गृह » बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर
समाचार समाज स्वास्थ्य

बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर

कावासोती । नवलपरासीमा बाढीको प्रदूषणले स्थानीय पीडितहरुमा भाइरल र फ्लुकोे संक्रमण बढ्न थालेपछि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
ठाउँ–ठाउँमा बाढीको पानीले वातावरण दूषित र चर्काे घाम, गर्मीका कारण भाइरल ज्वरो, फ्लुको संक्रमणले बाढीपीडितहरु बिरामी पर्न थालेपछि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बाढीबाट प्रभावित बनेको उक्त क्षेत्रमा सरकारको भूमिका निष्क्रिय देखिएपछि सिडिएम नेपाल बुटवल, नेपाल स्वास्थ्य प्राविधिक संघ बुटवल र ग्यालेक्सी रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टर बुटवलको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी निःशुल्क औषधि वितरण गरिएको छ ।
जिल्लाको प्रतापपुर गाउँपालिका–८ स्थित फटकी टोल र वार्ड नंं ३ बर्गदवाको नन्दपुरमा गरी दुई ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
बाढीले पूर्ण डुबानमा परेका क्षेत्रमध्ये यी दुईवटा वडावासी बढी समस्यामा छन् । बाढीले जिल्लामा १ सय ४४ घरपरिवार विस्थापित हुन पुगेका छन् । रोगको संक्रमण विस्थापित परिवारमा बढी देखिएकाले दुईवटै शिविरमा कुल १ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको सिडिएम नेपालको नवलपरासी सुपरभाइजर हरिशंकर पाण्डेले बताए ।
स्वास्थ्य परीक्षण गर्दा भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला, दादुरा र छालासम्बन्धी रोगका बिरामीहरु भेटिएका छन् । बिरामीहरुलाई निःशुल्क औषधिहरु वितरण गरिएको हेल्थ असिस्टेन्ट समीर भण्डारीले बताए ।
साउन २० गते आएको ठूलो बाढीका कारण घर भत्किएर १ सय ४४ घरधुरी विस्थापित भएका थिए । उनीहरु अझै स्थानीय विद्यालय र सार्वजनिक जग्गाहरुमा त्रिपाल गाडेर बस्दै आएका छन् ।
दूषित पानी खान बाध्य
बाढीले बिजोग बनाएको विस्थापित घरपरिवार धाराको धमिलो पानी खान बाध्य छन् । त्यतिमात्र होइन, विद्यालय एवम् त्रिपालमा बस्ने विस्थापित परिवारलाई कडा घाम र चर्काे गर्मीले पनि निकै सताएको छ । सम्बन्धित गाउँपालिका, सिडिएम नेपाल र स्थानीय जनताले वितरण गरेको खाद्यान्न दाउराको अभावमा राम्ररी पकाउन नसकेपछि काँचै खान बाध्य भएका छन् । जसले तिनको स्वास्थ्यमा नाकारात्मक असर पारिरहेको बताइएको छ । सरकारको मौनताले झन पीडित बन्दै गएका विस्थापित परिवारमा अझै पनि सिडिएम नेपालले भोजन (मेस) चलाइरहेको छ ।

Comments

About the author

चितवन पोष्ट