गृह » भरतपुर मतपत्र काण्ड : देवी ज्ञवाली र दैत्य दौँतरी द्वन्द्व
विचार

भरतपुर मतपत्र काण्ड : देवी ज्ञवाली र दैत्य दौँतरी द्वन्द्व

प्रा.डा. बद्रीविशाल पोखरेल

भरतपुर काण्डमा देवी ज्ञवाली इमानजमानका सघन प्रतीक हुन् भने मतपत्र च्यात्नेजस्तो लोकतन्त्रको प्राण हरण गर्ने कामका दुई दौँतरी वा दामल व्यक्तिहरु दैत्यका दुर्बलताका प्रतीक हुन् । जनताको मत, अभिमत अङ्कित पत्र च्यात्नु भनेको जनादेश, जनभावना र जनमतलाई धुजाधुजा पार्नु हो । जनता नै देश वा राष्ट्र हो भने यो कृत्य जनताको घोर उपेक्षा र अपमान हो । मतपत्र च्यातेर जनमतको ठूलो अपमान गर्नेले देशको सम्मान गर्छ भनेर पत्याउन सकिन्न । जनताको मत च्यात्नुु निकृष्ट स्वार्थपूर्तिका लागि जनताको बलि चढाउनु हो । संसदीय राजनीतिलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भनेर त्यसका विरूद्ध सत्र हज्जार निरपराध र निर्दोष जनताको कत्लेआम गरेकोमा गौरवबोध गर्ने माओवादी केन्द्रको तथाकथित जनयुद्ध केवल ढाँेग हो भन्ने कुरा उसले गरेको भरतपुर मतपत्र काण्डको निकृष्टतम घटनाबाट पुष्टि हुन्छ । भरतपुरमा माओवादी उम्मेदवार हार्ने अवस्था देखेर मतपत्र च्यात्ने त्यस पार्टीका कार्यकर्ता मधु न्यौपानेको अनुहार बदलिएर पुष्पकमल दाहालको मुहार टल्कियो । अर्को मतपत्र च्यात्ने द्रोण न्यौपानेको मुखाकृति बदलिएर शेरबहादुर देउवाको मोहडा झल्कियो । न्यौपाने र सिवाकोटीका पृष्ठभागमा निर्वाचन आयोगका अध्यक्ष डा. यादव मुसुमुसु हाँसिरहेका थिए । रमन श्रेष्ठ नामको प्रधानन्यायाधिवक्ताचाहिँ यादवसितै नारिएर खित्का छाड्दै थिए । यसको पाश्र्व भागमा भरतपुर फैसलाका सर्वोच्च अदालतका न्यायाधीशद्वयको अनुहार यस लेखकको दिव्यदृष्टिले देख्यो । पूर्वप्रधानन्यायाधीश तथा न्यायमूर्ति सुशीला कार्कीले सर्वोच्च अदालतमा मुद्दा फैसला गर्ने बेन्चको तयारीबारे सेवानिवृत्त भएपछि एक अन्तर्वार्तामार्फत उल्लेख गर्नुभएको थियो । पूर्वसभामुख तथा प्रसिद्ध कानुनविद् नीलाम्बर आचार्यले समेत भरतपुरमा मतपत्र च्यातेको विषयमा सर्वोच्च अदालतले गरेको फैसला सकारात्मक नभएको टिप्पणी गरिसक्नुभएको छ । पार्टीअनुसार नीति बन्छ भने नीतिअनुसारको नेता चुनिन्छ । अनि त्यही नेताअनुसारका कार्यकर्ता हुन्छन्, किनभने नेताको बेहोरा कार्यकर्तासित ठ्याम्मै मिल्छ । यसरी बेहोरा मिलेकाले त भरतपुरमा कार्यकर्ता मतपत्र च्यात्न तात्तिएका हुन्, नेताको परोक्ष आदेश, निर्देश र तिनको मनोविज्ञान बुझेर मतपत्र च्यात्न हौसिएका हुन् । पार्टी र नेतृत्वले यस्तै खालका गृहकार्य बेलाबेला दिने गरेकाले तिनको पार्टी जीवन्त बनेको होला र यसबापत् उचित पुरस्कृत गरिँदा पार्टी बलियो बन्ने हो । यसको प्रत्यक्ष प्रमाण भरतपुरमा मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई खादा, माला लगाएर सम्मान गरिएको कुराबाट अवगत हुन्छ । पार्टीमा कार्यकर्ता र नेताले गरेका हरेक कामको जवाफदेहिता पार्टी अध्यक्षको हुन्छ । मतपत्र च्यात्ने कार्यकर्तालाई दण्डित नगरी उल्टो फूलमाला, खादा र अबिर लगाएर सम्मान गरेपछि यस्तो पुनीत काम पार्टी अध्यक्ष पुष्पकमल दाहालले गरेको स्पष्ट हुन्छ र हो पनि । अनि, भरतपुरको मतपत्र पार्टी अध्यक्षले नै च्यातेको बहस र पैरवीबाट ठहर्छ । ज्यान केसमा प्रत्यक्ष संलग्न नभए पनि मिलोमतो र ज्यान मारेको देख्ने पनि जेल सजायको भागिदार हुन्छ । अनि, भरतपुर घटनामा सहभागी र दह्रो मतियार भएको नेपाली कांग्रेस चोखो देखिन्न । किन पनि देखिन्न भने, द्रोण सिवाकोटीको स्वभाव कांग्रेससित ठ्याक्कै मिल्छ । यस्तै चाला हो भने नितान्त निहित र निकृष्ट कृत्यका लागि बिन लादेन जन्माएर उसैले आफूतिर सोझ्याउने दिनको प्रतीक्षा गर्नुबाहेक विकल्प देखिन्न । न्यौपाने र सिवाकोटी पार्टीको मूल्याङ्कनमा नपर्ने कुरै भएन । अब तिनको बढुवा पनि हुँदो हो । माओवादी र नेकामा यस्तै दुष्कर्म नगरी कार्यकर्ता र नेताको अन्य रचनात्मक काम गरेर मूल्याङ्कन होला जस्तो लाग्दैन ।

नेपाली कांग्रेसका सभासद् तथा वरिष्ठ वकिल राधेश्याम अधिकारीले केही दिनअघि सरकारले ल्याएको प्रतिनिधिसभा सदस्यहरुको निर्वाचनसम्बन्धी विधेयकको संशोधन प्रस्ताव विषयमा बोल्दा एकपटक भ्रष्टाचार, दुराचार र व्यभिचारको अभियोग लागेकाहरुलाई प्रतिनिधिसभा सदस्य हुन कुनै बन्देज लगाउन हुन्न भनेर बहस गरे । सरकारले भ्रष्टाचारीलाई आजीवन उम्मेदवार हुन नपाउने गरी विधेयक ल्याएपछि यसका विपक्षमा खुलेआम बोल्ने र तदनुसार चल्ने कांग्रेसले भरतपुरमा लोकतन्त्र र विधिको शासनको धज्जी उडाउनु कुनै अचम्म र उदेकको विषय नै होइन । त्यसैले, सिवाकोटी नेका पार्टी सभापतिकै प्रतिनिधि पात्र हुन् भनेर भन्न मिल्ने पर्याप्त आधारहरु देखिन्छन् । आफ्ना कार्यकर्ताले खुलेआम मतपत्र च्यात्दा पार्टीले कारबाही नगरी उल्टो खादा, माला र टीका लगाएपछि कुरा बुझियो । यस पुनीत काममा पार्टी अध्यक्षकै आड, भरोसा र प्रोत्साहन रहेछ । पाकेटमार र बगलीमार छोरालाई हकारपकार पनि नगर्ने बाबु कसरी सद्धे हुन्छ ? अब यो गठबन्धन सरकारले देशमा राम्रा काम गर्ने कुनै आशा गर्ने ठाउँ देखिन्न । अनि, प्रधानमन्त्री भएको दुई महिना हुँदा पनि शेरबहादुर देउवाले आफ्नो सम्पत्ति विवरण बुझाएनन् भनेर रूनु बेकार छ । जब चोरलाई चौतारामा बिराजमान गराइन्छ, तब साधुलाई शूली चढाइने अवस्था आउँछ । यसको पहिलो सिकार देवी ज्ञवाली भएका छन् । जब सियो चोर्दा मौन बसिन्छ त्यसपछि फाली चोरिनु स्वाभाविक हुन्छ, यो बढेर यस प्रकरणले घर फोर्ने अवस्थासम्म पु¥याउँछ । लोकतन्त्र र जनतन्त्रको आधारभूत तथा मूलभूत अपरिहार्य पक्ष जनता र जनमत हो । लाछी र निर्लज्ज काम भरतपुर महानगरपालिकामा शेरबहादुर र पुष्पकमल गठबन्धन सरकारले ज्ञवालीविरूद्ध ठूलो पौरख देखाएर गरे । यस लेखकले यसलाई देवी र दैत्यका बीचको द्वन्द्व ठानेको छ । देवी ज्ञवाली सत्य, सदाचार र सत्कर्मका प्रतिमूर्ति हुन् भने गठबन्धन सरकार दैत्य दौँतरीको प्रतिरुप हो । सानु सानु सत्य मिलेर ठूलो सत्य बन्छ भने सानो सानो असत्य जघन्य अपराधमा परिणत हुन्छ । सियो चोर्नेले नै फाली चोर्छ, अनि यसैले घर पनि फोर्छ । कहिलेकाहीँ जितेर पनि हारिन्छ भने कहिलेकाहीँ हारेर पनि जितिन्छ । देवी ज्ञवालीले इमानको जित हासिल गरेका छन् । ज्ञवालीका अगाडि प्राविधिक र कृत्रिम जित हासिल गरेकाहरु नैतिक दृष्टिले कमजोर र कुरुप छन् र हुन्छन् । तिनले देवी ज्ञवालीका अगाडि शिर ठाडो गर्नै सक्तैनन् । मानिसले अरुलाई ढाँटे पनि आफूलाई कहिल्यै ढाँट्न सक्तैन । सिङ्गो राज्यसत्ता हातमा लिएर चरम धाँधली र राष्ट्रिय धनको खोलो बगाएर गरेको नाटकीय विजय के विजय ? लुर, तागत र क्षमता हुनेहरु इमानको सहारा लिन्छन् र त्यसका आधारमा विजय हासिल गर्छन् । बेइमानहरु हर्दम षड्यन्त्र, खुराफात तथा नीच, निकृष्ट हर्कतका भरमा र राष्ट्रिय धनको खोलो बगाएर राज गर्न चाहन्छन् । यस खालका असत्य, अपराध र अकर्मण्यताविरूद्ध पुर्खाहरुले लामो लडाइँ लडेका छन् । यही लडाइँका कारण सयौँ शकुनिका सन्तानहरु, कौरवपुत्रहरु, कंश, रावण र हिरण्यकशिपुहरु मानवजातिका कलङ्क बनेका छन् । यस खालका दुस्सासनका शासनहरु इतिहासमा दुर्नाम र बदनाम बनेका छन् । एमाले अध्यक्ष तथा यस मुलुकका प्रभावशाली राष्ट्रवादी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसितको षड्यन्त्र बहुत ठूलो भारी बात हुन्छ । यसको मूल्य निक्कै महँगो पनि हुन्छ । ओलीले पहिले भन्दैखेरि अहिलेको अभिमन्यु उहिल्यैको जस्तो केटाकेटी होइन भन्नुभएको थियो । नभन्दै ओलीले बोल्दा मात्र पनि आधा काम पूरा हुन्छ, यो भनाइ जननेता मदन भण्डारीको हो । अहिले कतिपय सरकारी दबाब र दमनका विरूद्ध पौँठेजारी खेल्ने समय अलि प्रतिकूल भएर मात्र हो । नत्र, भारतीय प्रधानमन्त्री नै ओलीका अगाडि लत्रिन बाध्य हुनुप¥यो भने यहाँका तिनैका अरौटेहरु कुनै समस्या नै होइनन् । तर, भरतपुरको १९ नं वार्डको दोस्रो चरणको चुनावमा तमाम हतकण्डाविरूद्ध त्यहाँको एमाले पार्टी भिडेर नलागेकै हो कि ? पार्टीको वरिष्ठ नेतृत्वको ध्यान पनि नगएको पो हो कि ? प्रदीप नेपालले एमालेकै कारण एमालेले स्थानीय निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्ने बताउनुुभएको थियो । हुन पनि झापा जिल्लामा पार्टी अध्यक्ष र सचिव नै स्थानीय तहको चुनावमा उठ्न हत्ते हाल्नुपर्ने कारण के ? गौरादह नगरपालिकामा खरेल–कार्की अन्तद्र्वन्द्वले काम गरेको बताइन्छ, कुरो के हो ? ओलीनिकट भएर मात्र ओली विशेषता हासिल हुँदैन । ओली हुन रातको बाह्र बजेसम्म पढ्नु पनि पर्छ । कतिपय ओलीसित राजनीतिक नाता जोड्नेहरु नै ओली छवि धूमिल बनाउन लागिपरेका त छैनन् ? तथापि, ओलीनिकटहरु बढी जिम्मेवार, विवेकी र इमानदार पनि छन् । चितवनको माडी नगरपालिकामा मेयर आकांक्षीद्वय नारदमणि पौडेल र श्याम बिस्टको जिल्लाले प्रदेशमा सिफारिस गर्नुपर्नेमा पौडेलको मात्र नाम पठायो । तर पनि बिस्ट नारदमणि पौडेलका पक्षमा चुनावी अभियानमा होमिए । तर, मोरङ जिल्लाका सभासद् चन्द्रबहादुर गुरूङ आफ्नो पक्षको मेयर आकांक्षीले टिकट पाएन भनेर सिरक ओढेर सुते । प्रदीप नेपालको ‘मेरो नेता मदन भण्डारी मात्र हो’ भन्ने शीर्षकको लेखमा माधव नेपालले आफ्नै पार्टीका सहयोद्धा कमरेडको स्वास्थ्य विषयमा अत्यन्त असंवेदनशील अभिव्यक्ति सुन्दा र पढ्दा अत्यन्त दुःख लाग्यो । वरिष्ठ नेतामा नै यस खालको असंवेदनशील अमानवीय स्थिति छ भनेपछि भुइँ तहमा उदात्त संस्कार खोजेर पाइन्न । यो संस्कारको कतिपय ठाउँमा नग्न र भद्दा रुप देखिन्छ, इटहरी उपमहानगरपालिकामा बसोबास गरेका नाताले यहाँका सभासद्को कुरुप र बिरूपहरु देखेको छ । मोरङ जिल्लामा हार खानुका पछाडि प्रदेश स्तरका कतिपय नेताहरुका गुटगत संकीर्ण सोच, घमण्डी स्वभाव रहेको पनि देखियो । अब सानुतिनु खर्चले चुनाव धान्न नसकिने स्थिति एमाले इतरका पार्टीले गरेको खर्चले देखायो । तैपनि, भरतपुरमा देखा परेको हतकण्डाले लोकतन्त्र, गणतन्त्रकै हुर्मत लिएको छ । यस्तै चाला हो र यही चाला बढ्यो भने नेपालको उल्टो गति सुरू हुनेछ । आमसञ्चार जगत्ले पनि समाजको कुरुप पक्षबाहेक समाजमा प्रवाह गर्ने कुनै राम्रो विषय पाउने छैन । भरतपुरमा जित्नेलाई पनि देवी ज्ञवाली सधैँ चिमोटिरहने विषय बन्यो भने जित्नेले कार्यकालभरि मन खुम्च्याएर बाँच्नुपर्ने अवस्था देखियो । तर, देवी ज्ञवाली भने शिर ठाडो पारेर छाती चौडा पारेर जनताको सेवामा निरन्तर लागिरहने छन् । र, उनका अगाडि देश र जनताको प्राण लिने दैत्य दौतर बलशाली भए र देखिए पनि तिनीहरु नैतिक बलविहीन निरीह र कुरुप कुपात्र बन्नेछन् ।

 

 

Comments

About the author

चितवन पोष्ट