गृह » सुकुमबासी समुदायको बस्ती वातावरणमैत्री
प्रमुख समाचार

सुकुमबासी समुदायको बस्ती वातावरणमैत्री

–होमनाथ सापकोटा
रत्ननगर । खोलाको किनारमै बस्ती छ । बस्तीमा सबै घर कच्ची छन् । थोरैमात्र जस्ताले छाएका घर छन् ।
अधिकांश घरहरु खरले छाएका छन् । झुपडी घरलाई चिटिक्क सिंगारिएको छ । सरसफाइ गरेर पिँढी टिलिक्क चल्कने बनाइएको छ । यो रत्ननगर–८ बाघमारामा रहेको एउटा सुकुमवासी बस्तीको दृश्य हो ।
चित्रसारी हुँदै बग्ने बूढीराप्तीको किनारमै रहेको रमाइलो सुकुमबासी बस्तीलाई चिटिक्क सिंगारेर शुक्रबार वातावरणमैत्री घोषणा गरिएको छ । आर्थिक अभावका कारण दैनिक जीवनयापन गर्नुपर्ने समस्यालाई बिर्सिएर सुकुमबासीहरुकै सक्रियतामा बस्तीलाई वातावरणमैत्री बनाइएको हो ।
घोषणा गर्नमात्र बस्ती सिंगारिएको होइन, रमाइलो टोल विकास संस्थाका सदस्य रामशरण अधिकारीले भने– ‘अब हाम्रो बस्ती यस्तै सरसफाइयुक्त हुनेछ ।’ जस्ताले छाएको घरमा जस्ताजस्तै पिँढी पनि टल्किएका छन् । घरले छाएको घरलाई बाँसले घेरिएको छ । कसैले पनि फोहोर गर्न नपाउने नियम बनाइएको छ । घर र बस्तीमा फोहोर फाल्नेलाई एक हजार पाँच सय जरिवाना तोकिएको छ ।
‘सबैको सल्लाहले जरिवाना तोकेका हौँ’ अधिकारीले भने– ‘हामी कोही पनि जरिवाना तिर्न सक्ने हैसियतका छैनौँ । तर नियममा बाँधिन यसो गरिएको हो ।’
सो बस्तीमा वातावरणमैत्री सूचकले निर्देशित गरेअनुसार काम गरी बस्तीलाई सरसफाइमा नमुना बनाएर घोषणा गरिएको हो । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले एक कार्यक्रमबीच सो बस्तीलाई वातावरणमैत्री घोषणा गरेका हुन् ।
वातातरणमैत्री घोषणा गर्नुपूर्व रमाइलो सुकुमबासी टोल विकास संस्थाले बस्तीमा खानेपानी, शौचालय निर्माण, बस्ती र बस्तीमा रहेका घरहरु सरसफाइ गरिएको टोल विकास संस्थाका सदस्य रामशरण अधिकारीले जानकारी दिए ।
पानीको निकासको लागि नाला र बस्तीमा हिलो हुन नदिन ग्रेभल गरिएको छ । बस्तीमा रत्ननगर नगरपालिका, लुमन्ती आवासका लागि सहयोग समूह, सामुदायिक वनलगायतका सामाजिक संघसंस्थाको सहयोगमा खानेपानीको लागि चापाकल, प्रत्येक घरमा शौचालय, बस्तीमा ग्राभेल गरिएको उनले जानकारी दिए ।
वातावरणमैत्री घोषणासँगै बस्तीमा फोहोर व्यवस्थापनको समेत प्रबन्ध मिलाइएको छ । घरबाट निस्कने फोहोरलाई घरमै व्यवस्थापन गर्ने र फोहोर बाहिर नफाल्ने नियम बनाइएको छ । बस्तीका घरधनीलाई दैनिक घरको सरसफाइ गर्ने, पानी जम्न नदिने र दैनिक बस्तीको सहरसफाइ गर्ने कार्यसूचीसमेत बनाइएको छ ।
सो बस्तीमा २० घरधुरी र ७४ जनसंख्या रहेको छ । वातावरमैत्री बस्ती घोषणा कार्यक्रममा मेयर वनले रत्ननगर नगरपालिकाको पहिलो वातावरणमैत्री सुकुमबासी बस्ती घोषणा गरेर रमाइलोबस्तीले रेकर्ड राख्न सफल भएको बताए । सुकुमवासी बस्ती वातातरणमैत्री हुनु बस्ती व्यवस्थापनको हिसावले उत्कृष्ट काम भन्दै मेयर वनले यसको कार्यान्वयनको लागि नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले आर्थिक तथा सामाजिक रुपले पछाडि परेको समुदायबाट नमुना काम हुनु खुसीको कुरा भएको बताइन् । रमाइलो सकुमबासी बस्तीले गरेको कामले अन्य सुकुमबासी बस्ती व्यवस्थापनको लागि सचेत गराएको भन्दै उनले सो बस्तीका बासिन्दाले गरेको कामको सिको गरेर अन्य बस्तीले पनि यसको अनुसरण गर्नुपर्ने बताइन् ।
घोषणा कार्यक्रममा राम्रो सरसफाइ गर्ने घरधुरीलाई पुरस्कृतसमेत गरिएको छ । टोल विकास संस्था र लुमन्ती आवासका लागि सहयोग समूहले कसको घर सफा प्रतियोगिता गरी चारवटा घरधुरीलाई पुरस्कृत गरेको हो । प्रतियोगितामा प्रथम गएकी रिमा धामी, दोस्रो भएकी रिङ्कु मण्डल, तेस्रो भएकी प्रमिला चौधरी र सान्त्वना भएकी निता तिमिल्सिनालाई पुरस्कारस्वरुप सरसफाइका सामग्री प्रदान गरिएको थियो ।
टोल विकास संस्थाका अध्यक्ष सुकबहादुर कुमालको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष राजन भट्ट, वडा नं ८ का वडाअध्यक्ष विनोद बस्नेत, नेपाल सुकुमवासी सुधार समितिका अध्यक्ष फूलमान तामाङ, आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष फूलकुमारी लामा, लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामालगायतले मन्तव्य राखेका थिए । रत्ननगरमा करिब २५ वटा सुकुमबासी बस्ती रहेका छन् ।

Comments

About the author

चितवन पोष्ट