गृह » ‘विरोध उही, शैली फरक’
शिक्षा समाचार समाज

‘विरोध उही, शैली फरक’

रामपुर । पछिल्लो समय मानिसहरूले विरोधका लागि फरक शैली अपनाउन थालेका छन् । चाहे डा गोविन्द केसीको समर्थनमा होस्, या क्याम्पसहरूमा हुने विद्यार्थी आन्दोलन होस् । हरेक क्षेत्रमा विरोध गर्ने तरिकाहरू फेरिन थालेका छन् । यही क्रममा त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसको स्थापना नगरी निजी क्याम्पसहरुलाई सम्बन्धन दिन लागेको विषयलाई लिएर रामपुर क्याम्पसका विद्यार्थीहरू फरक तरिकाले आन्दोलनमा होमिएका छन् । विश्वविद्यालयले गरेको निर्णयविरूद्ध यहाँका विद्यार्थीहरूले गीतसंगीतको माध्यमबाट विगत दुईसाता अघिदेखि नै आन्दोलन गरिरहेका छन् ।
स्वर्गीय लोक गायक झलकमान गन्धर्वको लयमा उनीहरूले यसरी विरोध जनाएका छन् ।

पढाइका दिन बिरलै मात्रै छ
एएफयुमा जात्राको जात्रै छ
हे बरै, पढाइ भ्याइयो नभने आमा
भ्याइए आउँछु बुर्कुसी मारेर
कस्तो लेख्यो नि भावीले
जल्दै गा’छन् सपना हजुर
प्रस्तुत गीतका पंक्तिमा भनिएजस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) केन्द्रीय कार्यालय रामपुरमा एक पछि अर्को गर्दै फरक–फरक शैलीमा जात्रा देखाउने क्रम चलिरहेको छ । विद्यार्थी हकहितका लागि भनेर गठन भएका विभिन्न राजनैतिक दल आवद्ध विद्यार्थी संगठनहरुले मसाल जुलुस, सिठ्ठी जुलुस, प्रशासन कार्यालय घेराउ, ज्ञापन पत्र बुझाउने, नाराबाजी, ढुंगामुढा, आगजनी, तालाबन्दी, अनशन बस्नेजस्ता विरोधका शैलीहरू अपनाउँदा क्याम्पसकै केही विद्यार्थीहरुले भने विरोधको फरक तरिका अपनाएका हुन् ।
केन्द्रीय क्याम्पसमा कृषि विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले पुरानो शैलीलाई छोडेर लोक गीतसंगीतको माध्यमबाट नयाँ शैलीमा विरोध गरेका हुन् । पाँचौँ सत्रान्तमा अध्ययन गरिरहेका मदन सापकोटाले लेखेको उक्त गीतमा उनी आफैँले स्वर दिएका छन् । कलेजका विद्यार्थीहरू सौर्य कर्माचार्य र सुदर्शन अधिकारी, कमल विकेलगायतको सहयोगमा तयार भएको उक्त गीतको भिडियो क्याम्पस हाताभित्रै छायांकन गरिएको छ ।
लगातारको आन्दोलन र विवादले क्याम्पसमा पढाइ अवरूद्ध हुँदा सयौँ विद्यार्थीहरुको भविष्य नै अन्योलमा परेकोले विरोधस्वरूप आफूले यस्तो गीत लेखेको गीतका सर्जक सापकोटाले बताए ।
‘राजनीतिक दलहरुले विरोधको एकमात्र शैली ढुंगामुढा र तोडफोड गर्नुमात्रै हो भनेर सिकाएका छन्,’ उनले भने, ‘संगीतमार्फत् पनि आफ्ना फरक मतहरू सहज र प्रभावकारी ढंगले राख्न सकिन्छ भन्ने लाग्यो र गीत तयार गरी युट्युबमार्फत सार्वजनिक गरेका हौँ ।’
हे बरै, भिसीले सोध्लान् नि के माग हो भन्लान्
सम्बन्धन रोक भन्दिनु
डीनले सोध्लान् नि के भयो भन्लान्
विज्ञप्ति आउँदैछ भन्दिनु
विद्यार्थी सोध्लान् नि खोइ शिक्षक भन्लान्
प्राइभेट धाउँदैछन् भन्दिनु
क्यान्टिनमा सोध्लान् नि खोइ केटा भन्लान्
घरै लागे भन्दिनु
पुलिसले सोध्लान् नि खोइ दोषी भन्लान्
नेताको पहुँच छ भन्दिनु
वार्डेनले सोध्लान् नि खोइ केटा भन्लान््
साइन डाइ लाग्यो भन्दिनु
साथीले सोध्लान् नि कुन सेममा भन्लान्
उही सेमको उही सेम भन्दिनु
‘नेपाल सरकारले सात प्रदेशमा स्थापना गर्ने भनेको आंगिक कलेजको स्थापना नगरी निजी कलेजहरुलाई सम्बन्धन दिनुको कुनै तुक नै छैन,’ अर्का विद्यार्थी सुदर्शन अधिकारीले भने, ‘त्यसकारण सबैको पहुँचमा पुग्ने गरी संगीतमार्फत् फरक मत राख्ने प्रयास गरेका हौँ ।’
दाङ घर भई हाल रामपुर क्याम्पस स्नातकोत्तर तहमा अध्ययनरत रविन स्वप्निल गिरीले सम्बन्धन दिनु आफैँमा नराम्रो नभएकोे तर सरकारले तोकेका आंगिक क्याम्पसहरूको भौतिक पूर्वाधार निर्माण तथा क्षमता र गुणस्तर अभिवृद्धितर्फ ध्यान नदिई विश्वविद्यालयले निजी क्याम्पसहरूलाई सम्बन्धन दिन अगाडि बढेर हतार गरेको टिप्पणी गरे । अब कसैलाई अप्ठ्यारो पर्ने गरी विरोधका कार्यक्रम गर्नुको सट्टा यस्तै रचनात्मक तरिकाहरू अपनाउँदा राम्रो हुनेमा उनले जोड दिए ।
हे बरै, , एएफयुको नाममात्रै भो कामचाहीँ ठूलो भा’छैन
आफ्नै विद्यार्थीको टाउको फोडिँदा प्रशासनलाई था’छैन
निजी क्याम्पस खोलिँदैछन् गुणस्तरको ख्याल छैन
खÞबरदार ए माफिया हो ! मारमा प¥यो भविष्य हजुर
सपना हाम्रा तुहिएलान्
घैँटोमा छिट्टै घाम लागोस् हजुर ।
सात वर्ष अघिमात्रै स्थापना भएको विश्वविद्यालय यसअघि पनि यस्ता थुप्रै विवादमा नमुछिएको होइन र विरोध नभएको पनि होइन । अर्कोतर्फ विश्वविद्यालयले भने सरकारको निर्णयविरूद्ध विभिन्न आठ जिल्लामा १० वटा निजी क्याम्पस खोल्ने तयारी थालेको छ ।
नवलपरासीमा दुई वटासहित, झापा, इटहरी, सप्तरी, सुर्खेत, कोहलपुर, टीकापुर र काठमाडाँैमा एक÷एक गरी १० वटा निजी कलेजलाई सम्बन्धन दिने तयारी थालेको हो ।

 

Comments

About the author

चितवन पोष्ट