि चितवनका कवि गणेश श्रवणको पालो आयो । उनले सुरूवातमै ‘गाउँको कविता’ शीर्षकको कवितामार्फत आफ्नो गाउँलाई यसरी सम्झिए ।
आफू नै नबसेपछि
कसरी हुन्छ त
गाउँको विकास
हामी सबै झ¥यौँ तलतल
गाउँकै खोला झरेझैँ
र थुपारियौँ सहरमा
त्यसपछि ‘सम्झनु’, ‘मार्नौँ’, ‘भुलाउनु’, ‘आज’, ‘आमाको गाउँ’, ‘एकदिन’ र पर्खनुपर्छ गरी ८ वटा कविता सुनाए । कविता सुनाउँदै गर्दा उनले बीचबीचमा आफ्नो कवितायात्राको बारेमा समेत स्मरण गरे । शनिबार भारी वर्षाले दिन शितल भए पनि रामेश्वर पुस्तकालयको हल भने कविताले न्यानो बनेको थियो ।
वाचित कविताहरूमाथि टिप्पणी गर्दै कवि एवम् गजलकार बालकृष्ण थपलियाले समाज रूपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताए । ‘उनले भने, ‘कविताको माध्यमबाट चिन्तन गरिरहेका छौँ । र समाज परिवर्तनको लागि अपरिहार्य विषय पनि हो ।’ पैसाले सर्जक किन्न नसकिने तर, कवि एवम् कलाकार जन्मन साधना लगाव उत्तिकै आवश्यक पर्ने बताए । यस्तै कवि सुमनराज श्रेष्ठले पनि वाचित कवितामाथि टिप्पणी गर्दै युवाहरूले लेखेको कवितामा पनि कविताका तत्वहरूका साथै युग चेतना पाउनु खुसीको कुरा भएको बताए ।
‘कविताको चिन्तन नगर्नेहरूका लागि कवितामाथिको टिप्पणी गाह्रो कुरा हो,’ उनले भने, ‘कविता लेख्नको आलवा कविताको चिन्तन गर्नु कविको धर्म हो ।’ काव्य मेलामा कविहरू किरण सिवा, रमेश रसिक, विमर्श कँडेल, मुकुन्द खलपात्र, शरद ऋतु, बालकृष्ण थपलिया, सुमनराज श्रेष्ठ, सरोज पाठक ‘सुमन’, प्रकृति प्रेमी, अञ्जान अञ्जानलगायतका कविहरूले कविता सुनाएका थिए । कार्यक्रमको समापन गर्दै अराजक अक्षर समूह चितवनका अध्यक्ष मुकुन्द खलपात्रले साहित्य सिर्जनाको लागि परिवेश र इच्छाशक्ति दुबै हुनुपर्ने बताए ।
आफू कवि बन्नका लागि नभई भोगाइले कवि बनाएको स्मरण गर्दै उनले भने, ‘५ वर्षको जेल जीवनका क्रममा गरिएको अध्ययनले मलाई कवि बनायो ।’ कर्मी नाट्य समूहका संयोजकसमेत रहेका कवि खलपात्रले साहित्य र कलाकारिता एकआपसमा मिल्दोजुल्दो विधा भएको भन्दै आउँदो केही समयभित्रै चितवनमा रंगमञ्च सञ्चालन गर्ने योजना रहेको बताए ।
विद्यार्थीले गरे रचना वाचन
कालिगण्डकी साहित्य सदन र कैलाश गजल मञ्चको सयुक्त आयोजनामा आइतबार खोलेसिमलमा रचना वाचन कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पूर्वीचितवनका १० विद्यालयमा २० जना विद्यार्थीहरुले गीत, गजल र कविता वाचन गरेका थिए । गीत, कविता र गजलमार्फत विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सर्जक रुद्र कँडेलको गीति सङ्ग्रहको पनि विमोचन गरिएको थियो । सदनका अध्यक्ष गणेशशर्मा पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका संयोजक दशरथ सापकोटा, सदनकी उपाध्यक्ष अनिता अर्याल, गजल मञ्चका अध्यक्ष केपीकिरण शर्मालगायतले मन्तव्य राखेका थिए । रचना वाचन गरेका २० विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप कैलाश गजल मञ्चले स्टेशनरी प्रदान गरेको थियो ।

Comments

About the author

चितवन पोष्ट