गृह » धुमधामले मनाइँदै रोपाइँजात्रा
समाचार समाज

धुमधामले मनाइँदै रोपाइँजात्रा

नारायणगढ । नारायणी कला मन्दिरले यही साउन ३० गते धुमधामले रोपाइँजात्रा मनाउने भएको छ । नारायणी कला मन्दिरले २०५८ सालदेखि निरन्तर रूपमा हरेक वर्ष रोपाइँजात्रा मनाउँदै आइरहेको छ । विशेष गरी नेवार समुदायमा प्रचलित पर्वहरूमध्ये रोपाइँजात्रा पनि एक विशेष पर्व हो । तर, पछिल्लो रोपाइँजात्रा नेवार जातिले मात्रै नभई अन्य जातिले पनि मनाउने गरेका छन् ।
नारायणी कला मन्दिरका कार्यबाहक अध्यक्ष अमरदेव प्रधानका अनुसार रोपाइँजात्रा गाईजात्रा पर्वको एउटा रूप हो । गाईजात्राको सातौँ दिनमा रोपाइँजात्रा निकालिन्छ । परापूर्वकालदेखि नेवार समुदायले मात्रै मनाउँदै आएको रोपाइँजात्रा विगत केही वर्षदेखि भने अन्य समुदायले पनि मनाउन थालिएको कार्यबाहक अध्यक्ष प्रधानले बताए ।
‘पहिलेपहिले नेवार समुदायको मात्रै विशेष पर्व भए पनि हाल आएर कार्यक्रममा सबै जातजातिको उत्तिकै सहभागिता रहने गरेको छ’ उनले भने ।
३० गते बिहान कला मन्दिरबाट ‘हो पाचो हो’ निकालिने प्रधानले जानकारी दिए । हली, बाउसे, रोपहार आदिको रूपमा पहिरिएर रोपाइँ गरेको नाटक गर्दै नारायणगढका विभिन्न स्थान परिक्रमा गरिने कार्यक्रम रहेको उनले बताए । कला मन्दिरबाट निस्कने यात्रा, पुतलीबजार, पुलचोक, शहीदचोक हुँदै पोखरा बसपार्क पुगेर कला मन्दिरमै फर्किने कार्यक्रम रहेको प्रधानको भनाइ छ ।
खास गरी मानो रोपी मुरी उब्जाउने समयमा हिलोमैलोका सबै काम सकिएको खुशियालीमा रोपाइँजात्रा मनाउने परम्परा बसेको मानिन्छ । विशेष गरी नेवार समुदायमा छोरा नभएको घरबाट रोपाइँ जात्रा निकालेमा त्यो घरमा पुत्रलाभ हुने जनविश्वासको आधारमा पनि रोपाइँ जात्रा मनाउने परम्परा रहिआएको पाइन्छ ।
तर, समय परिवर्तनसँगै यो चलन भने हराउँदै गएको रोपाइँजात्रा २०७४ का संयोजक सुविर श्रेष्ठले बताए । ‘समय फेरिएसँगै संस्कृति पनि विस्तारै परिमार्जन हुँदै गएको छ,’ उनले भने, ‘त्यसैले हिजो छोरा नभएको घरबाट निकालिने जात्रा अहिले फरक तरिकाले निकालिन्छ ।’ त्यसैले पनि नारायणी कला मन्दिरले रोपाइँजात्राको आयोजना गर्दै आएको उनले बताए । चितवनसहित भक्तपुर, धरान, कास्की, पाल्पालगायतका जिल्लाहरूमा पनि रोपाइँजात्रा मनाइन्छ । यस वर्षको रोपाइँजात्राको लागि दुई लाख ५० हजार रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका प्रवद्र्धक संस्था रहने उक्त कार्यक्रमका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेका कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

Comments

About the author

चितवन पोष्ट