गृह » धादिङका महिला सहकारीमा पहिला
अर्थ समाचार समाज

धादिङका महिला सहकारीमा पहिला

–केशव अधिकारी
धादिङ । धादिङ जिल्ला सहकारी अभियानको क्षेत्रमा अग्रणी जिल्लाका रुपमा चिनिन्छ । धादिङका महिलाहरु सहकारी अभियानमा पुरुषहरुलाई पछि पादै अघि बढिरहेका छन् ।
आर्थिक वर्ष २०७३÷७४ मा सहकारीका शेयर लिने तथा आबद्ध हुने १ लाख ४० हजार २०१ जनामध्ये महिलाहरु ८५ हजार ४४० जना महिला छन् भने ५४ हजार ७२१ जना पुरुष छन् ।
तथ्यांकलाई हेर्दा धादिङका महिला सहकारीमा पहिला भएका छन् । यतिमात्र होइन, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लि सञ्चालक सदस्यमा सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी पूर्व अध्यक्ष पार्वती खाँण र केन्द्रीय दुग्ध सहकारी संघ लि सञ्चालक सदस्यमा देवीस्थान महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडकी अध्यक्ष गंगा विसुराल रहेकी छिन् ।
अन्यत्र दर्ता भएका १ सय ५१ र डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भएका ३ सय ४८ गरी जिल्लामा ४ सय ९९ सहकारी संस्थामध्ये ८४ सहकारी संस्था यसअघि खारेजी भइसकेका छन् । खारेजी हुनेमा सबै पुरुषहरु नै अध्यक्ष रहेका सहकारीहरु रहेका छन् ।

जिल्लामा महिलाहरु मात्र शेयर सदस्य रहेको तथा व्यवस्थापन गरेको सहकारीको ९२ वटा सहकारी संस्था रहेको छ । महिलाहरुबाट मात्र सञ्चालन गरिएको ९२ सहकारी संस्थामा ४२ हजार ६७ जना शेयर सदस्य, ८४४ जना सञ्चालक, १२० जना कर्मचारी रहेका छन् । महिलाहरुबाट मात्र सञ्चालन गरेको सहकारीमार्फत् १३ करोड ५५ लाख ६३ हजार शेयर पुँजी र ५४ करोड २ लाख २६ हजार निक्षेप संकलन गरी १ अर्व ४ लाख ९२ हजार ऋण लगानी गरेका छन् । ती सहकारी संस्थाको जगेडा र अन्य कोषमा ९ करोड २४ लाख ६० हजार जम्मा भएको छ ।
यसैगरी १५ दुग्ध सहकारी संस्थाका १ हजार ७९२ जनामध्ये ५४७ जना महिला शेयरधनी र २२८ कृषि तथा साना किसान सहकारी संस्थाका ६२ हजार ३०१ जनामध्ये ४२ हजार २२५ जना महिला शेयरधनी छन् । ४१ बहुउद्देश्यीय सहकारी संस्थाका १५ हजार २४८ जनामध्ये ७ हजार ८३२ जना महिला शेयरधनी र ८७ बचत तथा ऋण सहकारी संस्थाका ४८ हजार २९९ जनामध्ये ३० हजार १९९ महिला शेयरधनी छन् ।
यसैगरी १७ फलफूल तथा तरकारी संस्थाका ३ हजार ५३४ मध्ये ९५६ महिला सदस्य र ५ विद्युत् सहकारी संस्थाका ४ हजार २६७ जनामध्ये ७८६ महिला शेयरधनी रहेका छन् । ५ जडीबुटी उत्पादन सहकारी संस्थाका ३४९ जनामध्ये ११९ महिला शेयरधनी र ५ सञ्चार सहकारी संस्थाका ७४७ जनामध्ये १११ जना महिला शेयरधनी रहेका छन् ।
एक उपभोक्ता सहकारी संस्थामा १४९ महिला, १ कफी सहकारी संस्थामा आठ जना महिला, तीन स्वास्थ्य सहकारी संस्थामा ७८९ जना महिला र सात सामाजिक उद्यमी, शिक्षा, धातु, यातायात सहकारी १ हजार ६७९ जना महिला शेयरधनी रहेका छन् ।
सहकारीको विद्यमान अवस्थालाई हेर्दा गैरसरकारी संस्थाहरुले समेत सहकारीमार्फत् समूहको बचत सुरक्षित गरिरहेका छन् । महिला तथा बालबालिका कार्यालयले समूहमार्फत् परिचालन गरेको घुम्तीकोषलाई सहकारीमा रुपान्तरण गरेको पाइन्छ ।
गाँउ होस् या बजार वा सहर सहकारीको कुरा नभएको दिनै हँुदैन । सहकारीले महिलाहरुमा आर्थिक पहुँचमात्र बढाएको छैन, समाज परिर्वतनमा होस् या राजनीति परिर्वतर्नमा समेत योगदान पु¥याएको छ ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा धुनीबेँशी नगरपालिका उपप्रमुखमा कालीदेवी महिला बहुउद्देश्यीय सहकारी संस्था धुनीबेँशीकी अध्यक्ष निरु खरेल निर्वाचित भएकी छिन् ।

 

Comments

About the author

चितवन पोष्ट