गृह » १७ हजारलाई सवारी दुर्घटनासम्बन्धी प्रशिक्षण
समाचार समाज

१७ हजारलाई सवारी दुर्घटनासम्बन्धी प्रशिक्षण

कावासोती । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले एक महिनामा १७ हजारलाई सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको छ ।
सवारीको गति सीमित राखौँ, बाचौँ र बचाऊँ भन्ने नारासहित जिल्ला ट्राफिक प्रहरी नवलपरासीले १० हजारजना चालक र ७ हजारजना सर्वसाधारणलाई सवारी दुर्घटनासम्बन्धी सचेत बनाएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।
गत असार २४ गतेबाट साउन २६ गतेसम्म अभियान नै बनाएर ट्राफिक प्रहरीले चालक र सर्वसाधारणहरुलाई प्रशिक्षण दिएको हो । प्रहरी जागिरको आधा जीवन ट्राफिक प्रहरीमा बिताएका जिल्ला ट्राफिक प्रहरी प्रमुख रावल नवलपरासी आएपछि सवारी दुर्घटनामा न्यूनीकरणमा उनले सक्रियता बढाएका छन् । उपत्यकामा ट्राफिक प्रहरीमा रहेर करिब १५ वर्ष काम गरेका रावल नवलपरासी आउने अन्य ट्राफिक प्रमुखभन्दा फरक देखिएका छन् ।
सवारी दुर्घटना न्यूनीकरणको लागि रावल दिनहँु नयाँ योजना बनाउन व्यस्त हुने गरेको बताएका छन् । पश्चिम नेपालको सबैभन्दा बढी दुर्घटना हुने जिल्ला नवलपरासी हो । त्यसमा पनि सबैभन्दा लामो राजमार्ग एक सय किलोमिटर क्षेत्र पर्ने नवलपरासीमा सवारी दुर्घटनामा न्यूनीकरण गर्नु चुनौती मानिन्छ ।
गत आर्थिक वर्ष २०७३÷७४ मा मात्रै नवलपरासीमा सवारी दुर्घटनामा परी १ सय ३५ जनाको मृत्यु भएको थियो । जिल्लामा रहेका लामो रार्जमार्ग, पहाडी क्षेत्रमा आठ वर्षदेखि स्तरोन्नति नभएका बाटोहरु र चालकको लापरबाहीले सवारी दुर्घटना बढी भएको जिल्ला ट्राफिक प्रमुख रावलले बताए ।
एक महिनामा हरेक दिन फरक–फरक स्थानमा चालकसँग ट्राफिक प्रहरी ३ मिनेट भन्दै एउटा सवारी चालकलाई तीन मिनेट प्रशिक्षण गराउँदा एक महिनामा १० हजारभन्दा बढी चालकलाई प्रशिक्षण गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तथ्याङ् रहेको छ । जिल्लाको ६७ चोकचौराहमा सर्वसाधारणलाई भेला गरी ७ हजारलाई दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपरासीका प्रहरी हबल्दार पदम बढुले जनाएका छन् । एक महिनामा सवारीको गति सीमित राखौँ, बाचौँ र बचाऊँ भन्ने नारासहित नवलपरासी जिल्लामा रहेको सडकको अवस्था जिल्लाको भौगोलिक अवस्था, सडकमा हुने गरेको सडक संकेतको भाषा र कसरी दुर्घटनामा कमी ल्याउने भनेर प्रशिक्षण दिइएको हबल्दार बढुले बताए ।
उक्त्त अभियान जिल्लाभरि जुनसुकै समयमा पनि गरिने र आफ्नो जनशक्तिअनुसार उक्त अभियान अगाडि बढाइरहने जिल्ला ट्राफिक प्रहरी प्रमुख रावलले जानकारी दिए ।

 

Comments

About the author

चितवन पोष्ट