गृह » रेवानको कार्यसमितिलाई स्वागत
समाचार समाज

रेवानको कार्यसमितिलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार रेष्टुरेन्ट एण्ड वार एसोसिएसन (रेवान) चितवनका नवनिर्वािर्चत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
रेवान चितवनको छैटौँ अधिवेशन अध्यक्ष गोकर्ण गिरीसहितको नवनिर्वाचित कार्यसमितिलाई संघले स्वागत गरेको हो । कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले व्यावसायिक हितका लागि एउटै नगरमा स्थापना भएका निजी क्षेत्रको प्रतिनिधिमूलक संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले समग्र पूर्वी चितवन विकासको लागि निजी क्षेत्रले साझा एजेण्डा बनाउनु पर्ने बताए । निजी क्षेत्रको वर्गीय हित तथा समग्र पूर्वी चितवनको पर्यटन प्रवद्र्धनको लागि दुवै संस्थाले एकसाथ रहेर साझा अवधारणा बनाएर अगाडि बढन आफू तयार रहेको रेग्मीले बताए ।
कार्यक्रममा रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले सौराहाको रेष्टुरेन्ट व्यवसायको विकाससँगै सामाजिक कार्यमा रेवानलाई अगाडि बढाउने बताए । नाकाबन्दी, भूकम्प र अहिले मुग्लिन सडकका कारण पर्यटन आगमनमा असर परेको भन्दै उनले रत्ननगर उद्योग वाणिज्यसँग सहकार्य गर्दै यस्ता व्यावसायिक समस्याहरुको समाधानको लागि पहल गर्न अपिल गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकासका लागि सामूहिकरुपमा अघि बढ्नुपर्नेमा जोड दिए । रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालको संचालनमा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्वअध्यक्षहरु तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी शुक्रबार नै संघले कार्ययोजना तयारी गोष्ठी गरेको छ । सो कार्य योजना तयारी गोष्ठीमा संस्थाको पहिचान, लक्ष्य, परिकल्पना, संचालन गरिने कार्यक्रम तथा गतिविधिहरु, समस्याको पहिचानजस्ता विषयमा संघका कार्यसमिति सदस्य एवम् तालिम तथा गोष्ठी व्यवस्थापन समितिका संयोजक निरज श्रेष्ठले सहजीकरण गरेका थिए ।

Comments

About the author

चितवन पोष्ट