गृह » अहिले प्रगतिशील राष्ट्रवादको समय हो : वर्षमान पुन
राजनीति

अहिले प्रगतिशील राष्ट्रवादको समय हो : वर्षमान पुन

कावासोती । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनले अहिले प्रगतिशील राष्ट्रवादको समय भएको बताएका छन् ।
राष्ट्रियताका नाममा एमालेले देशमा जातीय बिखण्डनको बीउ रोपेको बताउँदै अहिले परम्परावादी रुपमा पहाडी राष्ट्रवादको बेला नभएर हिमाल, पहाड, मधेसलाई जोडने गरी प्रगतिशील राष्ट्रवादको समय भएको बताए ।
पार्टी कार्यकर्ताहरुको प्रशिक्षणका क्रममा नवलपरासीको सदरमुकाम परासी पुगेका पुनले मधेसका मुद्दामा माओवादी सकारात्मक भएको भए पनि अहिले संविधान संशोधन सदनबाट पास गराउन सकिने अवस्था नरहेकोले राजपालाई संविधान संशोधनको मुद्दालाई राजनीतिक एजेन्डाका रुपमा राख्ने र क्रमशः पास गराउँदै जाने गरी असोज २ गते हुन लागेको २ नं प्रदेशको निर्वाचनमा भाग लिन आग्रह गरे ।
देशमा अहिले एउटा किनारामा मधेसवादी पार्टी एवम् अर्को किनारामा प्रतिपक्ष एमाले पार्टीले गर्दा देश राजनीतिक समस्यामा अल्झेको छ । एमाले र मधेसवादी पार्टीहरुको अतिवादी धारलाई अहिले माओवादी केन्द्र र कांग्रेसले मिलाउन खोजेको उनले बताए । एमालेले राष्ट्रवादका नाममा परम्परावादी पहाडी राष्ट्रवालाई उचालेर जातीय राष्ट्रवादलाई प्रोत्साहन गरिरहेको बताउँदै जातीय राष्ट्रवाद नश्लवाद हँुदै अन्ततः फाँसीवादमा जाने खतरा रहेको भन्दै नक्कली राष्ट्रवादको अलमलमा नपर्न आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र) नवलपरासीका इन्चार्ज धनश्याम यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका कार्यालय सदस्य चन्द्रदेव खनाललगायतको सहभागिता रहेको थियो ।

 

Comments

About the author

चितवन पोष्ट