गृह » बालिका करणीको आरोपमा पाँच जना पक्राउ
समाचार समाज

बालिका करणीको आरोपमा पाँच जना पक्राउ

कावासोती । नवलपरासीको बर्दघाट नगरपालिकाकी १४ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १९ वर्षको अभिषेक बास्कोटा, ३१ वर्षको राजेश चौधरी १८ वर्षको निरज (निराजन) चौधरी २४ वर्षको राजन (राजकुमार) चौधरी र २९ वर्षको होमनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्दा फा“टका प्रहरी निरीक्षक टीकाराक पोख्रेलले जानकारी दिए ।
घटना गत असार २६ गते राति ८ बजे भएको भए पनि यही साउन १९ गतेमात्रै प्रहरीमा जाहेरी दर्ता भएको पोख्रेलले बताए ।
घटना घटेको लामो समयपछि मात्रै परिवारले थाहा पाएकाले उजुरी पनि ढिला भएको पीडित परिवारको भनाइ छ । प्रहरीले पीडकसँगको मिलेमतोमा घटनालाई दबाउन खोजेको पीडित पक्षले आरोपसमेत लगाएका छन् ।
पीडित बालिका र उनका साथीले दिएका बयानअनुसार २६ गते राति ती बालिका घरबाट करिब ७ सय मिटर पर रहेको प्लटिङ्ग जग्गामा आफ्नो साथी अभिषेक बास्कोटासँग कुराकानी गर्दै बसेका थिए । अभिषेक अहिले बुटवलमा कक्षा १२ मा अध्ययनरत छन् ।
उनी घरमा आएको समयमा दुवैजना साथीको नाताले कुराकानी गर्दै त्यहाँ पुगेर बसेका थिए । ५÷६ जनाको समूहमा रहेका केटाहरु मोबाइल चलाउँदै उनीहरु भएकोभन्दा केही पर थिए । केही समयपछि ती केटाहरु ती दुवैजना भएको स्थानमा आएर सोधखोज गर्न थाले ।
उनीहरुले अपशब्द बोल्दै बालिकाको हातमा रहेको मोबाइल खोसे र दुवैजनालाई सँगै राखेर फोटो खिचे । सँगै रहेका उनका साथी अभिषेकले मोबाइल दिन आग्रह गरे तर उनीहरुले उनलाई कुटपिट गरेर बेहोस बनाए । बालिकालाई घिसार्दै केही पर लगेर जबर्जस्ती गरेको प्रहरी निरीक्षक पोख्रेलले बताएका छन् ।
उनीहरुको साथमा हतियारसमेत रहेको र पीडित बालिकाले चिच्याउँदा मार्ने धम्की दिएर चुप गराएर उनलाई त्यहीँ छाडेर भागेको भन्ने बयान पीडितले दिएको प्रहरी निरीक्षक पोख्रेलले बताए ।
पीडित बालिकाका अनुसार घटनापछि उनलाई राति २ बजेतिर होस आएको थियो । उनले साथीलाई उठाइन् र उनीहरुनजिकै बन्दै गरेको घरमा बसे । बिहानपख दुवै आफ्नो आफ्नो घर लागे । डरत्रासका कारण पीडितले घर परिवारलाई आफूसँग भएको घटना लुकाइन् । घरमा साइकलबाट लडेर चोट लागेको भनेर ढाँटिन् ।
त्यसको दुई दिनपछि उनी हेटौँडामा रहेको आफन्तकोमा गइन् । पीडित बालिकाका ठूलोबुवाका अनुसार उनका साथी अभिषेकले ती केटाहरुसँग मोबाइल माग्न धेरै पटक धाए । तर, उनीहरुले दिएनन् । आरोपितहरु गाउँकै एक होटलमा नास्ता खानेक्रममा आफूहरु उम्किएको, घटना घटाए पनि कोही केही नबोलेको भन्दै गफ गरेको आसपासकाले सुने र सो कुरा गाउँभरि फैलियो र घरमा साउनको १७ गते बल्ल थाहा भयो । त्यसपछि बल्ल परिवारले बालिकासँग सोधपुछ गरे । उनका साथी अभिषेकसँग पनि सोधपुछ गरे । उनीहरुले भनेको आधारमा पीडित परिवारले प्रहरीमा १८ गते जाहेरी दियो । तर, प्रहरीले सो दिन दर्ता गर्न मानेन् । र, भोलिपल्टमात्रै निवेदन दर्ता भयो ।
पीडित परिवारले प्रहरीले आर्थिक चलखेलको आधारमा घटनालाई दबाउन खोजेको आरोप लगाएका छन् । बालिकाको मेडिकल रिपोर्टमा सबै नर्मल लेखिएको उनका ठूलोबुवाको भनाइ छ । बालिकाको ढाडमा अझै पनि घिसार्दै लैँजादाको डाम र घाउ रहेको तर रिपोर्टमा नर्मल लेखिएको उनले बताए । डाक्टरलाई पनि डरधम्की देखाएर रिपोर्ट परिवर्तन गर्न लगाएको उनको आरोप छ । घटनामा संलग्न रहेको आरोपमा जाहेरी दिएका अर्का एकजना २७ वर्षका हेम चौधरी फरार रहेको प्रहरीको भनाइ छ । तर, पीडित परिवारले भने उनलाई प्रहरीले दबाबमा छाडेको आरोप लगाएका छन् ।
उनको परिवार राप्रपाका पहु“चवाला कार्यकर्ता रहेकाले राजनीतिक दबाबमा प्रहरीले घटनालाई दबाउन खोजेको पीडित परिवारले आरोप लगाएका छन् । प्रहरीमा जाँदा पनि डीएसपी विष्णुहरि चौधरीले पीडक पक्षलाई भित्रै लैजाने र कुरा गर्ने तर आफूहरुलाई भित्रै पस्न नदिने गरेको आरोप पीडित परिवारले लगाएको छ ।
डीएसपी कोइरालाले प्रहरीचौकीमा पुगेका महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै बिहिबार महिला अधिकारकर्मी तथा पीडितका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि कोइरालाले माफी मागेको र घटनाका बारेमा अनुसन्धान गरिरहेको कुनै दबाबमा नपरेको जवाफ दिएको उनीहरुले बताएका छन् ।

Comments

About the author

चितवन पोष्ट